ओलीविरुद्ध माओवादीसहितको गठबन्धन बनाउन जसपालाई कांग्रेसको प्रस्ताव – Nepal Press

ओलीविरुद्ध माओवादीसहितको गठबन्धन बनाउन जसपालाई कांग्रेसको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसले पुस ५ मा प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमको विरुद्धमा उभिएका राजनीतिक शक्तिबीच गठबन्धन प्रस्ताव गरेको छ ।

जनता समाजवादी पार्टीका नेताहरुसँग आफ्नै निवासमा भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्र पक्षधर शक्तिबीच सहकार्य गर्नुपर्ने धारणा राखे । जसपाका नेताहरुले भने संविधान निर्माणकै बेलादेखिको राजनीतिक एजेण्डा सम्बोधनको शर्त अघि सारेका छन् ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले शीर्ष नेताहरुसँग बालुवाटारमा वार्ता गरेका जसपा नेताहरुले संविधान संशोधन, आफ्ना नेता कार्यकर्ताको रिहाइ र नागरिकता समस्या समाधानको एजेण्डा पेश थिए ।

‘हामीले हाम्रा एजेण्डाहरु राखेका छौं । उहाँहरुले छलफल जारी राखौं, सहकार्य गरौं भन्नुभएको छ,’ बैठकपछि जसपा अध्यक्ष महन्थ ठाकुरले भने ।

कांग्रेस स्रोतका अनुसार बैठकमा सभापति देउवाले प्रधानमन्त्री ओलीको कदमबाट संविधान नै खतरामा पर्ने सम्भावना बढेकोले विपक्षी दलहरुबीच बलियो एकता हुनुपर्नेमा जोड दिए । जसपासँगको बैठकअघि पार्टीका पदाधिकारीसँग देउवाले परामर्श गरेका थिए । सो क्रममा सबैजसो नेताले ओली सरकारको विकल्प खोज्ने र एमालेइतरको गठबन्धन बनाउने प्रस्ताव उपयुक्त हुने बताएका थिए ।

‘पार्टीका सबैजसो पदाधिकारीले ओली सरकारको विकल्पमा कांग्रेस उभिनुपर्ने बताउनुभएको छ । आज जसपासँगको छलफलमा पनि कांग्रेस, माओवादी र जसपाबीच सहकार्य गर्न सकारात्मक छलफल भएको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

जसपाका नेताहरुले प्रधानमन्त्री ओलीसँग भएको भेटबारे कांग्रेस नेतालाई पनि जानकारी गराएका थिए । ‘हिजो प्रधानमन्त्रीलाई भेट्यौं, भोलि माओवादी नेतृत्वलाई भेट्दैछौं । केही दिन पर्याप्त छलफल गरेर निष्कर्षमा पुग्ने पक्षमा छौं’ बैठकमा जसपा नेताहरुले भनेका थिए ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस भएकोले राजनीतिक निकासको खाका कांग्रेसले नै ल्याउनुपर्ने जसपा नेताहरुको भनाइ थियो । सो क्रममा कांग्रेस नेताहरुले माओवादीसँग छलफल गरेपछि संयुक्त छलफल गरेर जान सकिने बताएका थिए । एमालेइतर गठबन्धन बनाउने दिशामा छलफल सकारात्मक भएको बैठकमा सहभागी कांग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंहले बताए ।

‘संसद विघटनको कदमलाई असंवैधानिक भन्ने दलहरुबीच गठबन्धन गरौं भनेका छौं । त्यसका जसपाका नेताहरु सकारात्मक हुनुहुन्छ,’ सिंहले नेपाल प्रेससँग भने । वर्तमान सरकारको विकल्प खोज्न कांग्रेस तयार रहेकोले नयाँ समीकरणमा माओवादी र जसपालाई समेटेर जान तयार रहेको उनले बताए ।

‘अहिले नै सरकारको नेतृत्वबारे छलफल भएको छैन । तर ओली सरकारको विकल्प खोज्न कांग्रेसले अग्रसरता लिन्छ,’ सिंहले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर