नेपाली चालकलाई दुर्व्यवहार गर्ने दुई युवती पक्राउ, बाइडेनद्वारा एसियालीमाथिको हिंसा रोक्न निर्देशन – Nepal Press

नेपाली चालकलाई दुर्व्यवहार गर्ने दुई युवती पक्राउ, बाइडेनद्वारा एसियालीमाथिको हिंसा रोक्न निर्देशन

अमेरिका- नेपाली उबर चालक शुभाकर खड्कालाई दुर्व्यवहार गर्ने दुई युवतीलाई सनफ्रान्सिस्को प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई लस भेगासबाट पक्राउ गरिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

पक्राउ पर्नेमा २६ वर्षीया मलेसिया किङ र २४ वर्षीया आर्ना किमाइ छन् । लस भेगास प्रहरी प्रवक्ताका अनुसार पक्राउ परेका ती युवतीले नेपाली चालकलाई दुर्व्यवहार गरेर लुटपाट गर्न खोजेका थिए । दुर्व्यवहारमा संलग्न अर्की एक युवती चाहिं फरार छिन् ।

त्यहाँको स्थानीय केपीएक्स मिडियालाई बुधबार राति प्रहरीले दिएको जानकारी अनुसार ती युवतीहरु दुर्व्यवहार र लुटपाटमा संलग्न थिए । प्रहरीले खड्कासँग पनि सोधपुछ गरेको थियो । जवाफमा उनले आफूलाई ती युवतीहरुले जातीय गाली गरेको र दुर्व्यवहार गरेको जवाफ दिएका थिए ।

सनफ्रान्सिस्को प्रहरीमा अपराध विभाग हेर्ने अफिसर ट्रेसी म्याककारीका अनुसार पक्राउ परेकी युवती किमाइले चाहिं प्रहरीसँग आफ्नो गल्ती स्वीकार्दै आत्मसमर्पण गरेकी छिन् । ‘भिडियो हेर्दा महामारीको समयमा उनीहरु लुटपाट गर्ने नियतमा उत्रिएजस्तो देखिन्छ’ म्याककारीले भने ।

खड्कालाई आक्रमण गर्ने युवती किङलाई प्रहरीले रसायन प्रयोग गरेर हानि पुर्‍याउन खोजेको र स्वास्थ्य नियमको उल्लंघन गरेको आरोपमा मुद्दा चलाउने भएको छ ।

घटनापछि उबरले विज्ञप्ति जारी गर्दै तीनैजना युवतीलाई आफ्नो सेवा लिनका लागि रोक लगाइने घोषणा गरेको छ । ‘पछिल्लो समय एसियाली मूलका नागरिकमाथिको आक्रमणले हामीलाई दुःखित तुल्याएको छ’ उबरको विज्ञप्तिमा उल्लेख छ, ‘हामी उक्त घटनामा संलग्नलाई प्रतिबन्ध लगाउँछौं र चालक खड्काप्रति हाम्रो समर्थन रहन्छ ।’ अमेरिकाको अर्को राइडिङ सेवा प्रदायक कम्पनी लिफ्टले पनि तीनैजनालाई सेवा लिन प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ ।

बाइडेनद्वारा एसियालीमाथिको आक्रमण रोक्न आग्रह
अमेरिकी राष्ट्रपति जो बाइडेनले एसियाली समुदायमाथिको आक्रमण रोक्न आग्रह गरेका छन् । उनले एसियन अमेरिकनमाथि हिंसा बढेको सूचना आफूले पाएको भन्दै जातीय रुपमा त्यसो गर्नु अपराध भएको र त्यसलाई तत्काल रोक्नुपर्ने बताएका छन् ।

अमेरिकी टेलिभिजनको प्राइम टाइम सम्बोधनमा बाइडेनले आक्रमण रोक्न आग्रह गरेका हुन् । पछिल्लो समय अमेरिकन एसियन समुदायमाथि आक्रमण बढेपछि चिन्ता व्यक्त भएको थियो । नेपाली फेसन डिजाइनर प्रबल गुरुङसहितले हिंसाविरुद्ध अभियान चलाएका थिए ।

सन् २०२१ मा एसियाली अमेरिकीमाथि १५० प्रतिशतले आक्रमणका घटनामा वृद्धि भएको जनाइएको छ । जुलाइ २०२० मा मात्र २१ सय एसियालीविरोधी आक्रमणका घटना भएका थिए । राष्ट्रपति बाइडेनले महामारीविरुद्ध खटिएका फ्रन्टलाइन वर्कसमाथि हुने घटनाको पनि निन्दा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर