घरभित्रै लडेका वामदेवको स्वास्थ्यस्थिति बुझ्न प्रधानमन्त्री ओली भैंसेपाटीमा – Nepal Press

घरभित्रै लडेका वामदेवको स्वास्थ्यस्थिति बुझ्न प्रधानमन्त्री ओली भैंसेपाटीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटीस्थित गौतम निवासमा पुगेका छन् ।

विप्लवलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएलगत्तै ओली गौतम निवास पुगेका हुन् ।

गौतम घरभित्रै लडेर सामान्य चोटपटक लागेको खबर पाएपछि प्रधानमन्त्री ओली स्वास्थ्यस्थिति बुझ्नका लागि गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । गौतमलाई सामान्य चोटपटक लागेको गौतमको पारिवारिक स्रोतले जनाएको छ ।

प्रचण्ड–माधव पक्षले नेकपा विभाजनको कानूनी मान्यताका लागि निर्वाचन आयोगलाई ताकेता गरिरहेका बेला पार्टी एकताको अभियान चलाइरहेका गौतमलाई भेट्न ओली भैंसेपाटी पुग्नुलाई राजनीतिक रुपमा लिन नपर्ने बालुवाटार स्रोतले जनायो ।

भेटमा राजनीतिक कुरा भए पनि यो विशुद्ध पारिवारिक र मानवीय भेटघाट भएको बताइएको छ । ओली र गौतमबीच पारिवारिक रुपमा पनि राम्रो सम्बन्ध छ ।

ओली पार्टी विभाजन नगर्ने पक्षमा छन् । उनले विभाजनको प्रक्रियामा आफू पहिल्यै नजाने बताउँदै आएका छन् । शुक्रबारमात्रै प्रचण्ड-माधव पक्षले ओलीलाई दलको नेताबाट हटाएको घोषणा गर्दै प्रचण्डलाई नेता चयन गरेको छ ।

गौतमले यसबीचमा बालुवाटारमै पुगेर ओलीलाई भेटेका थिए । ओली केही महिनाअघि पनि सपरिवार गौतम निवास पुगेका थिए ।

वामदेवलाई भेट्न ओलीसँगै नेकपा नेता सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत नेता भैंसेपाटी पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर