कर्णाली उत्सवमा मुख्यमन्त्री शाहीले भने– कर्णालीलाई पछि पारिएको होइन, परेका हौं – Nepal Press

कर्णाली उत्सवमा मुख्यमन्त्री शाहीले भने– कर्णालीलाई पछि पारिएको होइन, परेका हौं

सुर्खेत । कर्णालीसँग इतिहासको कमी छैन । खस भाषाको सुरुआत भएको मानिने सिञ्जा उपत्यकादेखि ती इतिहासलाई लिपिबद्ध गर्ने योगी नरहरिनाथको ठाउँ पनि हो, कर्णाली ।

कर्णालीसँग आफ्नै विशेष भाषा छ, संस्कृति, छ, संस्कार छ, खान्की छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादर शाहीलाई आफ्नो प्रदेशले विश्व कै ध्यान खिच्न सफल भएको दाबी गर्छन् । भन्छन्, ‘बोकेको प्रदेश हो । विश्वका थुप्रै मान्छेले कर्णालीबारे धेरै कुरा जान्दछन् । धेरै कुरा थाहा छ ।’

सुर्खेतको बुलबुले उद्यानमा बुधबारबाट सुरु भएको दोस्रो कर्णाली उत्सवमा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमात्रै नभएर एउटा इतिहास नै भएकाले त्यही अनुसार बुझ्नुपर्ने धारणा राखे ।

‘कर्णाली आफैंमा के हो ? इतिहास के हो ? भन्नेबारेमा जान्न र बुझ्न जरुरी छ । हामी धेरै शताब्दी पार गरेर अहिले नयाँ युगमा आइसकेका छौं,’ मुख्यमन्त्री शाहीले भने, ‘यो युगमा आफ्नो सभ्यता र संस्कार, सामाजिक परिवेश के थियो ? यो सबै कुरा अहिलेको नयाँ पुस्ताले बिर्संदै गएका छौं ।’

आफ्नो भाषा, संस्कृति, रितिरिवाज बिर्सेर वर्तमानमा मात्र रमाए धेरै इतिहास मेटिएर जाने भनाइ मुख्यमन्त्री शाहीको थियो । उनले भने, ‘भोलि हाम्राबारे म्युजियममा गएरमात्रै थाहा हुन सक्ने अवस्था हुन सक्छ । हामीले आफ्नो भाषा, संस्कृति बिर्संदै गएका छौं । त्यसका लागि पनि वैचारिक बहस जरुरी छ ।’

पछिल्लो समय बसाइँसराइ क्रम अत्याधिक हुँदा पहाडबाट तराई झर्ने, गाउँबाट सहर सर्ने चलनसँगै संस्कार, संस्कृतिमा पनि विकृतिपन आइरहेको र त्यसलाई चिर्न शिक्षा आवश्यक रहेको मुख्यमन्त्री शाहीले बताए ।

‘धेरैका छोराछोरी पहाडबाट तराई झरेका छन् । अब उनीहरुलाई आफ्नो थातथलोबारे थाहा नहुने भयो । पुर्खाको जन्म कसरी भयो भन्ने थाहा नहुने स्थिति आयो,’ उनले भने, ‘यो जान्न पनि इतिहास जरुरी छ । शिक्षाका लागि इतिहास महत्वपूर्ण छ ।’

कर्णाली प्रदेशको इतिहासलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न भूत, वर्तमान र भविष्य गरी ३ भागमा अध्ययन गर्नसमेत उनले सुझाए । कर्णालीको विगत अध्ययन गर्दा विगत कर्णाली के थियो ? त्यसको आर्थिक, सामाजिक, राजनीतिबारे थाहा हुने उनले बताए ।

‘हिजोको कर्णाली अध्ययन गर्दा हिजो सुनैसुन लगाउने कर्णाली, तामाको भाडामा सामान राख्ने कर्णाली अहिले किन प्लास्टिकका भाडा खोज्ने भयो ?’ उनले प्रश्न गरे, ‘झिंगा भन्काएर संघसंस्था पर्खिर बस्नु परेको छ । सधैं अर्काको मुख ताकेर बस्नुपर्ने किन बैशाखी आवश्यक प¥यो ? जान्न जरुरी छ ।’

मुख्यमन्त्री शाहीले आजको कर्णालीको आर्थिक, सामाजिक, राजनीतिकबारे पनि जान्न जरुरी रहेको मत राखे । उनले भने, ‘आजको अध्ययनले कर्णालीको भविष्य देखाउँछ । अहिले हामीले चालेको कदम ठीक बाटोमा छ या गलत बाटोमा छ यसले देखाउँछ ।’

‘कर्णालीलाई पछि पारिएको होइन, परेका हौं’

पहिलो कर्णाली उत्सवको एउटा सेसनमा खाद्यविद् डा अरुणा उप्रेतीले कर्णालीसँग उल्लेख्य पौष्टिक खाद्यान्न भएको तर, कर्णालीले चिन्न नसकेको बताएकी थिइनु । गत वर्षको कार्यक्रममा उनले भनेकी थिइनु, ‘आफूले उब्जाउन छोडेर सधैं अरुको मुख ताक्ने भयो । कणार्लीलाई कुपोषणयुक्त उडुवा चामलले बिगार्यो ।’

कतिपय कर्णालीबासी पनि आफूहरुलाई राज्यको केन्द्रिकृत मानसिताबाटै उपेक्षा गरिएको बताउँछन् । तर, मुख्यमन्त्री शाही मान्न तयार छैनन् । उनी मत छ, ‘दौडमा फस्ट हुनलाई दौडिनै पर्छ । दौडमा भाग नलिएर जित्थें होला भन्ने सपना देखेर हुँदैन ।’

कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीलाई पछि पारियो भनेर सधैं केन्द्रलाई गाली गरेरमात्रै नहुने धारणा राखे । ‘प्रदेश पछि पारियो भनेर केन्द्रलाई गाली गरेरमात्रै हुँदैन । यसका बारेमा पनि बुझ्न जरुरी छ । कोही मान्छे दौडिएर फस्ट आउँछ भनेर म नदौडिएर मात्रै हो भनेर क्यै हुँदैन,’ उनले भने, ‘कर्णाली प्रदेश आफ्नै कारणले पनि पछि परेका हौं । अब हामी आफ्नै कारणले मात्रै अघि बढ्नज सक्छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *