तीन वर्षपछि सार्वजनिक समारोहमा विप्लवको ‘कमब्याक’ – Nepal Press

तीन वर्षपछि सार्वजनिक समारोहमा विप्लवको ‘कमब्याक’

काठमाडौं । दुई दिन लामो वार्तापछि सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार बिहान तीनबुँदे सहमति भएको छ ।

आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्णरूपमा गर्ने तथा सरकारले प्रतिबन्ध हटाउने सहमति बनेसँगै सो समूहका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ लामो समयपछि भोलि सार्वजनिक हुने तयारीमा छन् ।

वार्ता सफलरूपमा टुंगिएपछि सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को संयुक्त हस्ताक्षरमा जारी प्रेस नोटमा सहमतिको विस्तृत विवरण सार्वजनिक गर्न भोलि दिउँसो २ बजे तय गरिएको विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै विप्लवले सम्बोधन गर्ने भएका छन् ।

श्रृंखलावद्ध विस्फोट र टेलिफोन टावरमा आगजनीपछि ‘हिंसात्मक गतिविधि’मा सरकारले दुई वर्षअघि २०७५ फागुन २८ गते विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो ।

संयोग नै मान्नुपर्छ प्रतिबन्ध लगाउने निर्णयताका सरकारको नेतृत्वमा रहेका केपी शर्मा ओली आफैंले दुई वर्षपछि वार्ताको माध्यमबाट विप्लव समूहलाई ‘सेफल्याण्डिङ’ गराएका छन् । सँगै प्रतिबन्धपश्चात विप्लवमाथिको सुरक्षा कारबाहीमा प्रमुख सुरक्षा अंगको कमाण्ड सम्हालेका गृहमन्त्री रामबहादुर थापा बादल नै सरकारी वार्ता टोलीको नेतृत्वमा बसे ।

विप्लव समूहले घोषितरूपमा हिंसात्मक युद्ध नगरे पनि भित्रभित्रै दोस्रो ‘जनयुद्ध’ हुन लागेको टिप्पणी भइरहेको थियो । तर, उक्त समूहका गतिविधि र संगठनात्मक संरचना माओवादीको जस्तै थिए । माओवादीले झैं भयानक खालका आक्रमणहरू नगरेको भए पनि हिंसाको बीउ विप्लव माओवादीले रोपिसकेको थियो ।

राजनीतिको मूलधारबाट बहकिएर सशस्त्र संघर्ष गरिरहेको विप्लवलाई मूलधारमा ल्याउन सरकारले रातारात गरेको पहलले पर्याप्त लचकतासहित संवादको टेबलमा बस्ने हो भने कुनै पनि समस्याको समाधान असम्भव छैन भन्ने पुनः एकपटक स्थापित भएको छ ।

नेत्रविक्रम चन्द २०२४ साल फागुन ११ मा रोल्पाको केवरी भन्ने ठाउँमा चित्रबहादुर र खुसीमाया घर्तिका कान्छो सन्तानका रूपमा जन्मिएका हुन् । माओवादी जनयुद्धमा भूमिगत नाम ‘विप्लव’राखेका उनी आजसम्म यही नामबाट चर्चित छन् ।

मध्यमवर्गीय परिवारमा जन्मिएका चन्दका तीन दिदी र दुई दाजु छन् । त्यस्तै, सात भाइ बाजेमध्ये ६ भाइ लाहुरे थिए । सुभद्रा मल्लसँग वैवाहिक सम्बन्धमा गाँसिएका विप्लव दम्पतीका दुई छोरा र एक छोरी छन् ।

रोल्पामै बाल्यकाल बिताएका विप्लवले लिवाङको बालकल्याण माध्यमिक विद्यालयबाट १९ वर्ष हुँदा एसएलसी पास गरेका थिए । विप्लवलाई नजिकबाट चिन्नेहरू विद्यालय तहदेखि नै उनीमा राजनीतिक चेत भएको बताउँछन् ।

२०५२ फागुन १ मा माओवादीले जनयुद्ध शुरू गर्दा उनी विद्यार्थी उपाध्यक्ष थिए । उनले त्यतिखेर बुढाहरूले छिटो युद्ध शुरू नगर्ने भए युवाहरू तयार रहेको भन्दै दबाबसमेत दिन्थे ।

विद्यार्थी राजनीतिसँगै ललितपुर सेक्रेटरीको जिम्मेवारी लिएका विप्लवलाई २०५४ सालताका पार्टीले कर्णाली उपक्षेत्रीय ब्यूरो इन्चार्जमा खटायो । त्यहाँबाट विप्लवको सक्रिय राजनीतिक यात्रा शुरू भयो ।

२०५५ भदौको चौथो विस्तारित बैठकबाट उनी माओवादीको केन्द्रीय सदस्य बने । त्यसको चार वर्षपछि पोलिटब्यूरो सदस्य बनेका उनी २०६१ सालमा रुकुम-रोल्पा आधार इलाकाको ब्यूरो इन्चार्ज भए ।

भूमिगत कालमा विप्लवसँग निकटमा रहेर काम गरेका हाल लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रहेका कुलप्रसाद केसी सबै कुरा आफैंमा केन्द्रीकरण गर्न खोज्ने र आफूलाई लागेको काममा दृढ भएर लागि पर्ने स्वभावको रूपमा विप्लवलाई सम्झन्छन् ।

जिम्मेवारी कुशलतापूर्वक निभाएको र दृढ भएर लागेको प्रशंसा हुन थालेपछि अध्यक्ष प्रचण्डले केही समय विप्लवलाई विश्वास पात्र बनाएका थिए । तर, नेतृत्वमा भएको कमजोरी बैठक, भेलामा खरो र स्पष्टका साथ राख्न थालेपछि विप्लवमाथि प्रचण्डले दूरी बढाउँदै लगे । जनयुद्धलाई रोकेर शान्तिप्रक्रियामा आउने नेतृत्वको निर्णयप्रति अन्तरविरोधमा रहेका विप्लव प्रचण्डसँगको सम्बन्धमा अन्तत: माओवादी शान्तिप्रक्रियामा आएपछि दरार निम्तियो ।

२०६४ साल साउन १८-२२ मा काठमाडौं बालाजुमा भएको ५औं विस्तारित बैठकमा विप्लव, मोहन वैद्य, सीपी गजुरेललगायतले कांग्रेस नेतृत्वको (गिरिजाप्रसाद कोइराला) सरकारबाट पार्टी फिर्ता हुनुपर्ने भन्दै नेतृत्वको विरोध गरे ।

२०६९ असार ३ गते प्रचण्ड नेतृत्वको माओवादीमा विभाजन आयो । सोही वर्ष भएको महाधिवेशनले मोहन वैद्य ‘किरण’लाई अध्यक्ष र बादललाई महासचिव बनायो । विप्लव सचिव भए ।

मूलतः विप्लवकै जोडबलका कारण किरण र बादल प्रचण्डबाट अलग हुने निर्णयमा पुगेका थिए । नेकपा-माओवादीले २०७० को दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गर्‍यो । यसको मुख्य योजनाकार पनि विप्लव नै थिए ।

किरणलाई पार्टी संरक्षक बनाएर बादललाई अध्यक्ष र आफू महासचिव बन्ने योजनाले सफलता नपाएका कारणबाट पनि विप्लव असन्तुष्ट थिए । त्यही असन्तुष्टिसँगै नेकपा-माओवादीलाई पनि फुटाएर उनले नेपाल कम्युनिष्ट पार्टी जन्माए र महासचिव बनी आफैंले नेतृत्व लिए ।

एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिको राजनीतिक मागको लय समातेका उनी तीन वर्षयता सार्वजनिक कार्यक्रममा देखा परेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर