ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप जनवरीमै लगाएको पुष्टि – Nepal Press

ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप जनवरीमै लगाएको पुष्टि

वासिङ्टन –अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप पहिले नै लगाएको तथ्य सार्वजनिक भएको छ ।

उनीहरुले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएकै बेला गत जनवरीमा खोप लगाएको तथ्य अहिले मात्रै सार्वजनिक भएको हो ।चिकित्सकहरुको सल्लाहमा नै ट्रम्प दम्पतीले त्यतिबेला नै खोप लगाएको उनका सल्लाहकारले सोमबार जानकारी दिएका छन् ।

“राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले गत जनवरीमै कोरोना विरुद्धको खोप लगाएका थिए’ उनका सल्लाहकारले भने । उनले अरु विवरण भने नबताएको समाचारमा उल्लेख गरिएको छ ।

तत्कालीन राष्ट्रपति ट्रम्पले कोरोनाको महामारी चलिरहेका बेला खोप र मास्कको प्रयोग आवश्यक नभएको बताउने गरेका थिए । त्यसको विरोध गर्ने व्यक्तिले नै भित्री रुपमा खोपको प्रयोग गरेको तथ्य सार्वजनिक भएको हो ।

उनी राष्ट्रपति भएका बेला विश्वभरि नै कोरोनाभाइरसको महामारी फैलिएको थियो । अन्य देशहरुले भाइरसको महामारी नियन्त्रणका लागि मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने, सामाजिक दुरी कायम गर्नु पर्नेमा जोड दिएपनि ट्रम्पले भने त्यसको बेवास्ता गरेका थिए ।

ट्रम्पले गत जनवरी २० सम्म अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएको थियो । त्यसपछि अहिले जो बाइडेन अमेरिकाको राष्ट्रपति हुनुहुन्छ । उहाँले भने कोरोनाविरुद्धको खोप लगाउनुका साथै भाइरस नियन्त्रणका लागि अपनाउनुपर्ने मापदण्डको पालना गर्न सबै अमेरिकीलाई आह्वान गर्दै आउनुभएको छ ।

कोरोनाविरुद्ध स्वास्थ्य मापदण्ड पालना गर्न विश्व स्वास्थ्य संगठन लगाएका आधिकारिक र जिम्मेवार निकाय तथा वैज्ञानिकहरुले सुझाव दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर