‘नेफ्टा अवार्डले कोरोनाले थलिएको नेपाली फिल्मलाई लयमा ल्याउँछ’ – Nepal Press
नेपाल टक

‘नेफ्टा अवार्डले कोरोनाले थलिएको नेपाली फिल्मलाई लयमा ल्याउँछ’

काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)को आयोजनामा १४ वर्षदेखि फिल्म अवार्ड आयोजना हुँदै आइरहेको छ । सधैंजसो विदेशमा आयोजना हुने अवार्डको १०औं संस्करण चाहिं कोभिड-१९ महामारीको कारण यसपटक स्वदेशमा हुँदैछ । फागुन २९ गते काठमाडौंमा अवार्ड आयोजना हुनेछ ।

कोभिड महामारी र लकडाउनबाट प्रभावित नेपाली फिल्म क्षेत्र र सबैभन्दा बढी प्रभावित प्राविधिकको पुनरुत्थानमा अवार्ड महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । लकडाउनपछि पहिलोपटक नेपाली फिल्मको बृहत् अवार्ड कार्यक्रम हुन लागेको हो । नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा योगदान दिएको नेफ्टा फिल्म अवार्ड स्वदेशमा हुनुले कस्तो अर्थ राख्छ ? यी विविध विषयमा नेफ्टा अध्यक्ष पुष्कर लामाले नेपाल प्रेससँग कुरा गरेका छन् । प्रस्तुत छ उनीसँगको संवाद :

कोभिडको जोखिम कायमै रहेको बेला कसरी यो बृहत् अवार्ड समारोह आयोजना गर्दै हुनुहुन्छ ?

नेफ्टाको पनि आफ्नै टीम छ । आयोजक ड्रिम हाइ नेपालले पनि साथ दिएको छ हामीलाई । कोभिडले थिलोथिलो बनाएर राखेको चलचित्र क्षेत्रलाई लयमा ल्याउन हामीले आँट गरेका छौं । यो समयमा फिल्मलाई चलायमान बनाउनको लागि नेफ्टा फिल्म अवार्ड गर्न लागेका हौं । यसले फिल्मलाई योगदान दिनेछ । सामाजिक मापदण्डलाई पालना गर्दै नेफ्टा अवार्डलाई अगाडि बढाएका छौं । अहिले बृहतरुपमा अवार्ड सम्पन्न गर्न तयारी भैरहेको छ ।

अस्कर, गोल्डेन ग्लोब्सजस्ता विश्व चर्चित अवार्ड भर्चुअल माध्यमबाट भैरहेको बेला किन भौतिक उपस्थितिमा अवार्ड गर्न लाग्नुभएको हो ?

भर्चुअलरुपमा गर्दा सोचेको जस्तो अवार्डलाई माइलेज आउँदैन । लाइभ गरेर अवार्ड आयोजना गर्नुको छुट्टै मजा र आनन्द छ । भौतिकरुपमा गर्दा प्रत्यक्ष अन्तरक्रिया गर्ने मौका मिल्छ । यसकारणले भर्चुअल नभएर लाइभरुपमै गर्न लागेका हौं ।

महामारीले सबैभन्दा प्रभावित फिल्म प्राविधिक भए । यसो भैरहँदा अवार्ड आयोजना गर्न कसरी पूँजी व्यवस्थापन गर्नुभएको छ ?

धेरै चुनौती छ । त्यसको बाबजूद पनि त्यसलाई मूर्तरुप दिन हाम्रो टीम अहोरात्र खटेर तयारी गरिरहेको छ । यसलाई सबैले बुझ्नु जरुरी छ । अहिले कोभिडको कारण केही हल बन्द हुने अवस्थामा छन् । हल बन्द हुँदा प्राविधिकलाई झनै समस्या पर्छ । यसलाई रोक्न हामी सबै चलचित्रकर्मी एक भएर चलचित्र क्षेत्रलाई टेवा पुग्ने खालको कार्यक्रम र संरचनालाई एकद्वार प्रणालीबाट गर्न सके राम्रो हुन्छ । विगतमा अवार्ड गर्दा जुन हिसाबको रौनक र सहभागिता थियो, त्यो चीज यसपालि देखिएको छैन ।

हामीले यसपटक अघिल्लो पटकभन्दा बढी उपस्थिति हुने आशा गरेका थियौं । सबैको साथ र सहभागिताको आशा गरेका थियौं । तर, त्यो चीज हामीले न्यून पायौं । यसमा हामी एकदमै दुःखी छौं । यसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा चलचित्र क्षेत्रमा कर्म गरिरहेका मानिसलाई अप्ठ्यारो हुनसक्छ । चलचित्र प्राविधिक संघले इमानदारीपूर्वक स्वार्थलाई पर राखेर, दायित्वलाई पूरा गरिरहेका छौं । यो चीजमा हामीले उहाँहरुलाई आह्वान गरेका छौं । त्यो समयसम्म नेफ्टाका लागि हामीलाई साथ मिल्छ भन्ने आशा छ ।

नेफ्टाको प्राथमिकता कोभिडबाट प्रभावित आफ्ना सदस्यलाई राहत दिनु हो । अवार्डले कसरी नेपाली फिल्मलाई पुनरुत्थान दिलाउन सक्छ ? अवार्डको भूमिका के हुन्छ ?

अवार्डले प्रत्यक्षरुपमा नेपाली फिल्मलाई टेवा पुग्ने भएरै हामीले कहीं पनि कन्जुस्याइँ नगरिकन यसलाई अनवरत रुपमा लागेर कार्यक्रम सफल बनाउन लागिरहेका छौं । साथै श्रमजीवी चलचित्रकर्मीले साथ दिए कार्यक्रम सफल हुनसक्छ ।

बेरोजगार भएर बसेका चलचित्रकर्मीलाई प्रत्यक्ष फाइदा पुग्न सक्छ । कोरोनाले थलिएको नेपाली फिल्म क्षेत्रलाई रिकभर गर्न अवार्डले मद्दत पुर्‍याउँछ भन्ने मलाई विश्वास छ । यदि यस्तो खालको कार्यक्रम असफल भए भने भविष्यमा बेरोजगारीको परिस्थिति अझै बढ्न सक्छ । त्यो परिस्थितिलाई रोक्नका लागि आउनुस्, चलचित्र क्षेत्रलाई चलायमान बनाऔं । विगतको भन्दा अझ समृद्ध भएर अघि बढे चलचित्र क्षेत्र राम्रो बन्न सक्छ ।

विदेशमा अवार्ड गर्दा र स्वदेशमा गर्दाका सजिलो र कठिनाइ के-के हुँदोरहेछ ?

विदेशमा अवार्ड गर्दा एक किसिमको ठूलो चुनौती छ र खर्च पनि एकदम ठूलो आउँछ । नेपालमा गर्दा खर्च कम हुन्छ तर हाम्रो अवार्डको क्यानभास ठूलै हुने भएकाले खर्च धेरै नै हुन्छ । विदेशमा अवार्ड गर्दा भिजा, प्रोटोकल मेन्टेन गर्न गाह्रो थियो । नेफ्टा अवार्ड गर्नुको मुख्य उद्देश्य भनेको नेपाली चलचित्रलाई प्रवर्धन र प्रोत्साहन गर्नु नै हो ।

विदेशमा गर्दा विदेशी बजारको खोजी र अन्तर्राष्ट्रियकरण गर्नु पनि हो । यही क्रममा हामीले २०१३ मा मलेसियामा गरेका थियौं । त्यसपछि हङकङ, कतार र दुबईमा गरेका छौं । दुबई अवार्डमा राजकुमार स्वयम् आएर हामीलाई त्यहाँको सरकारले पनि सहयोग गरेको थियो । त्यो समयको आयोजकलाई पुनः म सम्झन चाहन्छु र भित्री मनदेखि नै धन्यवाद दिन चाहन्छु । किनभने त्यो लेभलको अवार्ड न त विगतमा थियो न त भविष्यमा नै हुन्छ । अहिलेसम्म त्यस्तो खालको परिदृश्य देखेको छैन ।

हामीले नेपाल भ्रमण वर्षलाई सहयोग गर्नको लागि टुँडिखेलमा अवार्ड गर्ने योजना बनाएका थियौं तर कोभिड लकडाउनले गर्दा त्यो स्थगित भयो । त्यसको बाबजूद पनि हामी चिन्तित थियौं । यो चीजलाई कसरी सफल बनाउने भन्ने कुरामा त्यसपछि हामी लाग्यौं । विस्तारै लकडाउन खुकुलो बनेपछि हामीले अवार्ड गर्न आँट गरेका हौं । करिब ९० प्रतिशत तयारी पूरा भएको छ ।

अवार्डलाई निष्पक्ष र मर्यादित तुल्याउन कसरी व्यवस्थापन मिलाउनुभएको छ ?

हामीले आफ्नो पक्षबाट निर्णायक राखेका हुन्छौं । उनीहरुलाई हामीले हस्तक्षेप नगरिकन स्वतन्त्रतापूर्वक जिम्मा लगाएका हुन्छौं । सही वा गलत निर्णय जे आए पनि तपाईंको जिम्मा हो भनेर हामीले उहाँहरुलाई जिम्मा दिएका हुन्छौं । पक्कै पनि निष्पक्ष हिसाबमै यसको नतिजा आउँछ । अर्को कुरा, अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि सबैको उद्देश्य विवादरहित ढंगले अवार्ड गरौं भन्ने हुन्छ । हामीले पनि त्यसलाई निरन्तरता दिनेछौं ।

यसपटकको अवार्डका आकर्षण र विशेषता के हुन्छन् ?

यसपटक हामीले लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान र प्राविधिकलाई सम्मान गर्नेछौं । अहिलेसम्म जीवित रहेका प्रकाश व्यवस्थापक (लाइटमेन) जसले चार दशकदेखि काम गर्दै आउनुभएको छ । ध्वनि र लाइट विधाका साथीहरुलाई सम्मान गर्दैछौं । अन्य सम्मान पनि हुन्छन् । धेरै आकर्षणका पक्ष छन् यसपटकको अवार्डमा ।

कोभिडबाट सबैभन्दा बढी प्रभावित क्षेत्र भनेकै चलचित्र क्षेत्र हो । त्यो क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोण साँघुरो हो कि जस्तो लाग्छ ।

कोभिडबाट प्रभावित प्राविधिकलाई राहत प्रदान गर्न नेफ्टाले कस्तो खालको भूमिका खेलिरहेको छ ?

पछिल्लो समय स्थिति केही सहज बनेको छ । उहाँहरु पनि सहज ढंगले काम गरिराख्नुभएको छ । उहाँहरुले आफ्नो दैनिक जीवन चलाउनुभएको छ । पहिलेको अनुपातमा रिकभर भैसकेको छैन । यदि हामी एकताबद्ध भएर राम्रो काम गर्ने अनि हल बन्द नहुने हो भने पहिलेकै स्थितिमा आउन समय लाग्दैन भन्ने लाग्छ मलाई । कोभिडबाट सबैभन्दा बढी प्रभावित क्षेत्र भनेकै चलचित्र क्षेत्र हो । त्यो क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोण साँघुरो हो कि जस्तो लाग्छ । चलचित्र क्षेत्रलाई उहाँहरुले अर्कै ग्रहबाट आएको क्षेत्रको रुपमा लिएको जस्तो लागेको छ । उहाँहरुले फिल्मलाई प्राथमिकतामा राखेको भए अहिले हल बन्द हुने स्थिति आउँदैनथ्याे। यसकारण अभिभावकले चलचित्र क्षेत्रलाई गम्भीरतापूर्वक नलिएको जस्तो लागेको छ ।

जबसम्म विदेशीले नेपाली फिल्म हेर्ने बानी बसाल्दैन तबसम्म नेपाली चलचित्र क्षेत्रको बजार फराकिलो हुँदैन । विदेशीलाई नेपाली फिल्म हेर्ने बानी बसाल्न हामीले तयारी गर्नुपर्छ जस्तो लाग्छ मलाई ।

नेफ्टा अवार्डका आगामी संस्करणलाई स्वदेश वा विदेशमै निरन्तरता दिने तपाईहरुको तयारी कस्तो छ ?

विदेशमै गर्ने काम निरन्तर हुन्छ । यसअघि पनि मध्यपूर्वमा बजार खोज्ने काम भएको थियो । त्यहाँका साथीहरुसँग मिलेर हामीले मध्यपूर्वका मल्टिप्लेक्समा शुक्रबार, शनिबार र आइतबार हप्ताको तीन साता फिल्म चलाउने ट्रेन्ड बसालेका थियौं । त्यो काम कोभिडकै कारण अहिले बन्द भएको छ । त्यो कामले निरन्तरता पाउने अपेक्षा छ । जबसम्म विदेशीले नेपाली फिल्म हेर्ने बानी बसाल्दैन तबसम्म नेपाली चलचित्र क्षेत्रको बजार फराकिलो हुँदैन । विदेशीलाई नेपाली फिल्म हेर्ने बानी बसाल्न हामीले तयारी गर्नुपर्छ जस्तो लाग्छ मलाई ।

अन्त्यमा नेपाल प्रेसका पाठक र भिडिओ दर्शकलाई के भन्न चाहनुहुन्छ ?

नेपाली फिल्म हेर्नूस् र माया गरिदिनूस् । नेपाली चलचित्रका अवार्डलाई अझ बढी सजिलो हुन्छ र ऊर्जा बढ्नेछ । अरु अवार्डलाई जस्तै नेफ्टा फिल्म अवार्डबारे पनि धेरै काम गर्न सकिन्छ । सबैको माया, साथ र सहयोग भएको कारणले नेफ्टा अवार्ड सफल भएको छ । यो अवार्ड सिंगो चलचित्रकर्मीको अवार्ड हो । यसरी नै सोचेर सफल बनाउनुपर्छ भन्दै आइरहेका छौं । अवार्ड आउन केही दिन बाँकी छ । त्यतिञ्जेलसम्म नेफ्टा अवार्डलाई सहयोग गरौं । सहयोग प्राप्त भए ११औं संस्करण गर्न हामीलाई सजिलो हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर