सबैको पद यथावत् छ, विशेष बैठकले पेरिसडाँडाबाट फर्किएकालाई सहज बनाइदिएको हो : प्रवक्ता ज्ञवाली – Nepal Press

सबैको पद यथावत् छ, विशेष बैठकले पेरिसडाँडाबाट फर्किएकालाई सहज बनाइदिएको हो : प्रवक्ता ज्ञवाली

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पद यथावत् रहेको प्रष्ट पारेका छन् । महाधिवेशन आयोजक समिति गठन गर्दा पदाधिकारी नरहने भए पनि अहिलेसम्म सबै पदाधिकारी यथावत् रहेको ज्ञवालीले नेपाल प्रेसलाई बताए ।

नेपाल प्रेससँग विशेष कुराकानी गर्दै प्रवक्ता ज्ञवालीले पार्टी एकता प्रक्रियामा माओवादी केन्द्रबाट आएका नेताहरुको व्यवस्थापन नगरी नियमित बैठकमा जान नमिल्ने र प्रचण्ड छाडेर आएका नेताहरुले पनि आफूहरुलाई अध्यक्ष केपी ओलीले आह्वान गर्नुपर्ने भनेको सन्दर्भमा आज विशेष बैठकले सहज वातावरण बनाइदिएको बताए ।

ज्ञवालीले भने- आजको केन्द्रीय कमिटी बैठक नेकपा एमाले पुनःस्थापनापछिको विशेष बैठक हो । यो २०७५ जेठ ३ गते अघिको एमाले होइन, यो नयाँ एमाले हो । यसमा एकता प्रक्रियामा आएका कमरेडहरुलाई व्यवस्थापन गरेर नियमित बैठकमा जानुपर्ने बाध्यता थियो ।

यसका साथै पेरिसडाँडाबाट फर्किनुभएका कमरेडहरुलाई सम्बोधन गर्नुपर्ने थियो । अब नियमित बैठक बसेर यी निर्णय अनुमोदनका साथै अन्य धेरै निर्णय गर्नुपर्नेछ ।

ज्ञवालीले अब नेकपा एमालेमा फर्केर हिजो नेकपामा जस्तै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीलाई कामै गर्न नदिने, घेराबन्दी गर्ने, गणितको खेल खेल्ने वा समानान्तर पार्टी कमिटीका अभ्यास गर्ने छुट सदाका लागि बन्द गरिएको समेत बताए ।

ज्ञवालीले नेकपा माओवादी केन्द्रसँग एकताको च्याप्टर अहिले समाप्त भएको भन्दै नयाँ एमालेका रुपमा पार्टी अघि बढेको दाबी गरे । नेकपा एमालेको सिद्धान्त अब स्वतः जनताको बहुदलीय जनवाद भएको समेत ज्ञवालीले बताए ।

ज्ञवालीसँगको विस्तृत अन्तर्वार्ता केहीबेरमा।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर