प्रचण्ड-माधवको बहुमत कहाँ पुष्टि भयो ? हिम्मत भए आए हुन्छ

हामी देशलाई स्वतन्त्र राष्ट्रका रूपमा चिनाउन चाहन्छौं । देशको भौगोलिक अखण्डतालाई माया गर्छौं । राष्ट्रिय हितको रक्षा गर्छौं । राष्ट्रिय सवालमा भन्ने हो भने हामी स्वाधीनता, स्वतन्त्रताको दृढताका साथ रक्षा गर्छौं ।

जनताको एकता र उन्नति देख्न नचाहनेका लागि, स्वाधीन, सार्वभौम हैसियतको रूपमा हेर्न नचाहनेका लागि, आफ्ना साना संकीर्ण, वैयक्तिक स्वार्थका लागि, राष्ट्रिय स्वार्थ तिलाञ्जली दिन नहिच्किचाउने तत्वहरूको लागि हाम्रो व्यवहार बडो सहिनसक्नु भयो ।

हाम्रो राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल र समृद्ध नेपाली’ सानो कुरा होइन । यसको व्याख्या गर्दा सानो प्वाइन्ट मात्र देखिन्छ । तर, त्यसलाई इन्लार्ज गर्दै जाँदा धेरै ठूलो हुन्छ । हाम्रो राष्ट्रिय आकांक्षा, आम जनताको आकांक्षा यसभित्र जोडिएको छ ।

तसर्थ, यो आकांक्षा कसैलाई मन परेको छैन । यसलाई काल्पनिक आकांक्षाका रूपमा मात्रै हेरेका छैनौं । प्राप्त गरिछाड्ने संकल्प लिएका छौं ।

त्यो संकल्प कसरी कार्यान्वयन गर्ने त्यसका लागि नीति, कार्यक्रम, दृष्टिकोण, कार्ययोजना, लक्ष्य निर्धारण गरेका छौं । देशबाट गरिबी, रोगव्याधि, पछौटेपन, भ्रष्टाचार हटाउने लक्ष्य राखेका छौं ।

पछौटेपन हटाएर नेपाललाई आधुनिक विकसित देशका रूपमा अघि बढाउने भनेका छौं । यसका लागि पूर्वाधार विकास पहिलो शर्त हो । पूर्वाधार दुई किसिमका हुन्छन् । मानवीय संसाधन विकास, शिक्षाको क्षेत्रमा ज्ञान दिनुप¥यो । औपचारिक शिक्षा, अबको विश्वमा हाम्रा बालबालिका श्रेष्ठ सावित हुने गरी आ–आफ्नो क्षेत्रमा दक्खल राख्न सक्नुपर्यो ।

बालबालिका हुर्केलान् र देश बनाइदेलान् भनेर पर्खेर हुँदैन । आजकै जनसमुदायलाई सचेत, संगठित बनाउने, व्यावसायिक तालिम दिने, युवालाई कसरी देशभित्र रोजगारीका अवसर सिर्जना गर्ने यी कामहरू हामीले गरेका छौं । यी कुराहरू कोही मानिसलाई सह्य छैन ।

शिक्षा, स्वास्थ्य, पर्यटन, सेवाको क्षेत्र योजनाबद्ध तरिकाले विकास गर्ने हो । त्यस प्रयासमा हामी छौं ।

पूर्वाधार विकासका सम्बन्धमा बाटो, तुइन व्यवस्थापन, हवाई व्यवस्थापन योजनाबद्ध रूपले कहाँ–कहाँ के–के गर्नुपर्छ भनेर लागेका छौं । हाम्रो कामको गति असाधारण छ ।

पहिले पहिले एक वर्षमा १० किलोमिटर बाटो बन्थ्यो । तर, अहिले एक दिनमा ५.७ किमीका दरले कालोपत्रे बाटो बन्छ । त्यो कति गुणा हुन्छ आफैं विचार गर्नुस् । ४/६ लेनका बाटाहरू कालोपत्रे भइरहेका छन् । देश विकास भइरहेको छ ।
हिजो मात्रै पाँच वटा पुल उद्घाटन गरेर आएँ । ३१ वटा सडक र पुल शिलान्यास गरें । आज मात्रै गण्डकी प्रदेशको प्रशिक्षण प्रतिष्ठान शिलान्यास गरें । एक वर्षमा कति विकास भएको छ, कति फरक भएको छ आफैं देख्न सक्नुहुन्छ ।

कृषि क्षेत्रलाई आधुनिकी र व्यवसायीकरण गर्दैछौं । कृषिबाट रोजगारीका थुप्रै अवसर सिर्जना हुनुका साथै आधुनिकतातर्फ देश अघि बढ्छ । किनभने आधुनिकीकरणले ठूलो मात्रामा कृषि उपज उत्पादन हुन्छ । ठूलो उत्पादनले बजार खोज्छ । हाम्रो बजार पर्याप्त हुँदैन, त्यसले वैदेशिक बजार खोज्छ ।

हामी अरूका सामान किनेर ल्याउने उपभोक्ता मात्रै होइन, अरूलाई सामान बिक्री गर्ने उत्पादक र बिक्रेता पनि हुन्छौं ।

हामी विकासको बाटोमा तीव्र गतिले अगाडि बढेका छौं । जनतामा सचेतना तीव्र गतिले अगाडि बढेको छ । त्यसकारण देश–विदेशका तत्वहरू यस पार्टीलाई ध्वस्त पार्न कोशिश गरिरहेका छन्, लागिपरेका छन् ।

पार्टीको नेतृत्वमा म भएको हुनाले, यस पार्टीलाई ठीक ढंगले अगाडि बढाइराखेको हुनाले, सरकार सही ढंगले सञ्चालन गरिरहेको हुनाले, प्रभावकारी र गतिशील ढंगले अघि बढिरहेको हुनाले, विकास निर्माणका कामले गति लिइरहेको हुनाले ममाथि प्रहार भइरहेको छ ।

ममाथि हमला हुनसक्छ

तपाईंहरूले देख्नुभा’छ— सम्पूर्ण रूपले ममाथि अत्यन्तै तीव्र गतिले प्रहार भइरहेको छ । यदि ममाथि केही हमला भयो, ज्यान तल–माथि भइहाल्यो भने पनि अनौठो नमान्नुहोला । तर, त्यस्तो हुन दिइने छैन । हामी सतर्कता अपनाउँछौं ।
म नभए पनि पार्टी छ, आन्दोलन छ । आन्दोलनले प्रतिक्रियावादी तत्व र तिनका मतियारसामु घुँडा टेक्नुहुँदैन । देशको भविष्य अन्धकारमा जान दिनुहुँदैन । पार्टी तल–माथि हुनुहुँदैन ।

‘तपाईंहरू सबै छोडिदिनुस् अनि पार्टी एकता हुन्छ । पद छोडिदिनुस्, जिम्मेवारी छोडिदिनुस् । प्रदेश कमिटीमा हुनुहुन्छ भने छोडिदिनस् । हामी बस्छौं अनि बल्ल एकता हुन्छ’ अरे ! त्यसो भयो भने हामी देशलाई भड्खालोमा हाल्न सक्छौं भन्ने उनीहरूको कुरा हो । त्यस कुरामा अल्मलिनुहुँदैन ।

हामी हरेक परिस्थितिको सामना गर्छाैं । पूर्ण रूपमा लडेर ल्याएको यसको लक्ष्यमा हामी हुन्छौं । रक्षा गर्र्छाैं । हाम्रो आचरण, अभ्यास, व्यवहार पूर्ण लोकतान्त्रिक हुन्छ । त्योभन्दा बाहिर हुँदैन । तर, हामी आपराधिक तत्वसँग लडिरहेका छौं । आपराधिक तत्वहरूको सामना गरिरहनुपरेको छ । जालजेल, षड्यन्त्रबाहेक उनीहरूसँग राजनीति पनि छैन, लोकतान्त्रिक मूल्य र मान्यता पनि छैन । बोल्ने के भन्ने पनि टुंगो छैन ।

कसरी कोसँग रिस उठ्छ, त्यसको कसरी अपमान गर्न सकिन्छ, झूटा लाञ्छना कसरी लगाउन सकिन्छ, त्यो झूटा लाञ्छनालाई कसरी प्रचारित गर्न सकिन्छ— त्यो काम उनीहरूले १९ पृष्ठ लामो झूटा आरोपहरूको पुलिन्दा तयार पारेर विश्वव्यापी रूपमा प्रचार गरेको तपाईंहरूले देख्नुभएकै छ ।

त्यो किन गर्नुप¥यो ? त्यो झूटा लाञ्छनाहरूको पुलिन्दा किन ? म एउटा व्यक्ति हुँ । त्यो मसँग मात्रै सम्बन्धित छैन, हाम्रो आन्दोलनलाई समाप्त पार्ने कुरा छ । त्यसकारण कमरेडहरू कुनै अलमलमा नपर्नुहोस् । हामी सही बाटोमा छौं ।

आन्दोलनमा उतारचढाव आउँछन् । कहिले–कहिले आन्दोलनले सुदृढीकरण र शुद्धीकरण खोज्छ । हाम्रा आफ्नै आनीबानीमा पनि गुणात्मक ढंगले सकारात्मक परिवर्तन आउन जरूरी छ ।

हामी अब गम्भीर लडाइँ लड्दैछौं । राष्ट्रलाई विकसित, सुदृढ बनाउने संकल्पका साथ अगाडि बढ्दैछौं । त्यसमा केन्द्रित भएर आफ्ना सानातिना स्वार्थ, सानातिना आपसी मतभेदमा अल्झिनै हुँदैन । हाम्रो बोलीवचन अनुसरणीय हुनुपर्छ । त्यसबाट अरूले प्रेरणा लिऊन् ।

हाम्रो आचरण र व्यवहारमा खोट हुनुहुँदैन । किनभने हाम्रो खोटरहित महान् उद्देश्य छ । हाम्रा विरुद्ध यिनै शत्रुहरू लागेका छन् ।

म तपाईंहरूको चेतना, जागरणलाई धन्यवाद भन्न चाहन्छु । सलाम गर्न चाहन्छु । यत्रो हमला भइरहेको छ । देशी–विदेशी शक्ति लागिरहेकै छन् । अनेक ठाउँबाट प्रहार भएको छ । तर, पार्टी कार्यकर्तामा निराशा छैन, विचलन छैन । कुनै अन्योल, द्विविधा छैन । पार्टी ठीक ढंगले अगाडि बढिरहेको छ ।

त्यो बहुमत मैले दिएको हो

उनीहरू भन्दैछन्, ‘हामीसँग केन्द्रीय कमिटीको बहुमत छ ।’ त्यो त एकता गर्दा मैले नै दिएको बहुमत हो । एकताका लागि भनेरै दिएको हो । केन्द्रीय कमिटी माग्दा मैले मेरो नोट कपीमा नाम लेखेर केन्द्रीय कमिटी बनाएको हो । महाधिवेशनबाट छानिएर आएको, चुनाव जितेर आएको कुनै कमिटी हो त्यो ?

पार्टी एकताका लागि, देश बनाउनका लागि दिएको हो । तर, उहाँहरू षड्यन्त्रपूर्ण ढंगले बेस्सरी बार्गेनिङ गर्दै हुनुहुन्थ्यो । किन भनेको त देश बिगार्न पो रहेछ । नत्र मलाई त बहुमत चाहिंदैन । बहुमत हुनुपर्छ भनेर हेरिनँ । म त अध्यक्ष नै थिएँ । बहुमत राख्न सक्थें । बहुमत नभई एकता हुँदैन भन्न सक्थें ।

मैले त देश बनाऔं, अगाडि बढौं भनेर हिसाब नगरी पार्टी एकता गरेको हो । तर, एकता गर्नेबित्तिकै उहाँहरूले धन्दाहरू शुरू गर्नुभो । पार्टी कब्जा गर्ने, आन्दोलन ध्वस्त बनाउने, देश बर्बाद बनाउने र ‘कम्फर्टेबल’ सरकार बनाइदिने योजना रहेछ ।

यो देशको विकास गर्ने, जनताको सेवा गर्ने सरकार होइन । कसैका लागि ‘कम्फर्टेबल’ सरकार बनाउने योजना रहेछ । त्यस योजनाअन्तर्गत लिएको न हो बहुमत ।

जुन हातले नाम दिएको हो, त्यो हातले नियुक्ति काट्न सक्छ । नियुक्ति दिनेले नियुक्ति बदर गर्न सक्छ । त्यसै कारण मुख्य सचेतक बनाएको थिएँ, देव गुरुङलाई । अस्तिका दिनमा मात्रै मैले बनाएको हो, मैले हटाइदिएँ । अर्को मुख्य सचेतक मैले बनाएको हो ।

उहाँहरूले भनेको केन्द्रीय कमिटी पनि मैले बनाएको हो । सामना गर्न नसक्नु, मुख देखाउन नसक्नु, लाजले भाग्नु त्यो एउटा कुरा हो । अहिलेसम्म उहाँहरूको पद केही पनि चलाइदिएको छैन । बाटामा, माइतीघरमण्डलमा, ब्याङ्क्वैटमा अध्यक्ष भएँ भनेर, कतै दलको नेता छानिएँ म भनेर आफैं अबीर लगाउँछन्, आफैं लड्डु खान्छन्, माला लगाउँछन् । आफैं रमाउँछन् ।

अध्यक्ष, दलको नेता छान्ने विधि, पद्धति, प्रक्रिया के रहेछ त ? मैले बोलाएको ठाउँमा नआएर हामीसँग केन्द्रीय कमिटीको बहुमत छ भन्ने ? त्यो बहुमत कहाँ पुष्टि भयो ? त्यो बहुमत होइन । कार्की ब्याङ्क्वैटमा कसैलाई भोज खुवाएर, भोज खान आएका जम्मैको टाउका गनेर मसँग यति, उति मान्छे छन् भनेर बहुमत हुँदैन ।

पार्टीको पद्धतिमा आउनुप¥यो । अध्यक्षले बोलाएको बैठकमा आउनुप¥यो । महासचिवले बोलाएको बैठकमा आउनुपर्यो ।

कोही गीत गाउँछन्, ‘दिए खान्थें मायाले दाहिने हातैले !’ साथीहरूले मान्दिए भने म पनि हुन्थें भन्छन् । तर, त्यसको विधि छ, प्रक्रिया छ, कानून छ । यदि उहाँहरू अपराधै गर्न सक्ने भए पनि विधि प्रक्रियाबाट आउनुस् । हामी मान्छौं । मानेर केही बिग्रिंदैन ।

डेढ वर्ष प्रतिपक्षमा बस्छौं र त्यसपछि फेरि दुईतिहाइ बहुमत लिएर जित्छौं । किनभने हाम्रो उद्देश्य देश बनाउने हो । समृद्ध नेपाल बनाउने हो । यसका लागि हामीलाई जनताले साथ दिन्छन् ।

अघिल्लो पटक पनि मलाई प्रधानमन्त्रीबाट उहाँहरूले नै हटाएको हैन र ? यिनै माधव नेपाल, प्रचण्ड, झलनाथ खनालले हटाएको होइन र ? एउटै पार्टीमा भए पनि माधव नेपाल, झलनाथ खनालहरू प्रचण्डलाई उकासेर हटाइहाल्नुपर्छ भने । त्यो कति दिनलाई भयो त ?

आन्दोलन ध्वस्त पार्ने कुरा थियो नि उहाँहरूको ! त्यो त नहुँदो रै’छ । हामी फेरि अगाडि बढ्छौं । पद्धति, प्रक्रियाबाट आउनुुस् । उहाँहरूको भाषा विधि, पद्धति अनुसार छ र ? प्रधानमन्त्री अविश्वास पत्रबाट हटाउने होइन, गलहत्याएर निकाल्ने ! उहाँहरूको प्रजातान्त्रिक अभ्यास कस्तो रै’छ हेर्नु भो नि ! अविश्वास पत्र राखेर हटाउन पाइन्छ, हटाउनुस् न । त्यो बाटोमा नगएर गलहत्याएर रे ! कुन लोकतान्त्रिक अभ्यासभित्र पर्छ यो ?

(प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा आयोजित कार्यकर्ता भेलामा गरेको सम्बोधनको सम्पादित अंश ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *