एमाले बनेका माओवादी प्रदेश सांसद भन्छन्- प्रचण्डलाई छाड्यौं, परेको कानुन अनुसार व्यहोर्छौं – Nepal Press

एमाले बनेका माओवादी प्रदेश सांसद भन्छन्- प्रचण्डलाई छाड्यौं, परेको कानुन अनुसार व्यहोर्छौं

दल त्याग गरेका सांसदलाई कारवाही गर्ने मुख्यमन्त्री शाहीको चेतावनी

सुर्खेत । कर्णाली प्रदेशको नेकपा माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित दुईजना प्रदेशसभा सदस्यहरुको पद धरापमा परेको छ । दैलेखबाट निर्वाचित सांसद धर्मराज रेग्मी र सुर्खेतबाट निर्वाचित सांसद ठम्मर विष्ट दुवैजना नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित भएका छन् ।

सांसद रेग्मी केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सचिवमा नियुक्त भएका छन् भने सांसद विष्ट केन्द्रीय सदस्यमा नियुक्त भएका छन् । १३ सांसद रहेको माओवादी केन्द्रबाट दुई सदस्य एमालेमा लागेपछि अब माओवादी केन्द्रमा ११ जना मात्रै प्रदेश सभा सदस्य छन् ।

‘उहाँहरु एमालेमा प्रवेश गरेको खबर मिडियाबाट मैले थाहा पाएको हो । उहाँहरु हाम्रो पार्टीमा नफर्केको खण्डमा कानून अनुसार अब नेकपा माओवादी केन्द्रको कारवाही पर्नुहुन्छ ।’ नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालप्रेससँग भने, ‘केहि दिनमै हामी औपचारीक निर्णय गर्छौं । उहाँहरुको पद जान्छ ।’

नेपालको संविधानको धारा १८० को ‘ङ’ मा जुन दलको उम्मेदवार भई सदस्य निर्वाचित भएको हो, त्यस्तो दलले संघीय कानून बमोजिम निजले दल त्याग गरेको कुरा सुचित गरेमा मात्रै प्रदेश सभा सदस्यको पद रिक्त हुने व्यवस्था छ । यहि व्यवस्थालाई टेकेर दुवै जनालाई सांसद पदबाट मुक्त गराईने मुख्यमन्त्री शाहीको भनाई थियो ।

यता, प्रदेश सचिवको जिम्मेवारीमा रहेका सांसद रेग्मीले प्रचण्डमा गठबन्धन गर्ने, सत्तामा रहने र अस्थिरता कायम गर्ने प्रवृत्ति हावी भएका कारण आफूहरु एमालेमा लागेको बताएका छन् ।

‘हामी दुवै जनाले लिएको यो निर्णय राजनीतिक निर्णय हो । यो राजनीतिक मुद्दा हो । संविधान, मुलुक र कम्युनिष्ट आन्दोलनमा प्रचण्ड अस्थिर र विचलित हुनुभयो । समग्र राजनीतिमा उहाँले ‘पावर गेम’ खेलिरहनु भएका कारण हामी उहाँको लाइनप्रति असहमत भएका काण यो निर्णयमा पुगेका हौं ।’ उनले भने, ‘कानून अनुसार, संविधान अनुसार जे आइपर्छ त्यो व्यहोर्न हामी तयार छौं ।’

यद्यपी उनले टिकट मात्रै दलले दिएको र चुनावमा लडेका उम्मेदवार कहिँ हार्ने कहिँ जित्ने भएका कारण जनप्रतिनिधिको पद त्यसरी जान नमिल्नुपर्ने धारणा राखे । उनले प्रचण्डको सत्ता मोहका कारण पार्टी यो अवस्थामा आएको बताउँदै आफुहरु एमालेमा लागेका बताउँदै अब कर्णालमिा नेकपा एमालेलाई नयाँ ढंगले निर्माण गरेर लैजाने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर