औद्योगिक क्षेत्रमा अवसरको खोजी गर्न सरकार र निजी क्षेत्रबीच समझदारी – Nepal Press

औद्योगिक क्षेत्रमा अवसरको खोजी गर्न सरकार र निजी क्षेत्रबीच समझदारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपालमा संचालित उत्पादनमूलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गर्ने उद्देश्यले उक्त समझदारी भएको हो । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले हस्ताक्षर गरेका छन् ।

अध्ययनबाट तयार पारिएको डाटाबेसलाई वौद्धिक सम्पत्तिको अधिकार संयुक्तरूपमा महासंघ र विभागको स्वामित्वमा हुनेछ । दुवै संस्थाहरूले आगामी छ महिनाभित्र साना मझौला, मध्यम तथा ठूला स्केलका उद्योगहरूसँग सम्बन्धित तथ्यांक संकलन गर्न प्रतिवद्धता जनाएका छन् ।

सहमतिअनुसार औद्योगिक क्षेत्रमा विकासका अवसरहरूको खोजी र पहिचान गर्ने, औद्योगिक सुशासनको प्रवर्द्धन एवं उद्योगहरुको संचालनका क्रममा देखापर्ने समस्या, गुनासालाई दुवै संस्थाको पहलमा संवोधन गरिने समझदारीपत्रमा उल्लेख छ ।

समझदारीपत्रमा उद्योग व्यवसायको निरन्तर संचालनमार्फत दीगो व्यावसायिक वातावरण निर्माण गर्न योजना तथा नीति निर्माणमा सहकार्य गर्ने, राजस्व वृद्धि र रोजगारी सिर्जना गर्न सहयोग पुर्‍याउने वातावरण निर्माण गर्न रणनीति तथा कार्ययोजनाहरू निर्माण गर्ने, महासंघले स्थानीय क्षेत्रको कच्चा पदार्थ र स्रोतको आवश्यकता पूरा गर्न सक्ने सम्भावित औद्योगिक क्षेत्रलाई प्राथमिकता र विश्लेषण गर्ने, विभागले त्यस्ता औद्योगिक क्षेत्रहरूको पुन:स्थापना गर्न अधिकतम प्रयास गर्ने, गुणस्तरीय र अत्याधुनिक पूर्वाधार विकास गरी नेपालबाट निर्यात बढाउन सहयोग गर्ने, नेपालले विश्व व्यापार संगठनको सदस्यताबाट प्राप्त गर्न सक्ने सम्भावित फाइदाहरूका विषयमा अध्ययन अनुसन्धान गर्ने भनिएको छ ।

समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले सरकार र निजी क्षेत्रबीच भएको यो सहकार्यबाट आउने परिणामले आम नेपाली लाभान्वित हुन सक्ने बताए । दोहोरो आर्थिक वृद्धि र प्रतिवर्ष ४ लाखलाई रोजगारी सिर्जना गर्ने महासंघको लक्ष्यलाई यो सहकार्यले पूरा गर्ने उनको विश्वास छ ।

उद्योग विभागका महानिर्देशक भुसालले महासंघसँगको समझदारीले समृद्ध मुलुक निर्माण गर्ने सरकारको अभियानमा सहयोगी हुने बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उपाध्यक्ष अन्जन श्रेष्ठले समझदारीलाई ऐतिहासिकको संज्ञा दिए ।

उद्योग समितिका सभापति भरतराज आचार्यले सरकार र महासंघ बीचको यो समझदारी मुलुकभित्र उद्योग व्यवसाय विस्तारमार्फत रोजगारी सृजना, लगानी तथा प्रविधि आकर्षणका लागि समेत सेतु बन्ने बताए ।

कार्यक्रममा समितिका सह-सभापतिहरू, सदस्यहरू, उद्योग विभाग र महासंघका वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *