ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने देउवाको प्रस्ताव, पौडेलले भने- हतार नगरौं – Nepal Press

ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने देउवाको प्रस्ताव, पौडेलले भने- हतार नगरौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेलले फरक मत राखेका छन् ।

बूढानीलकण्ठस्थित देउवा निवासमा बसेको बैठकमा सभापति देउवाको प्रस्तावमा पौडेलले ‘कांग्रेस प्रतिपक्षको भूमिकामा रहनु नै पार्टीका लागि हितकर हुने’ बताएका हुन् ।

चितवनबाट फर्कने क्रममा भएको ढिलाइका कारण अबेर मात्रै बैठकमा पुगेका पौडेल केहीबेरमै बैठकबाट बाहिरिएका थिए । पौडेलले पार्टीमा पहिले नै निर्णय गरेर बैठक बोलाइएको भन्दै असन्तुष्टि समेत जनाएका छन् ।

बैठकमा कांग्रेस सभापति देउवाले आफूलाई नेकपाको दुवै समूहले प्रधानमन्त्री बन्न प्रस्ताव गरेको जानकारी गराएका थिए । नेकपाको वैधानिक विभाजनका लागि समय लाग्ने भएकोले राजनीतिक विभाजन गराउन प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नुपर्ने देउवाको भनाइ थियो ।

पौडेलले भने ओलीको असंवैधानिक कदमलाई अदालतले नै तह लगाइसकेको र वैधानिक विभाजन बाँकी रहेकोले सत्तामा जान हतार गर्न नहुने बताएका थिए । नेता पौडेलले ओलीसँग राजनीतिक सहकार्य नहुने निश्चित भए पनि पार्टीभित्र पर्याप्त छलफल नभई अविश्वासको प्रस्ताव ल्याउनु प्रत्युत्पादक हुनसक्ने बताए । बाहिरिने क्रममा नेता पौडेलले बैठक नटुंगिएको र थप छलफल आवश्यक रहेको बताए ।

पौडेलले असहमति राखेपछि बैठकले कुनै निष्कर्ष लिन सकेन । अन्य नेताहरुले संसदीय दलको बैठक शुक्रबार बस्ने भएकोले त्यसअगावै निष्कर्ष निकाल्नु उपयुक्त नहुने सुझाव राखेका थिए । ‘संसदीय दलमा पनि छलफल गर्छौ । सांसदहरुको धारणा समेत बुझेर उपयुक्त समयमा निर्णय लिनेछौ’,कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले अविश्वास प्रस्तावको विषयमा पार्टीले निर्णय नगरिसकेको बताए । ‘बैठकमा कुरा आएको छ तर छलफल गर्न बाँकी नै छ । पार्टीभित्र गम्भीर छलफल नगरी राजनीतिक कदम चाल्नुहुँदैन भनेका छौं’, सिंहले नेपाल प्रेससँग भने । वरिष्ठ नेता पौडेल बाहिरिएपछि पूर्वमहामन्त्री सिंह र डा.रामशरण महतले देउवासँग छुट्टै छलफल गरेका थिए । सो क्रममा देउवाले पौडेललाई सम्झाउन आग्रह गरेका थिए । पौडेल पक्षका नेताहरुले भने थप छलफल गरेर निष्कर्षमा पुग्न सकिने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर