पुरानै शिक्षा ऐन अनुसार काम गर्नुपर्ने बाध्यता छ: शिक्षामन्त्री – Nepal Press

पुरानै शिक्षा ऐन अनुसार काम गर्नुपर्ने बाध्यता छ: शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता औँल्याएका छन् ।

सोमबार पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) को तेश्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा क्षेत्रमा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

नेपालमा राजनीतिक परिवर्तनहरु भएपनि पुरानै शिक्षा ऐन अनुसार काम गर्नुपर्ने बाध्यता रहेकाले पुरानो शिक्षा ऐनलाई पनि परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे ।

अहिलेपनि शिक्षा ऐन २०२८ अनुसार नै काम गर्नुपर्ने अवस्था रहेकाले पुरानै ठाउँमा उभिएर नयाँ परिवर्तनको महसुस गर्न नसकिने उनको तर्क थियो ।

उनले भने,‘नेपालको शिक्षा नीतिको सन्दर्भमा अहिले म जुन ठाउँमा उभिएको छु, म सन्तुष्ट छैन । शिक्षामा एउटा आमुल परिवर्तन अहिलेको आवश्यकता हो । नयाँ परिवर्तनमा जानुपर्छ । अहिलेपनि २०२८ सालको ऐनमा चलिरहेको छ शिक्षा मन्त्रालय । पञ्चायती कालको शिक्षाको ऐन अनुसार । अहिले पनि मैले शिक्षा मन्त्रालयमा तोक सदर गर्नुप¥यो भने शिक्षा ऐन २०२८ अनुसार लेखेको हुन्छ । यसमा चेन्जको आवश्यकता छ ।’

मन्त्री श्रेष्ठले शिक्षा नीतिको सम्बन्धमा उच्चस्तरिय अधिकारसम्पन्न कार्यदल बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘शिक्षामा आमुल परिवर्तनका लागि हामीले उच्चस्तरको अधिकार सम्पन्न शिक्षा नीतिको सन्दर्भमा एउटा व्यवस्थित कार्यदल बनाएर अगाडी बढ्नुपर्छ भन्ने मलाई लागेको छ ।’

मन्त्री श्रेष्ठले अहिलेको राजनीतिक निकासको अन्तिम उपाय जनताको जनादेश भएको जिकिर गरे । संसदबाट समस्याको समाधान ननिस्किने उनको भनाई छ ।

उनले आगामी मंसिर सम्ममा चुनाव हुने र चुनावको नेतृत्व पनि यही सरकारले गर्ने दाबी गरे ।

उनले भने,‘यहि सरकारले केही ठेगान छैन आगामी बैशाखमा भनेकोमा जेठमा हुनसक्छ चुनाव, जेठ कट्यो भने मंसिर भन्दा पर जादैन र यो चुनावको अगुवाइ पनि यहि सरकारले गर्छ ढुक्क हुनुस् । के भन्या होला भन्ठान्नु हुन्छ ? पछि छलफल गरौँला ।’

दिक्षान्त समारोहमा कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ र बिबिए बिषय सँग सम्बन्धित ६४ जना विद्यार्थीहरुलाई मन्त्री श्रेष्ठको हातबाट स्नातक तह उत्तीर्ण गरेको प्रमाण पत्र प्रदान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *