पोखरा विश्वविद्यालयमा पहिलो पटक उद्यमशीलता विकासको पढाइ हुँदै – Nepal Press

पोखरा विश्वविद्यालयमा पहिलो पटक उद्यमशीलता विकासको पढाइ हुँदै

काठमाडौं । पोखरा विश्वविद्यालयले शैक्षिक बेरोजगारी हटाउन आगामी शैक्षिकसत्रदेखि चारवर्षे स्नातक तहको अध्ययन शुरु गर्ने भएको छ । सो तहमा जुनसुकै विषयमा कक्षा १२ वा सो सरह अध्ययन गरेका विद्यार्थीले चारवर्षे स्नातक अध्ययन गर्न पाउनेछन् ।

यसमा आठ सेमेष्टर प्रणालीबाट उद्यमशीलताका विभिन्न पक्षको सैद्धान्तिक र व्याहारिक विषयको अध्ययन हुनेछ । कोर्षका लागि वार्षिक रु तीन लाख १४ हजार २ सय शुल्क लाग्नेछ । अहिले सो विषय अध्ययनका लागि ४८ सिट निर्धारण गरिएको छ । विश्वविद्यालयको नियमानुसार २० प्रतिशत पूर्ण छात्रवृत्तिसमेत दिइनेछ । आउँदो चैत २ गतेसम्म फर्म भर्ने अन्तिम समय दिइएको छ ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र स्वर्णिम विश्वविद्यालय, गुजरातका भाइस प्रेसिडेन्ट अदि रिसव जैनले शुक्रबार उक्त कार्यक्रमको उद्घाटन गरे । उपकुलपति डा अर्यालले उद्यमशीलता विषयको पढाइका लागि लामो समयदेखिको योजनाले मूर्तरुप लिएको जनाउँदै अब व्यवहारिकरुपमा यसलाई सफल बनाए ।

उनले बेरोजगारीका कारण थुप्रै युवा विदेश पलायन हुने अवस्थाले सृजना भइरहेकाले अध्ययनपश्चात युवाशक्ति विदेश पलायन नभइ स्वदेशमै उद्यमशीलतामा अग्रसर हुने विश्वास व्यक्त गरे । उनले देशमै स्व–व्यवसाय गरेर परम्परागत सीपलाई जर्गेना साथै अन्तर्राष्ट्रि्य ज्ञानको सदुपयोग गरेर देश समृद्ध बनाउने कार्यमा अग्रसर हुनसमेत सबैलाई आग्रह गरे ।

स्वर्णिम विश्वविद्यालयका भाइस प्रेसिडेन्ट जैनले पोखरा विश्वविद्यालयले पहिलोपल्ट उद्यमशीलता पढाइलाई सञ्चालनमा ल्याएकामा बधाई दिँदै आफूहरू सहकार्य र समन्वय गर्न तयार रहेको बताए ।

जैनले देशको आर्थिक समृद्धि उद्यमशीलताबाट मात्र सम्भव हुने भएकाले यसको अध्ययन महत्वपूर्ण रहेको बताए ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर