विवाहेत्तर सम्बन्धमा फसेकी एक महिलाको दु:खान्त – Nepal Press

विवाहेत्तर सम्बन्धमा फसेकी एक महिलाको दु:खान्त

जनकपुरधाम । गत फाल्गुन ८ गते झापाको भद्रपुर नगरपालिका ८ की ४४ वर्षीया कल्पना गुरागाई (नाम परिवर्तन) जनकपुरको एउटा होटलमा मृत भेटिइन् । होटलको कोठाभित्र झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।

कल्पनाका माइती पक्षले महोत्तरी घर भएका डा. राहुल पाण्डेले विवाह गरेर धोका दिएपछि आत्महत्या गरेको दाबी गरेका छन् । उनीहरुले पाण्डेविरुद्ध उजुरी पनि दिएका छन् । प्रहरी स्रोतका अनुसार पाण्डेले आफूहरुसित सम्बन्ध रहेको भए पनि विवाह गरेको स्वीकारेका छैनन् ।

स्मरणीय के छ भने कल्पना विवाहित हुन् र पाण्डे अविवाहित । उनीहरुबीच काठमाडौंमा भेट भएर प्रेममा परेका थिए । एमबीबीएस पढिरहेका पाण्डे कल्पनाले सञ्चालन गरेको होस्टलमा बस्ने गर्थे । त्यही क्रममा उनीहरु नजिकिएका थिए ।

पाण्डेको पढाइ सकिएपछि उनी महोत्तरीस्थित घर फर्किए । घर फर्किनुअघि नै कल्पनासित उनले पशुपतिनाथ मन्दिरमा विवाह गरेको आफन्तको दाबी छ । होस्टेलमा उनीहरु सँगै बस्थे । घर फर्किएपछि भने पाण्डे कल्पनाको सम्पर्कमा आएनन् । त्यसपछि कल्पनाले खोजतलास गर्न थालिन् । उनले आफ्नो होस्टेलसमेत बेचिन् ।

डा. पाण्डे घर फर्किएपछि जनकपुरस्थित काव्या हस्पिटलमा काम गर्न थाले । यो कुरा कल्पनाले थाहा पाइन् । जनकपुरका सामाजिक अभियन्ता सरोज रायमार्फत उनी डा. पाण्डेलाई खोज्दै महोत्तरीको जलेश्वर पुगिन् ।

करिब एक महिनाअघि जलेश्वर आएकी थिइन् कल्पना । उनले अधिकारकर्मी, पत्रकार, प्रहरी र राजनीतिकर्मीसँग समेत गुहार मागिन् । जलेश्वर आएलगत्तै उनी अधिकारकर्मी सबिता यादवको सम्पर्कमा आएकी थिइन् ।

सबिता भन्छिन्, ‘जलेश्वर आउँदा उनी टुटिसकेकी थिइन् । तैपनि न्याय पाउने आश मरेको थिएन । जनकपुरमा डा. पाण्डेसँग कुरा भयो । डा. पाण्डेले फिजिकल रिलेसनसिपमा आफू बसेको स्वीकारे तर बिहे गरेको स्वीकारेनन् ।’

सबिताका अनुसार आफूभन्दा धेरै उमेर भएको भन्दै कल्पनासँग बिहे नगर्ने अडान लिए पाण्डेले । छलफलमा कुनै सहमति भएन । कल्पनाले कानूनी लडाइँ लड्ने मनस्थिति बनाइन् । उजुरी लिएर जलेश्वर प्रहरीमा पुगिन् । प्रहरीले उजुरी लिन मानेन । त्यसपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराइन् । उनले अदालतमा मुद्दा हाल्न वकिलसँग सल्लाह गरेकी थिइन् ।

कल्पनासँग पैसा थिएन । खानबस्न पनि समस्या थियो । अधिकारकर्मी सबिताले आफ्नै घरमा उनलाई १० दिन राखेकी थिइन् । उनले जलेश्वरमै बसेर कानूनी लडाइँ लड्ने सोचमा डेरा लिएकी थिइन् । उनलाई जनता समाजवादी पार्टीकी प्रदेश सांसद डा. रिना यादवले ५ हजार रुपैयाँ सहयोग गरेको बुझिएको छ ।

आत्महत्या गर्नुभन्दा एकदिनअघि आफूसँग कल्पनाले जनकपुरमै ७ हजार रुपैयाँ मागेको अधिकारकर्मी सबिताले बताइन् । उनले भनिन्, ‘मसँग भएको एक हजार रुपैयाँ दिएको थिएँ । त्यसको भोलिपल्ट बिहान उनले आत्महत्या गरेको थाहा पाएँ ।’

जनकपुरधाम उपमहानगरपालिका–७ स्थित नमस्कार होटल एण्ड गेस्ट हाउसमा मृत फेला परिन् कल्पना । उनको साथबाट प्रहरीले सुसाइड नोट पनि फेला पारेको छ ।

स्रोतका अनुसार पाण्डेले जसपाका केही नेतामार्फत कल्पनालाई आर्थिक प्रलोभन दिएका थिए । कल्पना र पाण्डेबीचको छलफलमा सहभागी स्रोतले भन्यो, ‘उमेर धेरै भएकाले आफ्नो परिवारले नस्वीकार्ने भन्दै डा. पाण्डेले ६/७ लाख रुपैयाँ लिएर सम्बन्ध छुटाउन दबाब दिएका थिए ।’

पैसामा सम्झौता गर्न जसपा नेतृ विभा ठाकुरले कल्पनालाई दबाब दिएको स्रोतको दाबी छ । डा. पाण्डे कार्यरत काव्या हस्पिटल पनि जसपाकै समर्थक डा. एसके सिंहको हो । घटना मिलाउन डा. सिंहले जसपा नेतृ ठाकुरलाई परिचालन गरेको स्रोतले जनाएको छ ।

कल्पनाकाे पहिलो विवाह दुई दशकअघि नै भएको थियो । उनका श्रीमान्, एक छोरा र एक छोरी छन् । श्रीमान् रोजगारका क्रममा कतार पुगेपछि उनी काठमाडौंमा बस्न थालेकी थिइन् । सोही क्रममा उनले होस्टेल सञ्चालन गरेकी हुन् ।

होस्टलमै बसेका डा. पाण्डेसँग प्रेम भएपछि उनले परिवार छाडिन् । कल्पनाकी आमाजु शर्मिला लामिछाने भन्छिन्, ‘डा. पाण्डेले परिवारसँग टाढा गरायो तर धोका दियो ।’

प्रहरीमा जाहेरी

मृतककी आमाजु लामिछानेले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न आइतबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । उनी भन्छिन्, ‘आत्महत्या गर्न डा. पाण्डेले नै बाध्य पारे । उनीमाथि कडा कारबाही हुनुपर्छ ।’

आत्महत्या गर्नुपूर्व कल्पनाले लेखेको ६ पेज लामो ‘सुसाइड नोट’ प्रहरीले फेला पारेको छ । लामिछानेले भनिन्, ‘सुसाइड नोटमा पनि डा. पाण्डेलाई दोषी देखाएकी छन् । प्रहरीले निष्पक्ष छानबिन गर्नुपर्छ ।’

धनुषाका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले पीडित परिवारबाट जाहेरी आएको बताए । उनले भने, ‘सुसाइड नोटमा डा. पाण्डेलाई दोष देखाइएको छ । हामी अनुसन्धान गरिरहेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर