जब उपराष्ट्रपतिले लिए भुवन केसीदेखि उपासनासम्मको नाम ! – Nepal Press

जब उपराष्ट्रपतिले लिए भुवन केसीदेखि उपासनासम्मको नाम !

काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुनले नेपाल चलचित्र निर्माणका लागि उर्वरभूमि भएको बताएका छन् । नेपाल प्राकृतिक दृश्य तथा भौगोलिक विविधताले गर्दा विश्वभरका फिल्मकर्मीले यसबाट लाभ उठाउन सक्ने उनको भनाइ छ ।

शनिबार राजधानीमा आयोजित १० औं नेफ्टा फिल्म अवार्डलाई सम्वोधन गर्ने क्रममा उपराष्ट्रपति पुनले भने, ‘नेपालमा विदेशी चलचित्रहरु पनि पनि नेपालमा सुटिङ गर्न आउने गरेका छन् । यस्ता चलचित्रले नेपालको विश्वव्यापी प्रचारमा सहयोग पुग्छ ।’

नेपाली चलचित्रले सँगै समाज रुपान्तरण र राजनीतिक परिवर्तनको वकालत गरेको भन्दै पुनले प्रशंसा गरे । पछिल्लो समय नेपालमा पनि उत्कृष्ट चलचित्र बन्न थालेको र अन्तर्राष्ट्रिय अवार्ड जितिरहेको भन्दै उनले खुशी व्यक्त गरे ।

‘नेपाल चलचित्रले आज एउटा उचाइ हासिल गरेको छ, आगामी दिनमा यो उचाइ अझै बढोस । राष्ट्रले आफ्ना चलचित्र उद्योगप्रति गर्व गर्ने अवस्था बनोस,’ पुनले भने ।

उपराष्ट्रपतिले केही नेपाली चलचित्रको पनि नाम लिए । माइतीघर, कन्यादान, बसन्ती, बलिदान, साइनो, मातृभूमि लगायत चलचित्रको नाम लिँदै उनले ती चलचित्रका फरक–फरक विशेषताको चर्चा पनि गरेका थिए ।

सेलेव्रिटीलाई सम्झिए

सम्बोधनका क्रममा उपराष्ट्रपति पुनले नयाँदेखि पुराना थुप्रै नेपाली फिल्मकर्मीलाई एकसाथ सम्झिए । तर, ‘महानायक’ राजेश हमालको नाम भने उनले छुटाए । त्यसो त उनले ‘कसैको नाम छुटेमा नरिसाउनुहोला’ भनेर सुरुमै आग्रह गरेका थिए ।

सुरुमा उनले आफूले राम्रोसित चिनेको निर्देशक भन्दै तुलसी घिमिरेलाई सम्झिन खोजेका थिए, तर नाम बिर्सिए । ‘पछि सम्झेर भन्छु’ भन्दै अघि बढे । त्यसपछि नीर शाह र राजेन्द्र खड्गीको नाम लिए । खड्गीले राँगोलाई एक मुड्कीले हानेर लडाएको प्रसंग पनि उनले उल्लेख गरे ।

पुनले शिव श्रेष्ठ, भूवन केसी, सरोज खनाल, दिलिप रायमाझी जस्ता नायकको चलचित्र धेरै हेर्ने गरेको बताए । यस्तै नायिकामा भुवन चन्द ज्यूलाई राम्रोसँग चिन्ने उल्लेख गरे । उनले शर्मिला मल्ल, मिथिला शर्मा, गौरी मल्ल, कृष्टी केसी, करिश्मा मानन्धर लगायतको नाम लिए । उनीहरुले जिवन्त कला प्रस्तुत गरेको भन्दै प्रशंसा गरे ।

उपराष्ट्रपतिले नयाँ पुस्ताका कलाकारहरुको पनि नाम लिन छुटाएनन् । दयाहाङ राइ, प्रदिप खड्का, अनमोल कसी, पल शाहलगायतलाई उनले सम्झिए ।

‘दिपकराज गिरी र दिपाश्री पनि चर्चितै हुनुहुन्छ,’ पुनले भने । पछिल्लो पुस्ताका नायिकाहरुमा उनले प्रियंका कार्की, केकी अधिकारीदेखि उपासना (थर भनेनन्) सम्मको नाम सम्झिए ।

सुरुमा अड्केको नाम तुलसी घिमिरे पछि सम्झिए । उपराष्ट्रपति पुनले ‘महानायक’ राजेश हमालको नाम भने लिएनन् । उपराष्ट्रपतिले कलाकारहरुको नाम लिँदा हलमा ताली बजेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर