भारतले नेपालसँगको सीमामा एसएसबीका ५४८ पोस्ट थप्ने – Nepal Press

भारतले नेपालसँगको सीमामा एसएसबीका ५४८ पोस्ट थप्ने

दिल्ली- भारतीय सीमा सशस्त्र बल (एसएसबी)ले नेपालसँगको सिमानामा थप ५४८ पोस्ट खडा गर्ने भएको छ । टाइम्स अफ इन्डियाका अनुसार भारत सरकारले नेपाल र भुटानसँगका सीमामा १२ नयाँ बटालियन स्थापना गर्न अनुमति दिएपछि १३ हजार थप फोर्स परिचालन हुने भएका छन् ।

पटक-पटक तनाव सिर्जना हुने भारत, भुटान र तिब्बतको त्रिदेशीय क्षेत्रमा समेत सम्भावित सुरक्षा चुनौतीको सामना गर्न सुरक्षाकर्मीहरु परिचालन गर्ने समाचारमा जनाइएको छ । नेपालसँगको १ हजार ७५१ किलोमिटर सिमाना र भुटानसँगको ६९९ किलोमिटर खुला सिमानामा फोर्स थप्ने भारतको तयारी छ । जसअनुसार भारतले नेपाल सीमामा थप चार एकीकृत चेक पोस्ट (आईसीपी) खडा गर्ने भएको हो ।

जोगबनी र रक्सौल नाकामा यसअघि दुई चेक पोस्ट सञ्चालनमा छन् । एसएसबीका महानिर्देशक राजेश चन्द्रका अनुसार १२ बटालियन चरणबद्ध रुपमा स्थापना हुनेछन् ।

‘सरकारको यो अनुमतिपछि सीमा सुरक्षा अझ सुदृढ हुनेछ’ चन्द्रले भने ।

नयाँ पोस्टहरु थप्ने तयारी भैरहँदा सरकारले अनुमति दिएपछि झनै सजिलो भएको चन्द्र बताउँछन् । यी सीमा बटालियन युनिटले सीमा पोस्टबीचको दूरीलाई घटाउने, ब्यापार बलियो बनाउने र सीमापारको सुरक्षा जोखिमलाई रोक्ने उद्देश्य लिइएको छ ।

सन् २०१७ मा चीन, भारत र भुटानको त्रिदेशीय थलो दोक्लाममा ७० दिन लामो तनावपछि भारतले बटालियन खडा गर्ने निधो गरेको हो । गृहमन्त्री अमित शाहले खडा गर्ने भनिएका नयाँ बटालियन र थप्ने भनिएको फोर्सबारे अध्ययन गत वर्ष नै गरिसकेको समेत जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *