नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकतासम्बन्धी मुद्दाको फैसला भोलि नहुने – Nepal Press

नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकतासम्बन्धी मुद्दाको फैसला भोलि नहुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता सम्बन्धी मुद्दाको अन्तिम फैसला भोलि नहुने भएको छ ।

सर्वोच्चका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा बिहीबार देशभरका अदालत बिदा गर्ने अदालतको पूर्ण बैठकले निर्णय गरेकोले भोलिलाई तोकिएको फैसला पर सरेको हो ।

फागुन १३ गते सुनुवाइ सकिएसँगै ऋषि कट्टेलले दायर गरेको रिटमाथिको अन्तिम फैसला भोलिलाई तोकिएको थियो । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइपछि निर्णय सुनुवाइको मिति तोकिएको थियो ।

फैसलाको नयाँ मिति भने तोकिएको छैन ।

कट्टेलले २०७५ मंसिरमा नेकपा आफ्नो नाममा दर्ता रहेको भन्दै निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको पार्टीलाई आधिकारिकता दिएको विरोधमा रिट दायर गरेका थिए ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी बनेको थियो । सोही नामको पार्टी त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको दर्ता रहेकाले पछि ब्राकेटमा नेकपा राखिएको थियो ।

ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाको दर्ता खारेज गर्न माग गर्दै कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएकोमा आयोगले उनको दाबी खारेज गरेपछि कट्टेल अदालत गएका थिए । अदालतमा पटक-पटक सुनुवाइ स्थगित हुँदै आएकोमा दुई वर्षपछि फैसला हुन लागेको छ ।

अदालतले कट्टेलको पार्टीलाई आधिकारिकता दियो भने हाल राजनीतिकरूपमा विभाजित तर कानूनी रुपमा एकै रहेको नेकपाको भविष्य के हुन्छ ? यो प्रश्न पनि उठेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर