प्रचण्ड दलको नेता चुनिएको समाचार सरकारी मुखपत्रमा देख्दा प्रधानमन्त्री अचम्मित – Nepal Press

प्रचण्ड दलको नेता चुनिएको समाचार सरकारी मुखपत्रमा देख्दा प्रधानमन्त्री अचम्मित

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सरकारी मुखपत्र ‘राइजिङ नेपाल’मा आएको एउटा समाचारप्रति आश्चर्य व्यक्त गरेका छन् ।

शनिबार बसेको ओलीपक्षीय नेकपाको संसदीय दल बैठकलाई बालुवाटारमा सम्बोधन गर्ने क्रममा ओलीले राइजिङ नेपालमा छापिएको समाचारको प्रसंग उप्काएका हुन् ।

बैठकमा सहभागी राष्ट्रियसभा सदस्य कोमल वलीका अनुसार अर्का पक्षका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ दलको नेतामा चुनिएको भनेर राइजिङ नेपालले पहिलो पेजमा समाचार छापेकोमा ओलीले असन्तुष्टि जनाएका थिए ।

प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सांसद वलीले भनिन्, ‘आज राइजिङ नेपालको फ्रन्ट पेजमा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलका नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनिएको समाचार देख्दा मलाई आश्चर्य लाग्यो । झूटो, भ्रामक, हुनै नसक्ने कुरा कसरी राइजिङ नेपालको फ्रन्ट पेजमा छापियो ?’

प्रचण्ड संसदीय दलको नेता चयन भएको खबरलाई अंग्रेजी अखबार राइजिङ नेपालले पहिलो पृष्ठमा छापेको छ भने गोरखापत्रले दोस्रो पृष्ठमा छापेको छ ।

ओलीले अरु के भने ?
मेलम्चीको पानी सुन्दरीजलमा आउने कार्यक्रमको अवलोकन गर्न जाने हतारोका कारण ओलीले बैठकलाई संक्षिप्त सम्बोधन गरेका थिए ।

प्रमुख सचेतक विशाल भट्टराईले बैठकको ‘फ्लोर ओपन’ गरेपछि ओलीले सम्बोधन गरेका थिए । यसअघि प्रायः लामो सम्बाेधन गर्ने ओली आजको बैठकमा भने करिब ४० मिनेटजति मात्रै बोले ।

आइतबार शुरू हुने प्रतिनिधिसभा बैठकलाई प्रभावकारी बनाउन प्रमुख सचेतक र सचेतकले भनेका कुरालाई ध्यान दिएर पालन गर्न ओलीले सांसदलाई निर्देशन दिएका थिए । प्रमुख सचेतकले भनेअनुसार सबैको ‘सिटिङ एरेजमेन्ट’ हुने उनले बताए ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि त्यो पालना गर्नुपर्ने बाध्यता भए पनि आफूहरु कमजोर नभएको ओलीको भनाइ थियो ।

‘हामीले गरिरहेको संसदीय अभ्यास बलियो बनाउन, लोकतन्त्र, देशको समृद्धि र नेपाली जनताको सुखलाई नै ध्यानमा राखेर हामीले संसद विघटन गरेका थियौं’ बैठकमा ओलीले भने, ‘सर्वोच्च अदालतले गर्नै नहुने थियो, पुनर्स्थापना गर्याे । अब हामीले यसको सामना गर्नुपर्छ । भोलि हाम्रो उपस्थिति बलियो रहन्छ । हामी कमजोर छैनौं । त्यसैले साथीहरू सबै ढुक्क भएर, समयमा उपस्थित हुनुहोला र राम्रो प्रस्तुतीकरण राख्नुहोला ।’

प्रधानमन्त्रीले आफूविरुद्ध दर्ता हुने सक्ने अविश्वास प्रस्तावबारे भने केही बोलेनन् । बैठकमा प्रमुख सचेतक भट्टराईले ११५ जना सांसद उपस्थित भएको जानकारी दिएका थिए । प्रधानमन्त्री ओलीले त्यो संख्या पनि बढ्ने बैठकमा दाबी गरेका थिए ।

‘प्रधानमन्त्रीले भोलि यो संख्या बढ्ने बताउनुभएको छ’ वलीले भनिन्, ‘अन्य सांसद पनि आउने संकेत उहाँले गर्नुभएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर