प्रधानमन्त्रीसँग जसपाको वार्तामा डा. भट्टराई अनुपस्थित – Nepal Press

प्रधानमन्त्रीसँग जसपाको वार्तामा डा. भट्टराई अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सरकारमा सहभागी हुने विषयमा जनता समाजवादी पार्टीभित्र स्पष्ट दुई धार देखिएको छ । पूर्व राजपाका नेताहरु ओलीसँगको सहकार्यमा उत्सुक भए पनि पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई भने यसको विपक्षमा देखिएका छन् ।

आज प्रधानमन्त्रीले जसपाका शीर्ष नेताहरुलाई भेटघाटका लागि बालुवाटारमा बोलाएका थिए । पार्टीका पाँच जना प्रमुख नेताहरु बालुवाटार जाने भनिएको थियो । तर, डा. भट्टराई सो भेटघाटमा सहभागी भएनन् । यसलाई ओलीसँग सहकार्य गर्ने उनको व्यक्तिगत अरुचिका रुपमा हेरिएको छ ।

प्रधानमन्त्रीसँगको वार्तामा पार्टीका अध्यक्ष महन्त ठाकुर, अर्का अध्यक्ष उपेन्द्र यादव तथा नेताहरु राजेन्द्र महतो र अशोक राईको उपस्थिति थियो । सरकारका तर्फबाट प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेल वार्तामा सहभागी थिए ।

डा. भट्टराईले हालै मात्रै ‘ओली हटाउँ देश बचाउँ’ भन्दै ट्विट गरेका थिए । उनले ‘ओलीले हालेको घाँसमा आकर्षित भएको’ भन्दै पार्टीका नेताहरुप्रति कटाक्षसमेत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर