भीम रावल भर्सेस लेखराज: सुदूरपश्चिम एमालेमा नेतृत्वको लडाईं सुरु – Nepal Press

भीम रावल भर्सेस लेखराज: सुदूरपश्चिम एमालेमा नेतृत्वको लडाईं सुरु

कैलाली । सुदूरपश्चिमस्थित पार्टी कार्यालयमा बुधबार नेकपाको ब्यानर हटाएर एमालेको ब्यानर राख्ने कार्यक्रम तय भएको थियो । ११ बजे नेकपाको ब्यानर लिएर एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा पार्टी कार्यालयमा पुगे । तर, त्यहाँ उपस्थित प्रहरीले उनलाई भित्र छिर्न दिएन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले ‘माथिको आदेश’ भन्दै थापालाई करिब ३० मिनेट गेट बाहिरै रोके । प्रदेश अध्यक्ष थापा कार्यालय प्रवेश गर्दासम्म नेकपाको ब्यानर हटाएर एमालेको ब्यानर राखिसकिएको थियो । ब्यानर राख्ने नेपाल पक्षका कार्यकर्ता थिए ।

थापा प्रवेश गर्दा प्रदेश पार्टी कार्यालयमा अध्यक्षको कार्यकक्ष बाहिर भानुभक्त जोशी र इन्चार्जमा भीम रावलको नेमप्लेट थियो । त्यही समयमा दुवै जनाको नेमप्लेट निकालेर कर्ण थापा र लेखराज भट्टको नाम राखियो । त्यसलगत्तै नेपाल पक्षका कार्यकर्ताले लेखराज भट्टको नेमप्लेट हटाए । उनीहरूले पार्टीको प्रदेश इन्चार्ज भीम रावल रहेको दावी गरे ।

‘भीम रावल–जिन्दावाद’ भन्दै नाराबाजी गरिरहेका बेला ‘केपी ओली– जिन्दावाद’ भन्दै ओली पक्षका युवाले पनि नारा लगाउन थाले । विवाद बढेपछि दुई पक्षबीच झडप भयो । कार्यकर्ता कुटाकुट गर्न थाले । झडपपछि एमालेका प्रदेश अध्यक्ष कर्ण थापाको नेतृत्वमा फेरि अर्को ब्यानर टाँगियो ।

प्रदेशको इन्जार्ज को ?

प्रदेश अध्यक्ष थापाले एमालेको सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट भएको बताएका छन् । आफू प्रदेश अध्यक्ष रहेको र भट्ट इन्चार्ज भएको उनको भनाइ छ ।

‘यो प्रदेशको अध्यक्ष पहिलेदेखि नै आधिकारिक म थिएँ, अहिले म नै यहाँ छु’ उनले भने, ‘यहाँको इन्चार्ज लेखराज भट्ट हुनुहुन्थ्यो, हुनुहुन्छ ।’

नेकपा विभाजन हुनुअघि भीम रावल प्रदेश इन्चार्ज भए पनि अब नभएको थापाले बताए । रावललाई पार्टीको खातामा रहेको रकम हिनामिना गरेको आरोप लागेकाले रकम ब्याजसहित फिर्ता गर्नसमेत उनले आग्रह गरे ।

‘पार्टीमा विवाद हुँदा उहाँले ३० लाख रकम गायव पार्नुभएको छ’ उनले भने, ‘उहाँले सार्वजनिक माफी माग्नुपर्छ र ३० लाखको ब्याजसहित बुझाउनुपर्छ ।’

उता रावल समूहले भने प्रदेशको इन्चार्ज भीम रावल नै रहेको दावी गरेको छ ।

‘तत्कालीन अवस्थामा एमालेको प्रदेश संयोजक भीम रावल र सह–संयोजक कर्ण थापा हुनुहुन्थ्यो’ नेपाल पक्षका प्रदेशसभाका प्रमुख सचेतक तारा लामा तामाङ भन्छन्, ‘सर्वोच्चले पार्टीलाई २०७५ सालमा फर्काएको हो, त्यसैले रावल स्वतः प्रदेश संयोजक हुनुभयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर