नवीन्द्रराज जोशीको अवस्था बिग्रिएपछि पुनः भेन्टिलेटरमा – Nepal Press

नवीन्द्रराज जोशीको अवस्था बिग्रिएपछि पुनः भेन्टिलेटरमा

काठमाडौं । मष्तिष्कघात भई २०७७ फागुन १४ गते शुक्रबार थापाथलीस्थित यस नर्भिक अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा अचानक समस्या आएपछि पुनः भेन्टिलेटरमा राखिएको छ ।

नर्भिक अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य अवस्थामा सुरुवातका केही दिनमा राम्रो सुधार भए पनि शनिबार बिहानदेखि एक्कासी समस्या आएको हो ।

शनिबार बिहानदेखि उनको श्वासप्रश्वास र मुटुको चालमा एक्कासी गडबडी भएपछि अस्पतालले पुनः भेन्टिलेटरमा राखेर उपचार जारी राखेको छ । भेन्टिलेटरको सपोर्टमा भए पनि अहिले उनको रक्तचाप सामान्य छ भने प्रति मिनेट उनी आफैंले ८–१० पटक सास फेरिरहेको छ ।

‘आँखाका नानीहरुको प्रतिक्रिया पनि सामान्य नै छ, तर उहाँ अझै कोमामै हुनुहुन्छ ।’ उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले भने ।मष्तिष्कघात हुँदा रक्तश्राव भई उनको टाउकोमा रगत जमेको थियो । यस्ता बिरामीहरुमा उपचारको क्रममा पुनः समस्या आउनु स्वभाविक परिणाम रहेको उनको भनाई छ ।

आज दिउँसो ३ बजेसम्मको उनको स्वास्थ्य अवस्था स्थिर, तर जोखिमपूर्ण नै देखिएको छ ।यसअघि गत सोमबार बिहानबाट आफैंले सास फेर्न थालेपछि भेन्टिलेटरको फूल सपोर्ट हटाई भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको थियो ।

बेहोस् अवस्थामा भेन्टिलेटरमा रहेको बिरामीलाई श्वासप्रश्वासमा सहजता होस् भनेर केही दिनअघि नेता जोशीको घाँटीमा सानो प्वाल पार्ने सर्जरी(ट्रयाकियोसटोमी) समेत गरिएको थियो । ‘उहाँको स्वास्थ्य अवस्थामा तीव्र सुधार आउने हामीले अपेक्षा गरेका छौं ।’ डा. झाले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर