श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको भन्दै काकाको हत्या – Nepal Press

श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको भन्दै काकाको हत्या

रुपन्देही । आफ्नो श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको भन्दै रुपन्देहीको गैडहवामा सहोदर काका नाता पर्ने व्यक्तिको हत्या गरिएको रहस्य खुलेको छ । गैडहवा गाउँपालिका -६ स्थित गुलरियाका २२ वर्षीय दिनेशकुमार लोधको उनकै काका नाता पर्ने रामवरण लोधबाट हत्या भएको प्रहरी अनुसन्धानमा खुलेको हो ।

इलाका प्रहरी कार्यालय लुम्बिनी र इलाका प्रहरी कार्यालय सुर्यपुराको टोलीले उक्त घटनाको अनुसन्धान गर्दा दिनेशकुमार लोधका काका पर्ने रामवरण लोधले हत्या गरेको अनुसन्धानबाट खुलेको सो घटनाका अनुसन्धान अधिकृत इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्सपेक्टर रविन्द्र महतले नेपालप्रेसलाई जानकारी दिए ।

दिनेश लोधको आफ्नी पत्नीसँग अनैतिक सम्बन्ध रहेका कारण हत्या गरेको रामवरण लोधले बयान दिएका छन् ।
गत मंसिर १७ गते बिहान करिब साढे सात बजे सोही स्थानको पर्सा–कलौनी सडकखण्डको पूर्व किनारमा हत्या गरी फालेको अवस्थामा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

महतका अनुसार घटना अनुसन्धानका लागि जिल्ला प्रहरी र प्रदेश प्रहरीको सहयोगमा, अन्य प्राविधिकसमेत पक्षको प्रयोग गरी अनुसन्धान गरिएको र पीडकले अभियोग समेत स्वीकार गरिसकेका छन् ।

‘लोधले अभियोग स्वीकार गरिसकेका छन्, अब सोही अनुसारको कानुनी प्रकृयामा अगाडि बढाउँछौं,’महतले भने,‘घटनास्थलबाट उठाइएका सबुद प्रमाण, प्राविधिक पक्षको विश्लेषण र बुझिएका स्थानीय मानिसहरु समेतको भनाइको आधारमा मृतकको हत्या रामवरण लोधबाट हुन आएको खुलेको छ ।’

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि रामवरण लोधलाई प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ७ शिवगढियाबाट पक्राउ गरिएको थियो । हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *