दलको नेता नै एमाले बनेपछि प्रदेश १ माओवादीको संसदीय दल नेतृत्वविहीन – Nepal Press

दलको नेता नै एमाले बनेपछि प्रदेश १ माओवादीको संसदीय दल नेतृत्वविहीन

विराटनगर । नेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता टंक आङबुहाङ एमाले प्रवेश गरेपछि माओवादी केन्द्र प्रदेश १ संसदीय दल नेताविहीन भएको छ ।

आङबुहाङ शुक्रबार एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएसँगै माओवादी केन्‍द्र दलको नेताविहीन भएको हो ।

१६ सदस्यीय संसदीय दलका नेता आङबुहाङ एमालेमा गएसँगै प्रदेशसभामा माओवादी केन्द्रको १५ सिट भएको छ । यता माओवादी केन्‍द्रले भने छिट्टै दलको नेता छान्‍ने जनाएको छ ।

‘चाँडै संसदीय दलको नेता छान्छौ,’ माओवादी नेता इन्द्रबहादुर आङबोले भने,‘आज बस्न लागेको केन्द्रीय समितिको बैठकले यसबारेमा पनि ठोस निर्णय गर्ने छ ।’

ताप्लेजुङ ‘ख’ बाट निर्वाचित आङबुहाङ २०५६ सालबाट माओवादीको पूर्णकालीन सदस्य बनेका थिए । सानै उमेरमा राजनीतिमा लागेका आङबुहाङ माओवादी केन्द्रको सचिवालय सदस्य थिए। तर, उनले पछिल्लो राजनितिक घटना क्रमसँगै लामो समयसम्म योगदान गरेको पार्टी परित्याग गरेका हुन् ।

प्रदेश १ का अन्य जिल्लाको तुलनमा ताप्लेजुङ जिल्लामा एमालेको ओली पक्ष कमजोर छ । नेकपा एक हुँदा ताप्लेजुङका नेता योगेश भट्टराई केन्द्रमा निकै प्रभावशाली रहेका र दुवै जनाको उमेर समूह पनि एउटै भएका कारण आङबुहाङले नेकपा हुँदै ओली पक्षमा लाग्ने तयारी गरेका थिए ।

पाँचथरबाट प्रदेशसभामा निर्वाचित इन्द्रबहादुर आङबोको स्थानमा आफू सिनियर भएको र प्रदेशको मन्त्रिमण्डलमा आफ्नो नेतृत्वमा जानु पर्ने मनसाय आङबुहाङको थियो । तर, आङबो प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेदेखि नै आङबुहाङले आफूमाथि अन्याय हुँदै आएको बताउँदै आएका थिए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आङबोले नै अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि राईले आङबोलाई मन्त्री पदबाट पुस ११ गते बर्खास्त गरेका थिए । त्यसपछि ओली पक्षले आङबुहाङलाई मन्त्री बनाउने तयारी गरेको थियो । अब दलको नेता आङ्बो हुने सम्भावना छ ।

एमालेमा प्रवेश गरेपछि नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका नेता आङबुहाङले दल त्याग गरी एमालेमा प्रवेश गरेकाले पार्टीले कारबाही गर्ने कुरा ठूलो नहुने बताए ।

आफु एमालेको केन्द्रीय सदस्य भईसकेकाले अब माओवादी केन्द्रमा फर्कने अवस्था नहरेको उनले नेपाल प्रेससँग बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर