८ मार्चको कर्मकाण्डबाट माथि उठौं – Nepal Press

८ मार्चको कर्मकाण्डबाट माथि उठौं

नारी दिवसको नारा के राख्ने ? हरेक वर्ष बहस हुने गर्छन् । बहस त नारामा होइन हाम्रो आफ्नै पारा कस्तो हुने भन्नेमा हुनुपर्ने हो । हामी सबै खाले हिंसा, विभेद र असमानता विरुद्ध कानून मात्र बनाउँछौं कि व्यावहारिक कार्यान्वयनमा जान्छौं ? अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बहसको विषय यो हुनुपर्छ ।

समान कामको समान ज्याला, मतदानमा महिलाको अधिकार जस्ता कुराहरू इतिहासमा नारी संघर्षका उपज थिए । दक्षिणएशियामा नेपाल महिला सहभागिताको सन्दर्भमा उदाहरणीय नमूना बनेको छ तर अझै पनि हामी नारी अधिकारका कुरा गर्नुपर्दा मार्च ८ नै कुर्छौं किन ?

संविधानले नै राज्यका सबै तहमा ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ । तर स्थानीय सरकारमा महिलालाई संविधानको पालना गर्नुपर्ने बाध्यता पालना गर्दै ‘उप’मा चुप लगाइएको छ । हामीले महिलालाई ‘उप’ होइन प्रमुख पदमै अनिवार्य उम्मेदवारीको प्रतिशत नै छुट्याउने गरी कानून संशोधनको आवाज उठाउन कुनै एक दिन वा दिवस पर्खिनु पर्दैन ।

इतिहास हेर्ने हो भने नारी दिवस एउटा आन्दोलनको निरन्तरता हो । १०० वर्षअघिको र आजको विश्वमा कति परिवर्तन आइसकेको छ । त्यसैले हामीले ढर्रा किन नफेर्ने ?

१८औं शताब्दीमा राजनैतिक रूपमा मजदूर आन्दोलनको शुरुआत भयो । फ्रान्सको राज्य क्रान्ति, बेलायतको औद्योगिक क्रान्तिको प्रभाव सारा युरोपमा फैलिरहेको थियो । पूँजीपतिहरूले मजदूर माथि अनगिन्ती शोषण गर्न थालेपछि युरोपभरि मजदूर आन्दोलन भएका थिए ।

यसैगरी न्यूयोर्क शहरमा हजारौं महिला–श्रमिक जम्मा भएर ८ मार्च, १८५७ मा आफ्नो काम गर्ने ठाउँको अमानवीय परिवेश विरुद्ध प्रतिवाद गरे । २८ फेब्रुअरी, १९०९ मा सम्पूर्ण अमेरिकामा पहिलो पटक ‘राष्ट्रिय नारी दिवस’ मनाइयो । सन् १९१० मा डेनमार्कको कोपनहेगनमा १७ देशका १०० महिला प्रतिनिधिले ‘अन्तर्राष्ट्रिय नारी दिवस’ को प्रस्तावलाई समर्थन गरे ।

यसै दिन, २० लाख रूसी महिलाहरूले विभिन्न खाले अन्यायको विरुद्धमा सभाको आयोजना गर्दै बालश्रम बन्द गरियोस्, काम गर्ने अधिकार, काम गर्ने ठाउँमा पुरुष–महिला बीचमा विद्यमान विभेद हटाउने, खाद्यान्न, विश्वयुद्ध विरुद्ध आवाज उठाउँदै शान्तिको माग गर्दै आफ्नो असहनीय गरिबी विरुद्ध, मताधिकार दिइयोस्, राजनीति गर्ने अधिकार दिइयोस् जस्ता मागहरू अगाडि सारेका थिए । ८ मार्च, १९७५ मा राष्ट्र समूहले यस दिनलाई ‘अन्तर्राष्ट्रिय नारी दिवस’ घोषणा गरे ।

समाज विकासको निमित्त विभिन्न उत्प्रेरक शक्तिहरूको आवश्यकता पर्दछ । महिलाहरूले अगाडि सारेको माग राजनीति गर्ने अधिकारले अहिलेको समयमा ठूलो बहस निर्माण गरेको पाइन्छ । समाजमा हुने विकास र परिवर्तनको मुख्य कारण समाजमा विद्यमान अन्तरविरोध हो, त्यो वर्गसंघर्षको रूपमा अभिव्यक्त हुन्छ । विकासको निमित्त महिलाहरूको राजनीतिमा उल्लेखनीय उपस्थिति हुन जरूरी छ ।

कुनै पनि संगठनमा आवद्ध भइसकेपछि चुनौती तथा तिनका उपलब्धि पनि निश्चित रूपले बाँधिएर आउँछन् र त्यहाँ एउटा सशक्त र प्रभावशाली नेतृत्वको आवश्यकता पर्दछ । हामीलाई थाहा छ नेता जन्मिन्छन्, महिलाहरूलाई पनि सफल नेता बनाउन सकिन्छ । सबैजसो व्यक्तिहरू विकासपरक नै मान्न सकिन्छ र विभिन्न गतिविधिद्वारा असल नेता बनाउन सकिन्छ ।

८ मार्चका दिन विभिन्न देशको सभाहरूमा लामा–लामा भाषण दिइन्छन् । देश–देशमा विभिन्न तरिकाले रमझम गरिन्छ । नेपालमा पनि सोही किसिमको संस्कृतिको संख्या बढ्दो छ । तीजको नाममा, अरू विभिन्न धार्मिक चाडपर्वमा, नारी दिवसलगायतका दिनहरूमा केही सभाहरू गठन गरिन्छ, रमाइलो गर्ने सोचले महिलाहरू शृंगारपटार गर्छन्, खान्छन्–पिउँछन्, गीत गाउँछन्, दुःख–सुखको कुरा गरेर दिन बिताउँछन् र मार्च ८ जस्ता दिवस हरेक दिन मनाइएको घोषणा गर्दछन् ।

त्यस दिन अरू पनि धेरै कुरा हुन्छन् । बालिका शिशुको हत्या हुन्छ, बलात्कार हुन्छ, निर्मम तरिकाले घरेलु हिंसामा परेका हुन्छन्, एसिड पीडित हुनसक्छन्, वेश्यालयमा बेचिन सक्छन्, छोरी नजन्मियोस् भनेर भ्रूणहत्या पनि हुन्छ । यी धेरै कुराको जानकारी धेरैलाई हुँदैन ।
३६५ दिनमा हामीले यही एक दिन कुरेर बस्नुपर्ने आवश्यकता नै छ जस्तो लाग्दैन । हिजोको दिनमा हाम्रो पुर्खाले लडेर पाइएको हकअधिकारलाई हामीले असल र सफल हुनको निमित्त आफूमा राम्रा गुणको विकास गर्नुपर्ने हुन्छ ।

राजनीति गर्ने अधिकारको मागसँगै महिलामा एक सफल नेता बन्नको निमित्त अनेकौं गुणको सन्तुलित संयोग हुन आवश्यक छ । आफूमा रहेको भित्री गुण, संगठनात्मक परिवर्तनको नेतृत्व, चरित्र, व्यक्तिगत क्षमता, परिणाममाथि ध्यानकेन्द्रित गर्नु आवश्यक छ । आफ्नो अधिकारमाथि गर्व नगर्नुहोस्, घमण्डी नबन्नुहोस्, विनम्रताले नै तपाईंलाई सबै खालको सफलतामा पुर्‍याउने काम गर्छ ।

आफ्नो आलोचना सहन सक्ने प्रवृत्तिको विकास नभइकन जुनसुकै कार्य समूहमाथि तपाईंले आफ्नो प्रभाव पार्न सक्नुहुन्न । आफ्नो क्षमतालाई बढाउँदै महिला दिदीबहिनीहरूले एकआपसमा एकता जुटाउँदै विभिन्न समस्या, विकृतिलाई निर्मल गर्दै ३६५ दिन नै नारी दिवस बनाउन जरूरी छ । त्यसैले ८ मार्चको कर्मकाण्डबाट माथि उठौं ।

आफ्नो आलोचना सहन सक्ने प्रवृत्तिको विकास नभइकन जुनसुकै कार्य समूहमाथि तपाईंले आफ्नो प्रभाव पार्न सक्नुहुन्न । आफ्नो क्षमतालाई बढाउँदै महिला दिदीबहिनीहरूले एकआपसमा एकता जुटाउँदै विभिन्न समस्या, विकृतिलाई निर्मल गर्दै ३६५ दिन नै नारी दिवस बनाउन जरूरी छ । त्यसैले ८ मार्चको कर्मकाण्डबाट माथि उठौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर