मेलम्चीको पानी सुन्दरीजलमा : दुई दशकदेखिको प्रयास टुंगोतिर – Nepal Press

मेलम्चीको पानी सुन्दरीजलमा : दुई दशकदेखिको प्रयास टुंगोतिर

काठमाडौं। बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी पहिलोपटक आज सुन्दरीजलमा खसेको छ । अब काठमाडौंवासीले चाँडै मेलम्चीको पानी पिउन पाउने छन् ।

गत फागुन १० गते परीक्षणका लागि सुरुङमा हालिएको पानी आज सुन्दरीजल आइपुगेको हो । सुन्दरीजलमा रहेका दुईवटा पानी प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिनेछ ।

यसअघि गत असार २९ गते पनि सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो, जुन सफल भएन । हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट फुटेर पानी बाहिर निस्कियो । सो दुर्घटनामा आयोजनाका एक इन्जिनीयर र चालकको बेपत्ता भएका थिए ।

त्यसपछि चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरी मर्मत गरिएको थियो । पुनः सुरुङ परीक्षण गरिएको हो ।

दुई दशकको प्रयास
काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन सरकारले लामो समयदेखि विभिन्न प्रयास गर्दै आएको थियो । २०२९ सालदेखि खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरूको पहिचान गर्न अध्ययन अघि बढाइएकोमा २०४१ सालमा भएको अध्ययनले मेलम्चीलगायत विभिन्न २२ वटा विकल्पहरू पहिचान गर्यो ।

त्यसपछि २०४९ सालको अर्को अध्ययनले आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्प मेलम्ची, याङ्ग्री र लार्केलाई छान्यो । त्यहाँबाट दैनिक कुल ५१ करोड लिटर पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न सकिने अध्ययनको निष्कर्ष थियो ।

सोही अनुसार नेपाल सरकारले चरणबद्ध रूपमा मेलम्ची, याङ्ग्र्री र लार्केको पानी काठमाडौंमा ल्याउने योजना कार्यान्वयनका लागि २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम थाल्यो ।

आयोजनाले प्रथम चरणमा सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरेको छ । हेडवक्र्सको निर्माण कार्य अन्तिम चरणमा छ । हाललाई हेडवक्र्स स्थलभन्दा १०० मिटर माथि निर्माण गरिएको अस्थायी बाँधबाट डाइभर्सन टनेल हुँदै सुरुङमार्गमा पानी प्रवाह गरिएको छ ।

अहिलेको अन्तरिम व्यवस्थाअन्तर्गत पूर्णरूपमा पानी प्रवाह भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौंमा उपलब्ध हुनेछ । त्यसले उपत्यकाको खानेपानी समस्या निवारणमा महत्वपूर्ण सहयोग पुग्ने समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर