माधवपक्षीय भेलाको निष्कर्ष : ओलीले पेलेर गए छुट्टिन तयार – Nepal Press

माधवपक्षीय भेलाको निष्कर्ष : ओलीले पेलेर गए छुट्टिन तयार

बालुवाटारमा बैठक बोलाइए नजाने, मान्छे थपे समानान्तर कमिटी

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले माओवादीसँग एकीकरणअघिकै पार्टी संरचना क्रियाशील गराउनुपर्ने विषयलाई मुख्य एजेण्डाको रूपमा उठाउने भएको छ ।

बानेश्वरस्थित अर्याल होटलमा बुधबार अपरान्ह भएको केन्द्रीय सदस्यहरूको भेलामा केही नलागे र आवश्यक पर्दा अन्त्यमा छुट्टिनुपर्ने हुन सक्छ भन्दै त्यसका लागि पनि मानसिकता बनाउन नेताहरूले निर्देशन दिएका छन् ।

‘केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय बैठकमा पार्टीको साविककै संरचनालाई यथावत् राख्न केपी ओलीलाई निरन्तर दबाब दिने टुंगोमा पुगिएको छ, एक केन्द्रीय सदस्यले नेपाल प्रेससँग भने, ‘यसो गर्दा पनि ओलीले पेलेर गए विद्रोह गर्ने र अर्कै बाटो समात्नुपर्ने सम्भावनाबारे छलफल भएको छ ।’

प्रधानमन्त्री ओलीलाई साथ दिएका रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, मणि थापालगायतका माओवादी नेताहरूलाई समायोजन गरी पदाधिकारीमा ल्याउने कुरालाई माधव पक्षले स्वीकार नगर्ने भएको छ । यदि मान्छे टिपेर आफूखुशी ल्याइए त्यसको प्रतिवाद गर्ने र समानान्तर कमिटीको अभ्यास गरिने ती नेताले बताए । उनले भने ‘ओलीका कार्यकर्ताले देशव्यापी रूपमा पार्टी कार्यालय कब्जा गरेर पार्टीलाई ‘पेवा’ बनाउन लागेकोले त्यसका विरुद्ध ‘ठाउँको ठाउँ’ प्रतिवाद गर्नेछौं ।’

केन्द्रीय सदस्य यज्ञराज सुनुवारले भने, ‘एमाले बनाउने झलनाथ र माधव नेपाल हुन् । केपी होइनन् । हामीलाई हीनताबोध गराउने प्रयास भइरहेको छ ।’

भेलाले एमालेको तत्कालीन जिल्ला र प्रदेश कमिटीमा आफ्नो दरिलो उपस्थितिलाई कायमै राख्ने रणनीतिका साथ निरन्तर दबाब दिने पनि निचोड निकालेको छ । साथै पार्टी मुख्यालय धुम्बाराहीबाहेकका ठाउँमा बोलाइने बैठक (बालुवाटार) मा सहभागी हुन नहुनेमा पनि सहभागीले जोड दिएका छन् ।

झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्यलगायतका नेताहरूले आगामी रणनीतिबारे धारणा राखेका थिए । योगेश भट्टराई भने बैठक शुरू भएको केहीबेरमै बाहिरिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *