तन भारतमा, मन नेपालमै – Nepal Press
निरुतासँग नेपाल–टक

तन भारतमा, मन नेपालमै

‘बिहेको मूडमा छु, खोज्दिनुस् त भेना !’

काठमाडौं । कुनै बेला उनी नेपाली फिल्ममा ‘खोसाखोस’ हुन्थिन् । पोष्टरमा उनको अनुहार देखिएपछि हलसम्म तानिने दर्शक धेरै थिए । उनको सुन्दरताको जति प्रशंसा हुन्थ्यो, त्यो भन्दा बढी प्रशंसा हुन्थ्यो अभिनयको ।

उनी अर्थात् निरुता सिंह । एक समय नेपाली चलचित्रमा ‘नम्बर वान’ नायिकाको ताज भिरेकी निरुता करिअर सुस्ताएसँगै एकाएक पलायन भइन् । अहिले उनी भारतको मुम्बईमा बस्छिन् र फरक काममा आफूलाई अभ्यस्त गराइरहेकी छन् । शरीर भारतमा भए पनि मन उनको नेपालमै छ । नेपाली फिल्मप्रति उनको माया कत्ति पनि घटेको छैन । त्यसैले त विभिन्न बहानामा नेपाल आइरहन्छिन् ।

२७ वर्ष अगाडिको सुपरहिट फिल्म ‘दक्षिणा’ की सुमन अहिले नेपाली राजधानीमा छिन् । नेफ्टा फिल्म अवार्डको विशेष अतिथि बनेर यी डीभा सिलगुडीदेखि काठमाडौं आइपुगेकी हुन् । अन्तर्वार्ताका लागि नेपाल प्रेसको कार्यालयमा आउँदा निरुता यसरी खुलेकी थिइन्, जसरी खुलेको थियो वसन्त ऋतुको मौसम ।

०००

साढे दुई वर्षअघि वीरगञ्जमा आयोजना भएको फिल्म स्वर्ण महोत्सवमा आएकी निरुता त्यसपछि भने डेंगुले थलिइन् । बिरामी भएकाले आफैंले अभिनय गरेको ‘दाल भात तरकारी’ फिल्मको प्रवद्र्धनमा आउन पाइनन् । तर, यसपटक भने निरुताको काठमाडौं भ्रमण जुरेको छ ।

उनको यसपटकको काठमाडौं भ्रमण केही अर्थपूर्ण हुनेवाला छ । उनी आफैं निर्मात्री भएर फिल्म निर्माण गर्दैछिन् । आफू अभिनीत ब्लकबस्टर फिल्म ‘दर्पण छायाँ’ को कथा जहाँ अन्त्य भएको थियो, त्यहाँबाट शुरु गरेर ‘दर्पण छायाँपछि’ फिल्म बनाउने उनको तयारी छ । यसका लागि उनले उत्तम प्रधान र दिलीप रायमाझीसँग सहकार्य गर्दैछिन् ।

यसको अर्थ, अहिलेसम्म ब्रेक भएको निरुताको अभिनय यात्राले अब जोशका साथ गति पाउने अपेक्षा लिन सकिन्छ । नेपाली फिल्मबाट ब्रेक लिएपछि बलिउड मायानगरी मुम्बईमा भाग्य अजमाउन पुगेकी निरुतालाई नेपाली दर्शकको मायाले पुनः काठमाडौं ल्यायो । तन मुम्बईमा भए पनि उनको मन सधैं नेपाली दर्शकको माझ हुन्थ्यो । भावना कति शक्तिशाली हुन्छ भने, उक्त भावनालाई पछ्याउँदै उनले पुनः नेपाली फिल्ममा निर्मात्रीको रूपमा कमब्याक गर्ने निधो गरिन् ।

उनलाई थाहा छ- दर्पण छायाँको बीस वर्षमा जीवन जगतको टाइमलाइनमा धेरै परिवर्तन आए । त्यसयता वागमतीमा धेरै पानी बगिसक्यो र देशकालमा दुई पुस्तान्तरको खाडल परिसक्यो । तर पनि, नयाँ पुस्तालाई पुरानै दर्पण छायाँको द्वन्द्व, कथ्य र स्वैरकल्पनामा गाँस्ने उनको हुटहुटी अझै जवान छ । उनी कथा र चरित्रमार्फत नयाँ पुस्ताका दर्शकमाझ जोडिन चाहन्छिन् ।

करिअर उँचाइमा पुगेकै बेला निरुताले बलिउड नगरी मुम्बई हान्निने बोल्ड निर्णय लिइन् । उनको जीवनको यो सबैभन्दा ठूलो युटर्न थियो । निर्णयको यो विन्दुलाई उनी ‘ब्रेक’ भन्न रुचाउँछिन् ।

निरुताले गरेको पछिल्लो फिल्म चाहिं महजोडी स्टारर ‘दाल भात तरकारी’ हो । लाउड अभिनय गरेको भन्दै यो फिल्मबाट मिश्रित दर्शकीय प्रतिक्रिया प्राप्त गरिन् । कतिपयले उनको कमब्याक झुर भएको टिप्पणी गरे । तर, निरुतालाई यी कुरामा उतिसारो चासो छैन । उनी आफ्नो कमब्याक र फिल्म छनोट सही भएको बताउँछिन् । महजोडीकै सिफारिसमा आफूले लाउड चरित्र निर्वाह गरेको र व्यक्तिगत रूपमा आफूलाई मनपरेको उनले सुनाइन् ।

त्यसअघि निरुताले भुवन केसी पुत्र अनमोलसँग ‘क्याप्टेन’ फिल्मको एउटा गीतमा स्क्रिन सेयर गरिन् । २७ वर्षअघि दक्षिणामा भुवनसँग रोमान्स गरेकी निरुताले उनका छोरा र अहिलेका सुपरस्टार अनमोलसँग गीतमा नाच्न पाउनु समयको हिसाबले एउटा मीठो संयोग पनि हो । अनमोलको स्टारडम र कामगराइको प्रशंसक रहेकी निरुता मौका मिले आउने फिल्महरूमा अनमोलसँग काम गर्न पनि चाहन्छिन् ।

उनलाई पछिल्लो छिमलका अभिनेत्री राम्रा लाग्छन् । कामगराइको हिसाबले दाल भात तरकारीकी सह-अभिनेत्री आँचल शर्मा उनलाई मनपर्ने नयाँ पुस्ताकी हिरोइन हुन् । नयाँ पुस्ताका अभिनेत्रीबाट मिलेको सम्मानले निरुतालाई पुलकित तुल्याएको मात्र छैन, आगामी फिल्ममा उनी सँगै मिलेर काम गर्न चाहन्छिन् ।

ट्रेन्डको हिसाबले पनि आफ्नो बेलाका फिल्म र अहिलेको फिल्म निर्माण र शैलीमा व्यापक परिवर्तन भएको निरुताको ठम्याइ छ । प्रविधि र कथा भन्ने शैलीमा देखिएको परिवर्तनले नेपाली फिल्मको भविष्य उज्ज्वल रहेको र आफू आशावादी भएको उनी बताउँछिन् । ३५ एमएमको रिलमा खिचिने त्यसबेलाको फिल्ममा हुने लगानी र मिहिनेतको स्मरण गर्दै निरुताले डिजिटल प्रविधिले फिल्मलाई सजिलो तुल्याएको समेत बताइन् ।

मुम्बईमा छँदा मन नेपालतिरै

प्रायः भारतका नेपालीभाषी नेपाल आउँदा प्रवासी भन्ने चलन छ । भारतमै भएका नेपाली भाषीलाई नेपाली भन्ने गरिन्छ । यो दोसाँधमा बाँच्नुको पीडा निरुतालाई थाहा छ । शब्दावलीको यो विभेद कति निर्मम हुन्छ भन्ने कुरा भोग्नेलाई मात्र थाहा हुन्छ । निरुताले भोगेको यो सबैभन्दा तीतो यथार्थ हो । आफ्नो पुर्खाको देश र करिअर नेपाली माटोमा पोखिएकाले होला उनी नेपालप्रति सँधै नतमस्तक छिन् ।

उनलाई राजनीतिको नाममा हुने राष्ट्रियताको विभाजनप्रति पटक्कै रुचि छैन । यही छेकोमा पश्चिम बंगालमा चुनाव हुँदैछ । सत्तारुढ बीजेपी र तृणमुल कंग्रेसकी ममता बेनर्जी राष्ट्रियताको नारा लगाउँदैछिन् । तर, निरुतालाई नेताहरूले परिभाषित गर्ने राष्ट्रियताप्रति खास वास्ता छैन । उनी राष्ट्रियता हृदयमा हुनुपर्ने धारणा राख्छिन् ।

भारतमा शरीर हुँदा उनको मनले नेपालमा के-के मिस गरेन ? सुटिङ सेटमा चिया पकाउने भाइदेखि उनलाई मेकअप गरिदिने दिदीहरूसम्म । आफूलाई औधी माया गर्ने नेपाली दर्शकदेखि उनका फिल्मी सहयात्रीसम्म ।

करिअर उँचाइमा पुगेकै बेला निरुताले बलिउड नगरी मुम्बई हान्निने बोल्ड निर्णय लिइन् । उनको जीवनको यो सबैभन्दा ठूलो युटर्न थियो । निर्णयको यो विन्दुलाई उनी ‘ब्रेक’ भन्न रुचाउँछिन् । उनको व्याख्यामा नेपाल छाडेर मुम्बई जाने उनको योजना गिभअप थिएन बरु सही समयमा लिइएको एउटा ब्रेक थियो । लगातार हिट फिल्म दिइरहेकी एउटी सुपरस्टारले अनायासै बाटो मोड्नुले धेरैलाई चक्मा दिएको थियो । उनी नदेखिंदा उनलाई चाहने नेपाली दर्शक निराश भएका थिए ।

मुम्बई पुगेपछि पनि नेपाली दर्शकको मायाले उनलाई सधैं नेपाल तानिरह्यो । उनले वाइस्टारसहितका केही बलिउड कम्पनीमा पनि काम गरिन् । शून्यबाट संघर्ष गर्नुुपर्ने बलिउड विकल्प उनले रोजिनन् बरु ढिलै सही, निरुता नेपाली फिल्ममा सशक्त कमब्याक गर्ने निर्णयमा पुगिन् ।

मुम्बई लकडाउन निरुताको लागि निकै कष्टसाध्य थियो । एकातिर बिरामी शरीर र अर्कोतिर एक्लोपनसँग संघर्ष । कोभिड कहरमा उनी मानसिक स्वास्थ्यसँग पनि संघर्ष गरेकी थिइन् । जब मान्छे एक्लो महसूस गर्छ, तब उसका लागि निर्जीव वस्तु र घरपालुवा जनावर पनि सहारा बन्छन् । अंग्रेजी उपन्यासको चर्चित पात्र रविन्सन क्रुसोको जस्तो एक्लो जीवन बाँचिरहँदा निरुतालाई परिवारको सहयोग र फ्यानको सपोर्ट पनि मिल्यो । उनी टिकटकमा रमाउने बहाना खोज्थिन् ।

भारतमा शरीर हुँदा उनको मनले नेपालमा के-के मिस गरेन ? सुटिङ सेटमा चिया पकाउने भाइदेखि उनलाई मेकअप गरिदिने दिदीहरूसम्म । आफूलाई औधी माया गर्ने नेपाली दर्शकदेखि उनका फिल्मी सहयात्रीसम्म । उनी सबैभन्दा मिस ती क्षणहरूलाई गर्थिन्, जब सखारै उठेर सुटिङसम्म पुग्नुपथ्र्यो र एक्सन-कट्मा व्यस्त हुनुपथ्र्यो । मुम्बई रहँदा उनले इन्टेरियर डिजाइन र फिल्म निर्माणका धेरै शैली सिकिन् ।

श्रीकृष्ण र शिवको अभाव महसूस

निरुता र दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठले आधा दर्जन हिट फिल्म पस्किए । आफ्नो मान्छे, आफन्तलगायतका ब्लकबस्टर फिल्मको चरित्रमा उनीहरू अब्बल रहे । अहिले पनि ती फिल्म हेरेका दर्शक श्रीकृष्ण र निरुताको जोडीलाई नेपाली फिल्मकै आदर्श जोडीको रूपमा हेर्छ ।

निरुता श्रीकृष्णलाई एउटा प्रिय को-स्टारको रूपमा लिन्छिन् र एउटा सहयोगी मनको रूपमा पनि ।

‘श्रीकृष्ण दाइको प्रेरणाले अझै मलाई फिल्म गर्न ऊर्जा मिल्यो’ निरुता भन्छिन्, ‘शिव रेग्मी र श्रीकृष्ण दाइको अभाव नेपाली फिल्म क्षेत्रले महसूस गरिरहेको छ ।’

श्रीकृष्ण, शिव र निर्माता केशव भट्टराईको निधनले आफूलाई सबैभन्दा बढी चोट पुगेको निरुताको कथन छ । ‘म अहिले पनि सक्ड भएकी छु’ उनी स्मरण गर्छिन्, ‘पत्याउनै सकिरहेकी छैन ।’

अब बिहे गर्न चाहन्छु

निरुताले जीवनका ४० वसन्त कटाइसकेकी छन् । तर अहिले पनि उनी सिंगल रिलेसनसिप स्टाटसमा छिन् ।

‘तपाईं नै खोज्दिनुस् त एउटा भेना’ हाँस्दै उनले भनिन्, ‘अहिलेसम्म सिंगल छु र बिहेको मूडमा पनि ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर