विभाजन रोक्न नेपाल समूहका तीन शर्त, ७ गते हुन सक्छ वार कि पार – Nepal Press

विभाजन रोक्न नेपाल समूहका तीन शर्त, ७ गते हुन सक्छ वार कि पार

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकताको सम्भावना लगभग समाप्त भएको निस्कर्ष निकाले पनि संस्थापन पक्षसित अनौपचारिक रूपमा तीन शर्तहरू पेश गरेको छ । ती शर्तहरू पूरा भए फेरि केपी ओलीसँग मिल्नेबारे सोच्न सकिने नेताहरूले बताएका छन् ।

संस्थापन पक्षले हिजो नेपालपक्षीय नेताहरूको जिम्मेवारी खोस्ने एकतर्फी निर्णय गरेपछि शनिबार काठमाडौंमा केन्द्रीय कमिटी सदस्य र प्रतिनिधिसभाका सांसदहरूबीच बैठक डाकिएको थियो । सो बैठकमा नेताहरूले ओलीले पार्टीलाई विभाजनतर्फ लगेको धारणा राखे ।

अब तीन वटा शर्तमा मात्र एकता कायम हुन सक्नेबारे बैठकमा छलफल भएको थियो । नेपालपक्षीय नेताहरूका अनुसार पहिलो शर्त हो- पार्टीलाई २०७५ जेठकै संगठन संरचनामा फर्काउनुपर्ने । सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले पुनर्स्थापित भएको र पार्टी पुन: नेकपा माओवादी केन्द्रसँगको एकतापूर्वको अबस्थामा फर्किएको बुझाइ माधव नेपाल पक्षको छ ।

त्यसअनुसार २०७५ जेठ अघिको एमालेको संगठन संरचना अहिले कायम भएको भन्दै त्यसलाई हुबहु मान्न ओली पक्ष तयार हुनुपर्ने अडान नेपाल पक्षका नेताहरूले राखेका छन् । एमालेको पुरानो संरचना तलमाथि भए त्यो कुनै पनि हालतमा स्वीकार नगर्ने नेता भीम रावलले बताए । माधव पक्षले यसो भनेको भए पनि ओली पक्ष भने यसलाई मान्न तयार छैन ।

नेपाल पक्षको दोस्रो शर्त हो, वाम गठबन्धनको सरकार । अन्तरक्रियाले वाम एकतालाई छाड्न नुहनेमा जोड दिएको छ । वाम गठबन्धनको सरकारको कुरा गर्दा ओली हट्नु पर्ने या नपर्नेबारे आफूहरूले अहिले केही पनि नभनेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

उनले भने- ‘पहिले हाम्रो माग ओली सरकारबाट बाहिरिनु अनिवार्य छ भन्ने थियो । तर, हामीले वाम गठबन्धनको कुरा गर्दा ओली हुँदै-हुँदैन वा ओलीबाहेक भन्ने कुरा राखेका छैनौं ।’

कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन वाम एकता आवश्यक भएको भन्दै सबै वामलाई एक ठाउँमा ल्याउनुपर्ने शर्त नेपाल पक्षको छ । तर, ओली पक्षले भने माओवादी केन्द्रसँग भने पुन: एकता नहुने बताएको छ ।

तेस्रो शर्त भने प्राविधिक छ । पार्टीका बैठकहरू प्रधानमन्त्री निवास बालुवाटारमा बस्न नहुनेमा नेपाल पक्षका नेताहरू एकमत भएका छन् । माधव नेपाल पक्षले बालुवाटारमा राखिने कुनै पनि बैठकमा नजाने अडान लिएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमै हुनुपर्ने शर्त उनीहरूको छ ।

ओली पक्ष भने बैठक आवश्यकता अनुसार जहाँ पनि राख्न सकिने बताउँछ । ‘अध्यक्ष र महासचिवले बैठकको मिति र स्थान तय गर्नुहुन्छ,’ प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई भन्छन्, ‘यहाँ बसे हुने, त्यहाँ बसे नहुने भन्ने कुरा हुँदैन । बैठक जहाँ सहज र सजिलो हुन्छ त्यहाँ बस्छ ।’

७ गते बोलाइएको केन्द्रीय कमिटी बैठकको स्थान भने अझै तोकिएको छैन । मुलतः यी शर्त पुरा नभए केपी ओलीसँग कुनै पनि हालतमा नझुक्ने नेपाल पक्षको अडान छ ।

कार्यकर्ताको ‘मुड’ बुझ्ने

नेपाल पक्षले दुई दिने राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । नेता भीम रावलका अनुसार काठमाडौंमा हुने उक्त भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्यहरू, संघीय संसद र प्रदेश सभामा रहेका सबै सांसद, प्रदेश कमिटीका सबै पदाधिकारी र सदस्य, जिल्ला कमिटीका पदाधिकारी, सबै पालिकाका निर्वाचित प्रमुख र उपप्रमुखलाई बोलाइएको छ ।

नेपाल पक्ष पार्टी विभाजनबारे महत्वपूर्ण निर्णय लिनुअघि कार्यकर्ताको मुड बुझ्ने पक्षमा छ । करिब तीन हजार कार्यकर्ता सहभागी हुने उक्त भेलापछि महत्वपूर्ण निर्णय लिइने केन्द्रीय सदस्य बलराम बास्कोटा बताउँछन् ।

‘४ र ५ गते जुन राष्ट्रिय कार्यकर्ता भेला छ, त्यसले जसरी निर्देश गर्छ, त्यसरी जान्छौं,’ उनी भन्छन्, ‘किनभने हाम्रो पार्टी जनआधारित पार्टी हो । यो संकटलाई कसरी समाधान गर्ने भन्नेबारे चाहिँ आम कार्यकर्ताको राय लिएर नै भावी कार्यदिशा तय गर्छौं ।’

चैत ७ निर्णायक

एमाले विभाजनमा आगामी चैत ७ निर्णायक हुने देखिएको छ । ओली पक्षीय केन्द्रीय कमिटीको विशेष बैठकले ७ चैतमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । उक्त बैठकमा माधव नेपाल पक्षलाई पनि बोलाइएको छ ।

ओली पक्षले बालुवाटारमै केन्द्रीय कमिटीको बैठक बोलाउने र नेपाल पक्ष त्यहाँ नजाने सम्भावना बलियो छ । त्यस्तो भए नेपाल पक्षलाई कारबाही गर्ने संकेत प्रधानमन्त्री केपी ओलीले दिइसकेका छन् ।

एमालेको विधानमा ‘लगातार तीनपटक बैठकमा अनुपस्थित भएमा कारबाही हुने’ व्यवस्थातर्फ संकेत गर्दै ओलीले नेपाल पक्षलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

शनिबार भृकुटीमण्डपमा आयोजित अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले भने- ‘उहाँहरू पेरिसडाँडाबाट भर्खर अर्याल होटलमा आइपुग्नुभएको छ रे । एक दुई रात त्यहाँ बास बसेर आउनुहोस् भनेर चैत ७ गते बालुवाटारमा बैठक बोलाएको छु । कसैले थाहा पाइनँ नभन्नुहोला, अनुपस्थित रहँदै जानुभयो भने विधान व्यवस्थाअनुसार हुँदै जानेछ ।’

नेपाल पक्ष अध्यक्ष र महासचिव बाहेकका पदाधिकारीलाई ओलीले हिजोको बैठकबाटै हटाएकोमा सशंकित छ । हिजोको बैठकमा कोरम नपुगेकाले त्यो वैधानिक नहुने डरले ओली पक्षले निर्णय सार्वजनिक नगरेको र त्यसलाई ७ चैतको बैठकमा अनुमोदनका लागि अघि सारिने आशंका माधव नेपाल पक्षले गरेको छ ।

पदाधिकारीमा नेपाल पक्ष बुहमतमा छ । यदि त्यस्तो भएमा एमाले विभाजनमा त्यो ‘टर्निङ प्वाइन्ट’ सावित हुने नेपाल पक्षका नेताहरूको भनाइ छ ।


प्रतिक्रिया

One thought on “विभाजन रोक्न नेपाल समूहका तीन शर्त, ७ गते हुन सक्छ वार कि पार

  1. विगतको कमिकमजोरीमा अलमलिएर गन्तव्यमा पुग्न र भविष्य सुन्दर बनाउन सकिंदैन। जननेता मदन भण्डारीले भन्नुभएको थियो, “पुर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण होइन।” अब केपी ओलीदेखि माधव नेपाल अनि शंकर पोखरेलदेखि घनश्याम भुसालहरू अगाडिको बाटो तय गर्न लाग्छन् कि विगतमा अल्झिएर भविष्य सङ्कटमा पार्न? समयले उत्तर खोजेको छ। उपयोगितावादको षडणन्त्रबाट जोगिएर देश बनाउने सुवर्ण अवसर आएको छ, सदुपयोग गर्ने क्षमता देखाइयोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर