चीनबाट खोप ल्याउन ढिलाइ, कोभिसिल्ड र सिनोफार्ममा कुन राम्रो ? – Nepal Press
कोभिड-१९

चीनबाट खोप ल्याउन ढिलाइ, कोभिसिल्ड र सिनोफार्ममा कुन राम्रो ?

काठमाडौं । गत जनवरी १६ मा बसेको औषधि व्यवस्था विभागको बैठकले कोभिड-१९ विरुद्धको चिनियाँ खोप सिनोफार्मलाई आपतकालीन प्रयोगको अनुमति दियो । तर, एक महिना हुनै लाग्दा पनि चिनियाँ खोप नेपाल आउने सुरसार छैन ।

भारतमा उत्पादित कोभिसिल्ड खोप लगाउन थालेको दुई महिना पुग्न लाग्यो र खोप अभियानको दोस्रो चरण चलिरहेको छ । जबकि चिनियाँ खोप परीक्षणकै क्रममा रहेको बेला नेपालले खोप मागेको हो । खोप आपूर्ति भने कहिले हुन्छ भन्ने अनिश्चित नै छ । स्वास्थ्य मन्त्रालयले आगामी दुई सातामा खोप आउने बताए पनि यसको टुंगो छैन ।

चीनले नेपाललाई ८ लाख सिनोफार्म खोप दिने घोषणा गरिसकेको छ । खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिएको औषधि व्यवस्था विभाग चीनबाट प्राप्त हुने थप कागजातको प्रक्रियामा छ । स्रोतका अनुसार चीनबाट आवश्यक कागजात नेपाल आइपुग्न ढिला भएकाले आपूर्ति पनि प्रभावित भएको हो । चीनमा नयाँ वर्षको लामो विदा भएको कारणले कागजात आउन ढिलाइ भएको जनाइएको छ ।

आठ लाख खोप निःशुल्क दिए पनि ढुवानी नेपाल स्वयम्ले गर्नुपर्ने चिनियाँ भनाइ छ । अफ्रिका र ल्याटिन अमेरिकी मुलुकमा भने चीनले आफैं ढुवानी गरिरहेको छ । बेइजिङबाट काठमाडौं आउने कुनै विमान नभएकाले पनि ढुवानीमा समस्या भएको बताइएको छ ।

सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम वा हिमालय एअरलाइन्सबाट खोप आपूर्ति गर्ने तयारी गरेको बुझिएको छ । तर, छोङछिङबाट नेपाल छुट्ने हिमालय एअरलाइन्सको विमान केही समयदेखि अवरुद्ध भएकाले तत्काल खोप ल्याउन सम्भव नभएको अनुमान छ । स्वास्थ्य सेवा विभागका अनुसार चीनले दिने भनेको ८ लाख डोज खोप ल्याउन चार्टर विमान पठाउन लागिएको भए पनि कुन एअरलाइन्सको गर्ने भन्ने टुंगो छैन ।

यदि सरकारले विमान चार्टर गरेमा १० हजार डलर खर्च हुने अनुमान गरिएको छ । तर, अनुदान बापतको खोप ल्याउन चार्टर विमान प्रयोग गर्न नहुने सुझाव स्वास्थ्य मन्त्रालय र विभागले दिएका छन् । गएको ९ माघ गते भारतले उसकै विमानमा १० लाख डोज खोप काठमाडौं ल्याइदिएको थियो ।

स्वास्थ्य मन्त्रालयले पूर्व प्राथमिकता परिर्वतन गर्दै ६५ वर्षमाथिका नागरिकलाई मात्र खोप लगाउने निर्णय लिएको छ । अरूले कहिलेदेखि खोप पाउँछन् भन्ने निधो छैन ।

कोभिसिल्ड राम्रो कि सिनोफार्म

स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो चरणमा कोभिसिल्ड खोप लगाउनेमध्ये १९ जनामा गम्भीर बिरामीको लक्षण थियो । तर कोही पनि घातक बिरामी भएका छैनन् ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप लगाउँदा बिरामी भए सरकारले निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएका छन् । एक हिसाबले भारतीय कोभिसिल्ड खोपमा आकर्षण देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि उच्च राजनीतिज्ञले समेत ढुक्कसाथ खोप लगाउन आग्रह गरिरहेका छन् ।

भाइरोलोजिस्ट डा. सन्तोष दुलाल सिनोफार्मभन्दा अक्सफोर्डले विकास गरेको कोभिसिल्ड खोप प्रभावकारी रहेको बताउँछन् । रसायनिक रूपमा कोरोनाभाइरसलाई निष्क्रिय तुल्याएर सिनोफार्म खोप बनाइएको उनले जानकारी दिए । तर, अक्सफोर्ड र अस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड चाहिं चिम्पाम्जीको एडेनो भाइरस भेक्टरमा कोरोनाको स्पाइक प्रोटिनलाई जेनेटिकल्ली मोडिफाइड गरिएको छ । जसको कारण कोभिसिल्डले शरीरमा खास असर गर्दैन ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सिनोफार्मको प्रभावकारिता ७९ प्रतिशत छ भने कोभिसिल्ड ८४ प्रतिशत प्रभावकारी देखिएको छ । सिनोफार्ममा मृत भाइरस हुन्छ जसले मान्छेलाई संक्रमणमुक्त तुल्याउन असमर्थ हुन्छ । यो खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई निर्देशन दिएर कोभिड संक्रमणबाट रक्षा गर्न प्रतिरक्षा प्रणालीलाई सक्रिय तुल्याइराख्छ ।

जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षित कुनै खोप ५० प्रतिशतभन्दा माथि प्रभावकारी छ भने ढुक्क साथ लगाउँदा हुने बताउँछन् ।
अक्सफोर्डको कोभिसिल्ड खोपले चाहिं कोभिडको गम्भीर बिरामी मात्र नभई संक्रमण पनि रोक्ने देखिएको छ । अक्सफोर्ड युनिभर्सिटीको हालैको एक अध्ययनअनुसार कोभिसिल्ड खोप एक डोज लगाउँदा पनि मानिसहरूलाई कोभिडबाट राम्रो सुरक्षा प्रदान गरेको छ । पहिलो मात्रा लिइसकेको तीन महिनामा पनि उक्त खोप ७६ प्रतिशत प्रभावकारी रहेको पाइएको छ । तर, फ्रान्सलगायतका कतिपय देशले भने ६५ वर्षमाथिको उमेर समूहमा अक्सफोर्ड खोपलाई प्रयोगमा नल्याउने जनाएका छन् ।

कूटनीति हैन, खोपनीति

पछिल्लो समय एशियाली कूटनीति राजनीतिभन्दा पनि खोपको आपूर्ति र विकासले निर्देशित छ । प्रतिष्ठित विदेश नीति म्यागजिन द डिप्लोम्याटले कोभिडको सुरुआती चरणमा मध्य एशियामा मास्क कूटनीति मौलाएको र पछिल्लो समय ‘खोप कूटनीति’को उदय भएको जनाएको छ ।

भू–सामरिक चासो र स्वार्थले अस्थिर बनेको एशियाली प्रशान्त क्षेत्रमा खोप कूटनीतिले कूटनीतिको नयाँ आयाम सिर्जना गरेको हो । खासगरी, एशियामा भारत, चीन र रुस खोप कूटनीतिमा अगाडि देखिएका छन् । यी तीनै मुलुकले विश्वभर खोप ढुवानीलाई सफ्ट पावरको रूपमा अगाडि सारेका छन् । अमेरिकाको फाइजर र मोर्डना खोप समेत यी तीन मुलुकको छायाँमा परेका छन् ।

‘अवश्य पनि अस्तित्वमा रहेका क्षेत्रीय र वैश्विक एजेन्डामा खोप कूटनीतिले पनि खेल्ने काम गरिरहेको छ’ कोलम्बिया विश्वविद्यालयका निर्देशक अलेक्जेन्डर कुली भन्छन्, ‘चीनको खोप र मास्क कूटनीति यति ओझेलमा प¥यो कि त्यसले बीआरआईजस्ता ग्लोबल एजेन्डा पनि छायाँमा परे ।’

तर, चीन र रूसबीच खोप कूटनीतिलाई लिएर अहिले रस्साकस्सी चलिरहेको छ । जस्तो, चिनियाँ प्रोजेक्ट बीआरआईको एउटा ठूलो साझेदार काजकिस्तानले चिनियाँ खोप प्रयोग नगरेर रूसी खोप स्पुतनिक-भी प्रयोग गर्ने निर्णय गर्‍यो । तर, यसबारे चीनको आफ्नै खालको व्याख्या छ । चीनले खोप आपूर्तिमा भूराजनीतिक प्रश्नको कुनै गुञ्जायस नहुने बरु यसमा स्थानीय आपूर्ति र ढुवानी संरचना जिम्मेवार रहेको प्रतिक्रिया दिएको छ । द डिप्लोम्याट म्यागजिनले खोप कूटनीति विदेश नीतिको एउटा मोडेल रहेको समेत उल्लेख गरेको छ ।

चीनको राजनीतिक परामर्श सम्मेलनका सल्लाहकार ग्यो ओइमिन चीनले खोपसँगै विश्वव्यापी प्रभाव विस्तार गर्न खोजेको बताउँछन् ।
‘अवश्य पनि चीनले खोपसँगै हाम्रो प्रभावलाई अन्तर्राष्ट्रियकरण गर्न खोजेको छ । यो उपयुक्त अवसर समेत हो ।’ फाइनान्सियल टाइम्सका अनुसार चीनको खोप कूटनीतिलाई काउन्टर दिन अमेरिकाले एशियामा आफ्ना साझेदार मुलुकहरू भारत, जापान र अष्ट्रेलियासँग मिलेर खोप आपूर्ति गरिरहेको छ ।

जापानले सघाउने

खोप कूटनीतिमा जापान पछाडि परे पनि उसले केही विकासशील मुलुकलाई आवश्यक उपकरण र सामग्री निर्यात गरेर ‘भ्याक्सिन डिप्लोमेसी’लाई अगाडि बढाउने भएको छ । उसले यसै साता एशिया प्रशान्त क्षेत्रमा रहेका कोभिड प्रभावित मुलुकलाई भाइरसविरोधी खोप लगाउने प्रयासमा आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको हो ।

जापानको सहायता सूचीमा नेपालसहित भूटान, म्यानमार, श्रीलंका, इन्डोनेसिया, फिलिपिन्स, थाइल्यान्ड, पूर्वी टिमोर, फिजी, लाओस, ब्रुनाई, भियतनाम छन् । जापानले राष्ट्रसंघीय नियोग विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत रहेर पनि विकासशील मुलुकहरूलाई खोप अभियानमा सघाएको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत नेपालले कुल १ करोड ४८ लाख डोज खोप प्राप्त गर्नेछ । त्यसको पहिलो खेप ३ लाख ४८ हजार डोज यसै साता काठमाडौं आइपुगेको छ । यसका अतिरिक्त रूस र युएईले पनि नेपाललाई खोप दिने घोषणा त गरेका छन् तर, यसको टुंगो छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *