५२ थान चोरीका मोबाइलसहित चार जना पक्राउ – Nepal Press

५२ थान चोरीका मोबाइलसहित चार जना पक्राउ

काठमाडौं । ५२ थान चोरीका मोबाइल सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सूचनाको आधारमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त जनसेवाको संयुक्त प्रहरी टोलीले उनीहरूलाई ५२ थान मोबाईल सेटसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुर प्रयागपोखरी बस्ने भारत बिहार ठेगाना भएका ३२ वर्षका जहिर अन्सारी, काठमाडौं कपन बस्ने काठमाडौं महानगरपालिका–६ बौद्ध ठेगाना भएका २७ वर्षका दिपेश श्रेष्ठ, काठमाडौं कपन बस्ने चितवन भरतपुर महानगरपालिका–११ घर भएका २९ वर्षका अमित राना मगर र काठमाडौं महानगरपालिका–३० असन बस्ने ३३ वर्षका बिक्रम शाही रहेका छन् ।

कुपण्डोलस्थित ट्राकन कुरियर एण्ड कार्गो कम्पनीले ललितपुर सानेपास्थित एमआई सोरुमसँग सम्झौता गरी डडेलधुरास्थित उग्रतारा मार्केटिङको लागि पठाउन लागेको एमआई कम्पनीको रेड्मी नोट–९ मोबाईल सेट फागुन २ गते दिउँसो डल्लुबाट कालीमाटी हुँदै काठमाडौं परोपकार जाने क्रममा परोपकारस्थित सडकमा चलिरहेको गाडीबाट अपरिचित व्यक्तिले कार्टुन भित्र रहेको उक्त मोबाईल सेट चोरी गरेका थिए ।

उक्त मोबाइल काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित मोबाईल पसल सञ्चालन गरी बस्ने अमित राना मगरसँग डिल गरी अमितले ललितपुर प्रयागपोखरीस्थित मोबाईल पसल सञ्चालन गरी बस्ने जहिर अन्सारीलाई भेटाई ५ लाख ५० हजार रुपैयाँ नगदमा बिक्री गरेको सूचना प्रहरीले पाएको थियो ।

उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त जनसेवा पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर