विशाल भट्टराईको वक्तव्य-प्रचण्डको पत्र गैरकानूनी र औचित्यहीन – Nepal Press

विशाल भट्टराईको वक्तव्य-प्रचण्डको पत्र गैरकानूनी र औचित्यहीन

काठमाडौं । सत्तारुढ नेकपाको संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले संसद सचिवालयमा बिहीबार पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट दर्ता भएको पत्रको औचित्य नरहेको प्रष्ट पारेका छन् ।

भट्टराईले संसदीय दलको तर्फबाट शुक्रवार प्रेस विज्ञप्ति जारी गरी दलको विधान बमोजिम विधिवत रूपमा निर्वाचित संसदीय दलका नेता तथा पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओली रहेकाले अरु पत्र र दाबी गैरकानूनी रहेको दाबी गरेका छन् ।

प्रचण्डको पत्र बिहीबार देव गुरुङ सहितका प्रचण्ड-माधव पक्षीय सांसदहरूले सचिवालयमा दर्ता गरी ओली, उपेनता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीलाई कारबाही गरिएको जनाएका थिए ।

भट्टराईले विज्ञप्तिमा भनेका छन्, ‘नेपालको संविधान तथा प्रचलित कानूनबमोजिम बाहेक कोही कसैले कुनै गैर संवैधानिक र गैर कानूनी निर्णय गरिएको भनी गरेको पत्राचारको कुनै कानूनी आधार, औचित्य र प्रभाव हुन सक्दैन ।’

मुख्य सचेतक भट्टराईले निर्वाचन आयोगले गत माघ ११ गते पार्टीको बैठकका मान्यता प्राप्त हुन अध्यक्षको परामर्शमा महासचिवले बैठक आह्वान गरेकाे हुनुपर्ने र पार्टीको आधिकारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुनुपर्ने उल्लेख भएकाले त्यसविपरीतका कुनै पनि बैठक र पत्राचारले मान्यता नपाउने बताएका छन् ।

भट्टराईले दलको विधान बमोजिम नेता प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, मुख्य सचेतक भट्टराई र सचेतक शान्ता चौधरीबाहेक अरु पदाधिकारी नरहेको भन्दै संसद सचिवालयलाई कुनै द्विविधामा नपर्न ध्यानाकर्षण समेत गराएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर