नेपालबाट ‘डिपोर्ट’ भएका अष्ट्रेलियाली निर्देशक भन्छन् : दुई वर्षपछि फेरि नेपाल आउँछु – Nepal Press

नेपालबाट ‘डिपोर्ट’ भएका अष्ट्रेलियाली निर्देशक भन्छन् : दुई वर्षपछि फेरि नेपाल आउँछु

काठमाडौ । सरकारविरोधी प्रदर्शनमा सहभागी भएको आरोपमा सात विदेशी नागरिकलाई दुई वर्षका लागि केही समयअघि देशनिकाला गरियो । यसरी देशनिकाला हुनेमध्ये एक थिए, अष्ट्रेलियाली नागरिक कालानी ग्याकोन, जो एक फिल्म निर्देशक हुन् ।

सन् २०२० को जुनमा सरकारविरोधी प्रदर्शनका क्रममा माइतीघरबाट कालानीसहित सात विदेशी पक्राउ परेका थिए । ती सबैलाई अध्यागमनको जिम्मा लगाएर दुई वर्ष नेपाल प्रवेश गर्न नपाउने सर्तसहित निकाला गरिएको थियो ।

सरकारले कोभिड-१९ नियन्त्रणमा ढिलासुस्ती गरेको भन्दै भएको प्रदर्शनमा कालानीसहितका सात विदेशी पनि सहभागी थिए । तर, उनले आफू प्रदर्शनमा डकुमेन्ट्री खिच्नको लागि सहभागि भएको तर, प्रदर्शन गर्ने नियत नरहेको बताएका छन् ।

अष्ट्रेलियाबाट नेपाल प्रेससँग कुरा गर्दै कालानीले भने, ‘सुरुमा प्रहरीले हामीलाई सुरक्षा दिने भन्दै पक्राउ गरेको थियो र पछि अध्यागमनको जिम्मा लगायो । तरपनि म खुशि छु । दुईवर्षको समय अष्ट्रेलियामा परिवारसँग बिताउनेछु ।’

आफूलाई प्रतिबन्ध लगाउने नेपाली अधिकारीहरुको निर्णयप्रति कालानीलाई दुःख छैन । आफूहरुमाथि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भनिएपनि यो आरोप गलत भएको उनको भनाई छ । ‘फिल्ममेकरको रुपमा मैले दृश्यहरु मात्र क्यामेरामा खिचेको हुँ’ उनी भन्छन् ।

‘जब मैले निर्णय सुनेँ छाँगाबाट खसेजस्तो भएँ । मेरो सपना, मेरो काम, मेरा साथी र मेरो सबथोक नेपालमा छ । निर्णय सुनेपछि म रोएको थिएँ’ उनी भन्छन्, ‘दुईवर्षपछि पुनः म नेपाल आउनेछु र पुनः फिल्म निर्माणको काम सुरु गर्नेछु ।’

सन् २०१५ को विनाशकारी भूकम्पपछि कालानी पहिलोपटक नेपाल आएका थिए । नेपाली भाषासमेत राम्रोसँग बोल्न सक्ने कालानीले सुरुआती पाँचवर्षमा नेपालमा स्वयंसेवकको रुपमा काम गरे । ‘मैले कहिल्यै सोचिँन कि नेपालमा बस्छु भनेर । तर, बस्दै जाँदा नेपाल छोड्न नसक्ने भएँ’ उनले भने ।

नेपालको संस्कृति र मानवताप्रतिको प्रेमले आफूलाई नेपाल बसिरहन प्रेरित गरेको उनको भनाई छ । नेपाल बसाइमा कालानीले डकुमेन्ट्री निर्माणसहित केही नेपाली फिल्ममा पनि काम गरेका छन् । उनले नुवाकोटमा तामाङको जातिय संस्कृति झल्कने एउटा कटेज पनि बनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर