औद्योगिक क्षेत्र शिलान्यास : स्थानीयमाथि दमन गरिएको भन्दै घनश्याम भुसालको प्रतिवाद – Nepal Press

औद्योगिक क्षेत्र शिलान्यास : स्थानीयमाथि दमन गरिएको भन्दै घनश्याम भुसालको प्रतिवाद

रुपन्देही । अर्थमन्त्री विष्णु पौडेलले रुपन्देही मोतिपुरस्थित औद्योगिक क्षेत्र शिलान्यास गरेपछि नेकपा नेता घनश्याम भुसाल प्रतिवादमा उत्रेका छन् ।

शिलान्यास कार्यक्रमको विरोध गर्न गएका स्थानीय बासिन्दामाथि ‘काम चलाउ सरकारका दुई मन्त्रीले दमनपूर्ण व्यवहार’ गरेको भन्दै प्रतिवादमा उत्रिएका भुसालले यसको हिसाबकिताब हुने बताए ।

भुसालले शिलान्यासअघि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशार बस्नेतलाई कार्यक्रम रोक्न दबाब समेत दिएका थिए ।

शुक्रबार दिउँसो बुटवल उपमहानगरपालिका–१७ मा मोतिपुर औद्योगिक करिडोरको शिलान्यास गर्न पुगेका अर्थमन्त्री पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलगायतका नेताको विरोधमा स्थानीयले बिरोध प्रदर्शन गरेका थिए ।

कार्यक्रमस्थलबाट बाहिरिएपछि आयोजित पत्रकार सम्मेलनमा ‘अदृश्य रुपमा विकास विरोधी अभियान नचलाउन’ उनीहरूले चेतावनी दिएपछि नेता घनश्याम भुसालले विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो हक अधिकारको रक्षाका लागि उभिएका स्थानीय निहत्था नागरिक, खासगरी युवा र महिलाहरूमाथि आज जुन दमन गरेका छन्, अपमानित गरेका छन् र घाइते बनाएका छन् ती अपराधीहरूलाई जनताको परीक्षणमा खडा गरिनेछ ।’

नेता भुसालले उद्योग मन्त्री र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अधिकारीहरूसँग भएको सहमति विपरीत शिलान्यास गरिएको आरोप लगाए ।

‘पहिलेको निर्वाचनमा त्यसै क्षेत्रबाट उम्मेदवार हुँदा मन्त्री विष्णु पौडेलले स्थानीय बासिन्दाको समस्या समाधान नभई करिडोरबारे कुनै काम शुरु भए राजनीतिबाटै सन्यास लिनेछु भनेर पटक–पटक बाचा गरेका थिए । आज तिनै पौडेल नागरिकमाथि लाठी बर्साउन पुगेका छन्,’ विज्ञप्तिमा लेखेका छन् ।

उनले नागरिकका तर्फबाट भएको विरोध–प्रतिरोधलाई समर्थन गरेको समेत बताएका छन् ।

रुपन्देही जिल्ला कमिटीले पनि विज्ञप्तीमार्फत शिलान्यासको विरोध गरेको छ । जिल्ला अध्यक्ष राजु गुरुङ्ग तथा सचिव निर्मल जिसीले विज्ञप्तिमार्फत् स्थानीयको विवाद समाधान नगर्दै गरिएको शिलान्यासको कुनै अर्थ नरहेको बताए ।

‘कामचलाउ सरकारका म्याद सकिएका मन्त्रीले शिलान्यास गर्नुको अर्थ छैन, दशकौंबाट खनजोत गर्दै आएकालाई सडकमा पुर्‍याएर गरिने विकासको अर्थ छैन,’ विज्ञप्तिमा भनिएको छ ।

यसैगरी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले अर्थमन्त्री पौडेलले स्थानीयको समस्या समाधान नहुँदै सत्ताको आडमा बल प्रयोग गरेर शिलान्यासको नाममा स्थानीयमाथि दमन गरेको बताए ।

सबैको समन्वयमा विकासका कार्यक्रम अगाडि बढाउनुको साटो बल प्रयोग गरेर रवाफ देखाउन खोज्जु निन्दनीय भएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर