कोरोनाले शिवरात्रिको रौनक कम, सजावटमा पनि अल्छी गर्‍यो कोषले – Nepal Press

कोरोनाले शिवरात्रिको रौनक कम, सजावटमा पनि अल्छी गर्‍यो कोषले

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति मन्दिरमा यसपालि पहिलेजस्तो रौनक छैन । बाबाजीहरु कम संख्यामा छन् भने भक्तजनको चहलपहल पनि न्यून छ ।

कोरोनाको महामारी अझै नसकिएकाले भारत तथा तेस्रो मुलुकबाट आउने बाबा तथा साधुहरूको संख्या घटेको हो । पशुपति क्षेत्र र थापाथलीमा विगतमा जति साधुसन्त महाशिवरात्रि मनाउन नआएको कोषले जनाएको छ ।

शिवरात्रिमा भारत तथा तेस्रो मुलुकबाट आउने भक्तजनको पनि चहलपहल नभएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए ।

‘गत वर्षमा पाँच हजार साधुसन्त आएकोमा यसपालि अहिलेसम्म १ हजार जना मात्रै आइपुगेका छन् । बेलुकासम्म केही थपिन्छन् होला’, उनले भने ।

कोषले शिवरात्रिलाई लक्षित गर्दै पशुपति मन्दिर क्षेत्रमा गत वर्ष विशेष सजावट गरेको थियो । तर, यसपटक भने जाँगर देखिएको छैन । मन्दिरमा मात्रै सजावट गरिएको छ ।

पशुपति क्षेत्रमा दर्शनार्थीको भीड हुने भएकाले सवारी साधनलाई वैकल्पिक व्यवस्था गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । चाबहिल, गौशाला, एअरपोर्ट क्षेत्रको ट्राफिक प्रभावित हुने बताइएको छ ।

महाशिवरात्रिको तयारीस्वरूप आज बिहान पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा सरसफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले गठन गरेको वातावरण सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था उपसमितिको आयोजनामा आज बिहान सफाइ गरिएको हो ।

पशुपति क्षेत्रमा कानूनले मदिरा, गाँजा तथा लागूपदार्थ निषेध गरेकाले यस्ता पदार्थको बिक्री-वितरण र सेवनमा रोक लगाइएको छ ।

ढकालका अनुसार कोषले स्वास्थ्य मापदण्डहरूलाई प्रभावकारी बनाउन उपसमितिको गठन गरी कार्यविभाजन समेत गरेको छ । शिवरात्रिका लागि १० हजार सुरक्षाकर्मी खटाइएको छ भने स्वयम्सेवक समेत परिचालन गरिने भएको छ ।

यस्तो छ कोरोनाको सतर्कता

कोषका अनुसार शिवरात्रिमा दर्शन गर्न आउने भक्तजनहरुका लागि कोरोनासम्बन्धी सतर्कतामा खासै कडाइ गरेको छैन । कोषका प्रचारप्रसार समिति सचिव रेवतिरमण अधिकारीले दर्शनार्थीलाई सामाजिक दूरी कायम गर्न आग्रह गरिएको भए पनि व्यवहारमा सम्भव नहुने बताए ।

उनले नेपाल प्रेससँग भने,‘हामीले आग्रह गरेका छौं, व्यवहारमा कति सम्भव छ त्यो पनि हेर्नुपर्‍यो । सोमबार र शनिबार त खचाखच गरेर भित्र गइराख्नुभएको हुन्छ । खासै व्यवस्थापन गर्न सक्दैनौ । भोलि त झन् भीडभाड भइ नै हाल्छ ।’

उनले पशुपति आउने दर्शनार्थीलाई मास्क भने अनिवार्य गरिएको बताए ।

‘मास्क नभएकालाई भित्र छिराउँदैनौं । स्यानिटाइजर हामीले प्रवेशद्वारमा राखेका हुन्छौं। दर्शनार्थीले पनि आफ्नो सुरक्षा गर्नुपर्‍यो नि । त्यसैको लागि स्यानिटाइजर पनि आफ्नो साथमा राख्नको लागि अनुरोध गर्छौं’, उनले भने ।

गत वर्षभन्दा यस वर्ष चहलपहलमा निकै कमी आएको उनको अनुभव छ ।

अधिकारीले थपे, ‘पोहोरजस्तो अलि भीडभाड नहोला । पोहोर प्रचार पनि थियो सजिसजावट पनि थियो । यसपालि हामीले कोभिड र अन्य कारणले सजावट गर्न सकेनौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर