ओली पक्षले भन्यो- प्रचण्ड पक्षको बैठक होइन जमघट मात्र, कारबाही हास्यास्पद – Nepal Press

ओली पक्षले भन्यो- प्रचण्ड पक्षको बैठक होइन जमघट मात्र, कारबाही हास्यास्पद

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल पक्षले आफ्ना केही नेताहरुलाई गरेको कारबाहीलाई ओली पक्षले हास्यास्पद र अर्थहीन बताएको छ । ओली पक्षीय नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले यो निर्णयको कुनै वैधानिक वा कानूनी हैसियत नरहेको प्रतिक्रिया दिएका छन् ।

‘यो हास्यास्पद र अर्थहीन कुरा हो’ ज्ञवालीले नेपाल प्रेससँग भने, ‘एकातिर कतिपय साथीहरू नयाँ शिराबाट एकताको कुरा गर्नुपर्‍यो भनेर भन्दै हुनुहुन्छ, अनि उहाँहरूको नेतृत्व चाहिं यसरुपमा प्रस्तुत भइरहेको छ । उहाँहरु एकताको पक्षमा हुनुहुन्न र आन्दोलनलाई कमजोर बनाउनतिर लाग्नुभएको छ भन्ने पुष्टि भयो ।’

प्रचण्ड-माधव पक्षको बैठकलाई जमघट मात्रै भन्दै ज्ञवालीले त्यसले गरेका निर्णयको कुनै कानूनी अर्थ नरहने दाबी गरे ।

‘निर्वाचन आयोगले नै भनिसकेको छ, त्यस्तो बैठकलाई बैठक मान्न सकिंदैन’ उनको तर्क छ, ‘बैठकको एउटा औपचारिक विधि हुन्छ । त्यो औपचारिक विधि नै पूरा नभएको एउटा जमघट मात्रै हो, बैठक होइन । त्यसैले त्यसको कुनै कानूनी अर्थ पनि रहेन ।’

उनले प्रचण्ड-माधव पक्षको यस्तो निर्णयले उनीहरुको हतास मनस्थिति मात्रै देखाउने बताए । ज्ञवालीले भने, ‘यसले उहाँहरूको हतास मनस्थिति मात्रै देखाउँछ । हामी त्यो अर्थहीन ठान्छौं ।’

बुधबार बसेको प्रचण्ड–माधव पक्षीय नेकपाको केन्द्रीय कमिटी बैठकले उपनेता सुवास नेम्वाङसहित ७ जनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । बैठकले नेम्वाङलाई स्थायी कमिटी सदस्यबाट ६ महिनासम्मका लागि निलम्बन गर्दै तत्कालै उपनेताबाट राजीनामा दिन निर्देशन दिएको थियो ।

त्यस्तै बैठकले हालै प्रमुख सचेतक नियुक्त भएका विशाल भट्टराई, सचेतक शान्ता चौधरी, केन्द्रीय सदस्यहरु सूर्य थापा, प्रभु साह र कर्ण थापालाई दलको विधान विपरित काम गरेको भन्दै ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर