क्यानभासमा सेलेव्रिटीको मुहार चित्र : मनीषा कोइरालादेखि महजोडीसम्म – Nepal Press

क्यानभासमा सेलेव्रिटीको मुहार चित्र : मनीषा कोइरालादेखि महजोडीसम्म

काठमाडौं- कलाकार गजेन्द्र श्रेष्ठले सामाजिक अभियन्ता र कलाकारलाई यसपटक आफ्नो क्याभासामा पोतेका छन् । उनको एक्रेलिक रङमा पीडामा पनि हाँस्न सिकाउने व्यक्तिहरुको मुहार प्रतिविम्वित भएको छ ।

उनको कलामा पोतिने एउटा अनुहार हो अनुराधा कोइराला । चेलिबेटी बेचविखनविरुद्ध सक्रिय माइती नेपालकी अध्यक्ष कोइरालाको मुहार श्रेष्ठको क्याभासामा पोतिएको छ । हरिवंशका आँखा हाँसिरहेझैँ लाग्छन् । मदनकृष्णको उमेरले दिएको चाउरीपना उमेरसँगै मुस्कुराइरहेझैँ छ ।

सेलिब्रेटीका अनेक भावभङ्गीबीच प्रविधिको आधुनिक जमानामा कुची हल्लाउँदै कलाकार डिराम पाल्पाली, कृष्णगोपाल श्रेष्ठ र आशुराम खाइजुले कागजमा दृश्य उतारेका छन् । गायन क्षेत्रका अब्बल आनी छोइङ डोल्माको मुहारले शीतल छहारी प्रदान गरिरहेको महसुस हुन्छ । कलाकार पूजा महर्जनले त्यही भावलाई दुरुस्त पारेर क्यान्भासमा सजाइन् ।

ललितकला प्रज्ञा–प्रतिष्ठानले यसपालि समाजका विशिष्ट १२ व्यक्तिको १८ मुहार चित्रलाई क्यान्भासमा उतारेको छ । त्यसमा अभिनेत्री मनिषा कोइरालादेखि चर्चित कलाकार तथा व्यवसायी सहभागी छन् । उनीहरुको मुहार, हाउभाउ र भावभङ्गीलाई चित्रकारले दुरुस्त बनाउने कोसिस गरेका छन् । चर्चा बटुलेका व्यक्तिको रङ्गीन संसारमा उस्तै रङ भर्न पाउँदा कलाकार पनि औधी खुशी देखिए ।

चित्रकारितामा कठिन विधा मानिने मुहार चित्र बनाउन कलाकारलाई चुनौती नै थियो । सधैँ हाँसोले भरिने अनुहारका चित्र बनाउने कलाकारका मनमा पनि काँसो र खुशी छचल्किरहेको पाइन्थ्यो । उनीहरुलाई कलाकारले कुचीमार्फत क्यान्भासमा प्रवेश गराउँदा कलाकार पनि मुसुमुसु हाँसिरहे । यसपालि कलाकारले बनाएका सबैका तस्वीर आफैँ बोलिरहे झैँ देखिने खालको छ ।

मुहार चित्र बनाउँदा आँखाको भावलाई ध्यान दिइन्छ । हाँस्दा आँखा पनि हाँसिरहेको हुन्छ । त्यसप्रति कलाकारको ध्यान पुगेन भने चित्र मर्ने स्वयं चित्रकारहरु स्वीकार्छन् । समाजमा चुलबुले, शान्त झगडालु, हक्की, लजालुलगायत स्वभावका मानिस हुन्छन् । त्यो मानिसको स्वभावलाई पनि चित्रकारले दिमागबाट खिचेर क्यान्भासमा रङले उस्तै बनाएर भर्नुपर्छ ।

तब मात्रै मुहार चित्र बोल्छ । सेलिब्रेटीको मुहार चित्रमा उतार्न आफूलाई चुनौती भएको अनुभव सुनाउने कलाकार डिराम पाल्पाली योग्य बन्न त्यस चित्रले अन्तरक्रिया गर्न सक्यो सकेन भनेर हेर्नुपर्ने बताउनुहुन्छ ।

कार्यक्रम संयोजक प्रतिष्ठानको चित्रकला विभागकी प्रमुख सुष्माराज राजभण्डारी पोट्रेट (मुहार चित्र)मा मानिसको क्यारेक्टर आउनुपर्ने बताउँछन् । यसपालिको मुहार चित्र कार्यशाला त्यस हिसाबले सफल रहेको उनी सुनाउँछन् ।

वस्तु, प्रकाश र छायाँसँग खेलेर कलाकारले मुहार आकृति बनाउनुपर्छ । मुहार चित्रमा एकाग्रता ठूलो कुरा हो । आर्टमा राम्रै दखल चाहिन्छ । रङ, स्केच र इफेक्टको सम्बन्धलाई जोड्न सक्नुपर्ने कलाकारको भनाइ छ ।

पश्चिमा कलाकारमा राम्रो दखल भए पनि नोपालमा मुहार चित्रको ठूलो अभ्यास भने छैन तर पनि चित्रकारले मुहार चित्र भने बनाइरहेका छन् । यसपालिको मुहार चित्र कार्यशालामा चित्रकार कृष्णगोपाल श्रेष्ठ, आलोक गुरुङ र आशुराम खाइजुले हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई क्यान्भासमा ल्याए ।

कलाकार गोपाल चित्रकार र कान्छाकाजी भासीले नायिका मनिषा कोइरालाको मुहार बनाए । कालाकार गजेन्द्र श्रेष्ठले पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, पूजा महर्जनले गायिका आनी छोइङ डोल्मा, कलाकार प्रदीप श्रेष्ठले व्यवसायी प्रदीपकुमार श्रेष्ठ, कलाकार सिर्जनराज भण्डारीले सुरेन्द्रवीर मालाकार, कलाकार बुद्धि गुरुङले प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, कृष्णप्रसाद शाहले पृथ्वीबहादुर पाण्डे, रोशन प्रधानले भद्रकुमारी घले र किशोर नकर्मीले अम्बिका श्रेष्ठको मुहारलाई क्यान्भासमा उतारे ।

यही फागुन दोस्रो र तेस्रो हप्तामा बनेका विशिष्ट व्यक्तिका १८ मुहार चित्रलाई छिट्टै प्रदर्शनी गरिने तयारी गरिएको छ । चित्र बिक्रीबाट आएको आम्दानीको केही प्रतिशत विपन्न क्षेत्रको स्कूललाई सहयोग गर्ने रहेको प्रतिष्ठानको चित्रकला विभाग प्रमुख राज भण्डारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *