सर्वोच्चले मुद्दा हराउँदा ओली पंक्तिमा हर्षोल्लास ! – Nepal Press

सर्वोच्चले मुद्दा हराउँदा ओली पंक्तिमा हर्षोल्लास !

बधाई साटासाटदेखि दिपावलीसम्म

काठमाडौं । यस्तो विरलै देख्न पाइन्छ– जब तपाईं मुद्दा हार्दा खुशीले गद्गद् बन्नुहुन्छ । अहिले सर्वोच्चद्वारा पुनर्स्थापित नेकपा एमालेका ओलीनिकट पंक्तिमा यस्तै रोचक माहोल देखिएको छ ।

सर्वोच्च अदालतको फैसलाले प्राविधिकरुपमा केपी ओलीलाई हराएको हो । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताका लागि ओली र प्रचण्डबीच निर्वाचन आयोगमा लडाईं चलिरहेको थियो । तर, सर्वोच्चले तेस्रो व्यक्ति ऋषि कट्टेलको संगठनलाई वैधानिक नेकपा मान्यो ।

यसको अर्थ ओली र प्रचण्ड दुवैको हार भयो ।

ओली नेकपाका पहिलो अध्यक्ष थिए । तसर्थ, यो हारले सबैभन्दा ठूलो धक्का उनलाई लाग्नुपर्थ्याे । नेकपाको आधिकारिकता गुमाउँदा उनी स्तब्ध बन्नुपर्थ्याे । तर, प्राविधिकरुपमा हारे पनि फैसलाले उनलाई मानसिकरुपमा राहत दिएको छ । त्यसैले उनी ठीक खुशी मूडमा छन् । भलै उनले आफ्नो खुशी लुकाउने प्रयत्न गर्लान् ।

ओलीले खुशी नदेखाइहाले पनि उनी निकट नेता-कार्यकर्ताले चाहिं लुकाएका छैनन् । हिजो सर्वोच्चको फैसला आएपछि उनीहरु आपसमा बधाई र शुभकामना साटासाट गरिरहेका देखिन्थे । यति मात्रै होइन, विभिन्न ठाउँमा कार्यकर्ताले दिपावलीसमेत गरेका थिए ।

ओलीनिकट नेता विष्णु पौडेल आफू नेकपाको महासचिवबाट झरेर एमालेकाे उपमहासचिव बनेको भन्दै यसलाई खुशीसाथ स्वीकारेका छन् ।

महेश बस्नेतले गर्वसाथ आफूलाई नेकपा एमालेको सांसद भन्दै संसदभित्रको तस्वीर पोष्ट गरे । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्चको फैसला सेयर गर्दै लेखेका छन्- सबै खुशी देखिन्छन् त ।

फैसलापछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले हिजै संसदीय दलको बैठक बोलाए । हिजोको बैठकमा उनले विघटित नेकपाका सांसदहरुलाई पनि डाकेका थिए । तर, बैठकमा सम्बाेधन गर्ने क्रममा उनले अब एमालेको बैठक बोलाउने र त्यसमा माओवादीबाट आउन चाहनेहरुलाई पनि समावेश गराउने बताएका छन् ।

आफूसँग रहेका केही पूर्वमाओवादी नेताहरुलाई समेट्न उनले यो रणनीति लिएका हुन् ।

ओली निकट पंक्ति फैसलाबाट खुशी हुनुका विभिन्न कारण छन् । मुख्य कारण त एमाले र माओवादी केन्द्रको एकता भावनात्मक हुनसकेको थिएन । पछिल्लो समयमा पार्टीभित्रको निरन्तर किचलोले बरु पूर्व एमाले ब्युँतिए हुन्थ्यो भन्ने चाहना ओलीनिकट नेता-कार्यकर्ताको थियो ।

तर, आफूसँग केही पूर्वमाओवादी नेताहरु पनि रहेको र उनीहरुको उपस्थिति अर्थपूर्ण हुने भएकाले ओलीले पार्टी विभाजनपछि पनि एमाले ब्युँताउने निर्णय लिन सकेका थिएनन् । सर्वोच्चको फैसलाले उनका लागि ‘सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने’ सुखद अनुकूलता सिर्जना गरेको छ ।

साथै, ओली सरकार पनि संकटको अवस्थामा थियो । नेकपाको इतरसमूहले कांग्रेससँग मिलेर अविश्वास प्रस्ताव ल्याउँदा सरकार ढल्ने निश्चितप्राय थियो । सर्वोच्चको फैसलासँगै ओलीलाई लाइफलाइन प्राप्त भएको छ । अब उनले सरकार जोगाउन नयाँ रणनीति बुन्न सक्नेछन् ।

माधव नेपाल पंक्तिमा निराशा

ओली पंक्तिको ठीक उल्टो माहोल पुनर्स्थापित नेकपा एमालेकै माधव नेपाल खेमामा देखिएको छ । सो समूहका नेता-कार्यकर्ता अन्यमनस्क अवस्थामा छन् ।

माधव नेपाल सबैभन्दा निराश र आक्रोशित देखिएका छन् । यसअघि सर्वोच्चले संसद पुनर्स्थापनाको फैसला गर्दा उनी र प्रचण्डले एक-अर्कालाई लड्डु खुवाएर खुशी साटेका थिए । सर्वोच्च अदालत र न्यायाधीशहरुको प्रशंसा गरेका थिए ।

तर, अहिले आफ्नो लागि प्रतिकूल फैसला आएपछि उनी अदालतविरुद्ध धावा बोल्न थालेका छन् । अदालतका फैसला कार्यान्वयन हुन नसक्ने चेतावनी दिएका छन् । यो विरोधाभास व्यवहारले माधव नेपाललाई आलोचित बनाएको छ ।

नेपाल निकट नेताहरुमध्ये कतिपयले सर्वोच्चको फैसलालाई सकारात्मकरुपमा पनि ग्रहण गरेको देखिएको छ । केही नेताहरु पूर्वएमाले ब्युँतिएकोमा दुखी नरहेको बुझिन्छ ।

हिजो संसद बैठक नेपाल पक्षका सबै संसदले बहिष्कार गरे पनि आगामी दिनमा नेपालनिकट केही सांसदहरुले स्ट्यान्ड बदल्न सक्ने अनुमान ओली पक्षले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर