निजी वन हुर्काउँदा अब कसैले दुःख पाउँदैन: वनमन्त्री आले – Nepal Press

निजी वन हुर्काउँदा अब कसैले दुःख पाउँदैन: वनमन्त्री आले

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले निजी वन सम्बन्धी कानुनलाई सरलीकृत गर्दै किसानमैत्री बनाउने बताएका छन् ।

सोमबार पारिवारिक नीजि वन संघ, नेपालको सातौँ स्थापना दिवसको अवसरमा बोल्दै वनमन्त्री आलेले निजी वनसँग सम्बन्धीत कानुनी उल्झनका कारण किसानहरुले दुःख पाएको भन्दै निजी वन पैदावारको काठ कटान, ओसार पसार, विक्रि वितरण र उपयोग सम्बन्धी कानुनलाई सरलीकृत गर्दै किसानमैत्री बनाउने बताएका हुन् ।

आगामी आर्थिक वर्षमा निजी वनको प्रबर्धनका लागि विशेष कार्यक्रम ल्याउने पनि उनको भनाई छ । निजी वन उद्यमीहरुलाई सहुलियतपूर्ण ऋणका लागि पनि आवश्यक कदम चालिने उनले बताए ।

उनले भने,‘निजी वन पैदावारको काठ कटान, ओसार पसार, विक्रि वितरण तथा उपयोग सम्बन्धीको कानुन व्यवस्थापनलाई थप सरलीकृत गर्दै किसान मैत्री बनाउन म पहलकदमी लिनेछु । आगामी दिनमा निजी वन हुर्काउँदा कसैले दुःख नपाउने गरी कानुनी प्रक्रियाहरुलाई व्यवहारिक बनाइने छ ।’

सिचाइँ नहुने जग्गामा माटो परिक्षण गरी जडिबुटी उत्पादनको लागि बजेट व्यवस्थापन गरेको उनको भनाई छ । जडिबुटी राज्यले निशुल्क उपलब्ध गराउने पनि उनले बताए ।

उनले भने,‘वन तथा वातावरण मन्त्रालयले हरेक किसानको नीजि जग्गामा रहेको जग्गा जहाँ सिचाइँ, खानेपानीको व्यवस्था छैन त्यस्तो क्षेत्रलाई त्यहाँको माटो परिक्षण गरेर कुन प्रजातिको जडिबुटी उत्पादन हुन्छ भन्ने सवालमा अहिले बजेटको व्यवस्थापन हामिले मिलाएका छौँ । र ति ठाउँमा राज्यले निशुल्क जडीबुटी व्यवस्था गर्नेछ भन्ने हामीले गृहकार्य अगाडी बढाएका छौँ ।’

मन्त्री आलेले हाल बन्दै गरेको वन नियमावलीमा पारिवारिक निजी वनलाई प्राथमिकताका साथ राख्ने प्रतिवद्दता पनि व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर