चुनकुमारीको प्रश्नः हामीलाई किन ‘महिला सांसद’ भन्छन् ? – Nepal Press

चुनकुमारीको प्रश्नः हामीलाई किन ‘महिला सांसद’ भन्छन् ?

यस्तो छ कमलरीदेखि सांसदसम्मको यात्रा

पूर्वकम्लहरी चुनकुमारी देवी अहिले सुदूरपश्चिम प्रदेशकी प्रदेशसभा सांसद छिन् । यो स्थानमा आइपुग्नका लागि उनले गरेको संघर्ष कम्ती प्रेरणादायी छैन ।

कम्लहरीदेखि सांसदसम्मको यात्रा तय गर्ने क्रममा उनले धेरै बाधा–अवरोध छिचोलिन् । आफू महिला भएकाले राजनीतिको भर्‍याङ उक्लिन निकै कठिन भएको अनुभव चुनकुमारीको छ । अहिले पनि महिलाहरुमाथि राजनीतिमा विभेद हुने गरेको गुनासो उनले सुनाइन् ।

राजनीतिसँगै आफ्नो पढाइ पनि अघि बढाइरहेकी छन् चुनकुमारी । यसैपालि उनले एसईई पास गरिन् । अहिले कलेज भर्ना भएर आईए पढ्दैछिन् ।

आफ्नो राजनीतिक यात्रामा भोग्नुपरेको विभेदका अनुभवहरु उनले नेपाल प्रेससँग यसरी वर्णन गरिन् :

म एक सांसद । जुन अभीष्टले यहाँसम्म आइपुगेकी छु, त्यो पूरा गर्न सकिरहेकी छैन । त्यसको प्रमुख कारण म महिला हुनु हो ।

बाल्यकालदेखि यहाँसम्म आइपुग्दा महिला भएकैले विभिन्न चुनौती खेपिरहेकी छु । पुरुषवादी सोच भएकाहरूले बाटैपिच्छे अवरोध गरेको अनुभव छ मसँग । परिवारमा पनि तमाम अवरोधहरू खेप्नुपर्दथ्यो । राजनीतिको शुरूआतमा घरबाहिर कार्यक्रममा निस्कन नै असहज हुन्थ्यो । पार्टीको कार्यक्रममा जाँदा महिला भँडुवा भनेर छिमेकीहरूले आरोप लगाउँथे । खेतबारी, दाउराघाँस, घरको काम, छोराछोरीको स्याहार गर्नुपर्छ भन्दै परिवारले बाहिर पठाउँदैनथे । महिलाहरू जुटाउन पनि सानो सकस थिएन ।

महिला भएकै कारण मैले धेरै अवसर गुमाएकी छु । अहिले म बिहानदेखि के–के गरें भनेर बेलुकी घरमा बेलिविस्तार लगाउँछु । ‘आज यी ठाउँमा भाषण गरें, यति महिलाको उद्धार गरें, यति वटा घरझगडा मिलाएँ’ यस्तै–यस्तै कुरा सुनाउनुपर्छ ।

हाम्रोमा महिलाहरू कति उत्पीडित छन् भन्ने एउटा दृष्टान्त– सुरक्षाकर्मी देख्नेवित्तिकै अहिले पनि धेरै महिला डराउँछन् । किन त ? आखिर उनीहरू महिलाकै समस्या समाधान गर्ने त हुन् नि ! तर, कोही महिला बलात्कृत भएकी छिन्, आफ्नो पीडा महिला प्रहरीसमक्ष राख्नसम्म डराउँछिन् । प्रहरी चौकी जाँदा प्रहरीले उल्टै मलाई पिट्छ कि, लैजान्छ कि भन्ने ठूलो डरले उनका सबै पीडा दबिएका छन् ।

अहिले म महिलाहरूलाई यही कुरा सम्झाउने गर्छु । समस्या पर्दा जान म पटक पटक प्रोत्साहित गर्छु ।

तर पनि महिला दिदीबहिनीहरू डराउनुहुन्छ । कति डरलाग्दा केस लुकाउन बाध्य हुनुहुन्छ । श्रीमान्ले थाहा पाए भने परिवारसँगै समाजले स्वीकार्दैनन् भन्‍ने ठूलो पीडा छ उहाँहरूलाई ।

राजनीतिमा अवरोध

देशको राजनीतिक मैदानमा महिलाको संघर्ष कुरा गरेर साध्य छैन । शुरूमा कामको सक्रियता देखेर पार्टीमा लैजान मन गर्छन् । तर, पछि अवसरका लागि धेरै आन्दोलन गर्नुपर्ने हुन्छ ।

मैले २०७० सालको संविधानसभाको चुनावमा टिकट पाएँ । त्यो बेला मलाई टिकट नदिन धेरै तिकडम रचियो । यस्ता अनपढलाई टिकट दिनुहुन्न भने । नेतृत्वमा मविरुद्ध खेल खेलिएछ । महिला भएकै कारण कु–प्रचार गरियो । प्रचारप्रसारमा रातविरात गाउँबस्ती डुल्न इज्जतसँग दाँजियो ।

म सांसद भएर पनि महिला हुनुको पीडा छ । म दुई दिन घर नगई धनगढी नै बसें भने वा काठमाडौं गएर नसोधी बसें भने त्यसको ठूलै माहोल बन्छ । हल्ला हुन्छ ।

घरको सबै काम भ्याएर राजनीति र समाजसेवा कसरी अघि बढ्छ र ?

यी सबै काम त सबै मिलेर गर्न सकिन्छ नि ! महिलाको अधिकार कामले अवरोध गरिदिएको छ ।

म पहिला–पहिला सांसद भएपछि धेरै काम गर्छु भनेर सोच्थें । तर, महिलाको लागि सोचेजस्तो गर्न सकिरहेको छैन । धेरै बोल्छु भनेको थिएँ, तर संसद भवनमा बोल्नको लागि समय हुँदो रहेनछ । आफ्नै पार्टीको सरकारको विरोधमा बोल्न नमिल्ने ! बोल्दा अप्ठेरोमा पारिने रहेछ । पार्टीले ह्विप जारी गरेपछि देशको विकास त नहुने रहेछ ।

क्षमता भएर पनि त्यो देखाउन नपाएपछि परिवर्तन कसरी हुन्छ र ? महिला सहभागितामा ३३ प्रतिशतको कुरा उठाइन्छ । तर, कुनै पार्टी कार्यालयमा महिला सहभागिता २० प्रतिशतभन्दा माथि छँदै छैन । जबसम्म महिला पार्टीमा आउँदैनन्, पार्टीको भाइटल पोस्टमा आउँदैनन् तबसम्म माथि उठ्न सक्दैनन् । देशमा समृद्धि आउँदैन

संघर्षपूर्ण कम्लहरी–सांसद यात्रा

म सानो दुःखबाट राजनीतिमा आएकी थिइनँ । विपन्न परिवारमा जन्मेकी हुँ । कम्लहरी बनेर काम गर्दाका ती कष्टकर क्षण अहिले पनि झलझली आउँछ ।

कम्लहरी बन्नु बाध्यता थियो । १४ वर्षको उमेरमै विवाह भयो । विवाहपश्चात् मैले बोल्न सिकें । राजनीति बुझ्न थालें । त्यसपछि राजनीतिमा सक्रिय भएँ । जब पढाइको कुरा आयो । त्यसपछि उमेरको परवाह नगरी २०७० सालपछि पढ्न थालें । एसईई पास पनि गरिसकें । अहिले राजनीतिशास्त्र पढिरहेकी छु । व्यस्तताका बाबजुद कलेज गइरहेकी छु ।

सांसद भएपछि देखेको विभेद

महिलाहरूमा विभेद पनि उत्तिकै देख्छु । जस्तो कि पुरुष पनि सांसद हुन्, महिला पनि सांसद हुन् । तर, पुरुषलाई सांसद मात्र भनेर सम्बोधन गरिन्छ भने महिलालाई महिला सांसद भनिन्छ । मेरो आपत्ति यहीं हो । महिलाले कार्यक्रम उद्घोषण गरिरहेको छ भने उद्घोषिका भन्नुहुन्छ । उद्घोषक भने पुगिहाल्यो नि ! अर्को चाहिं मलाई महिला नेतृ भनेर सम्बोधन गर्छन् । नेता भने त भइगो नि !

सोचमा परिवर्तन छैन । समानता र अधिकारको आवाज उठाउने भनिएका राजनीतिक क्षेत्रमै महिलामाथि हिंसा छ । त्यो हिंसामा अरु कोही नभएर पुरुषले न गर्ने पुरुष नै कहीं न कहीं जोडिएका हुन्छन् । ठूला मन्त्रालयमा महिला पुगेका छैनन् । निर्णय र नेतृत्व गर्ने ठाउँमा महिला नपुगेसम्म समृद्धि आउँदैन ।

आधा आकाश ओगटेका महिला नै बढी मतदाता छन् । पुरुषलाई जिताउने पनि महिला नै हुन् । तर, तिनै महिला चुनावमा उठ्छु भन्दा टिकट दिइँदैन । मैले दुई पटक भोगिसकेको कुरा हो यो ।

महिलाका लागि बजेट हुन्न

सांसदहरूलाई दिइने पूर्वाधार बजेटको कार्यविधिमा बाटोघाटो पुलपुलेसा मात्रै छ । महिलाको क्षमता विकासमा त्यो बजेट कहीं कतै सम्बोधन गरेको देखिन्न ।

महिलाको बजेट खोइ भन्दा महिलाले बाटोमा हिंड्दैनन् ? यी सेवा महिलाले चाहिं उपभोग गर्नु पर्दैन ? भनेर सधैं हामीलाई घुर्की लगाउँछन् । अहिले विकासमा पनि महिला हिंसा छ । सांसद कोषमा बनाइने बजेटमा महिलाको सहभागिता हुन्न । हामीलाई कहिल्यै सोधिन्न । पछि सही मात्र गर्न बोलाइन्छ ।

तीन वर्ष भयो, आफ्नो निर्वाचन क्षेत्रमा मैले महिलाको लागि बजेट लिएर जान सकेको छैन । महिला भएकै कारण, पछाडि परेको वर्ग भएकै कारण त्यो बजेट लिएर जान सक्नुपर्थ्यो । तर, छैन । त्यसैले हामी महिला घरेलुदेखि लिएर राजनीतिक हिंसामा पनि परेका छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर