कांग्रेसले सरकारको नेतृत्व गर्नुपरे प्रधानमन्त्रीमा मेरो दाबी हुन्छ (भिडियो) – Nepal Press
प्रकाशमानसँग नेपाल टक

कांग्रेसले सरकारको नेतृत्व गर्नुपरे प्रधानमन्त्रीमा मेरो दाबी हुन्छ (भिडियो)

संसदमा नेकपाका एउटै छ, उहाँहरुले फुट्ने कि जुट्ने पहिले प्रष्ट होस्

काठमाडौं । नेपालको राजनीतिमा प्रधानमन्त्री त्याग गर्ने दुर्लभ राजनीतिज्ञ हुन् गणेशमान सिंह। २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमानले आफूलाई आएको प्रधानमन्त्री पद कृष्णप्रसाद भट्टराईलाई दिएका थिए।

उनै गणेशमानका छोरा प्रकाशमान सिंह यतिबेला कांग्रेस राजनीतिको केन्द्रमा छन् । कांग्रेसको केन्द्रीय उपसभापति, महामन्त्री भइसकेका सिंह पूर्व उपप्रधानमन्त्री समेत हुन्। गत संसदीय निर्वाचनपछि संसदीय दलको नेतामा कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका सिंह कांग्रेस महाधिवेशनमा सभापतिका आकांक्षी समेत हुन्।

प्रतिनिधिसभा पुनःस्थापना भएपछि सम्भावित सत्ता समीकरणमा भावी प्रधानमन्त्रीका रुपमा सभापति देउवापछि सिंहकै नाम कांग्रेसवृत्तमा चर्चामा छ। पछिल्लो राजनीतिक अवस्था, सम्भावित समीकरण र प्रधानमन्त्रीमा दाबीबारे कांग्रेस नेता सिंहसँग नेपाल प्रेसका लागि नकुल अर्यालले गरेको कुराकानी प्रस्तुत छ नेपाल टकमा :

प्रतिनिधिसभा विघटनको विरोध गर्नुभयो । अदालतले विघटन बदर गरिदिएपछि राजनीतिक अन्याेल अझ बढ्यो भन्छन्, तपाई के भन्नुहुन्छ ?

हाम्रो बानी कस्तो भयो भने जे पनि छिटो छिटो चाहिने। अदालतले संसद विघटनलाई बदर गरिदिएको छ । संसद बैठक अब बस्नेछ। संसद नै नबसी राजनीतिक अन्योल बढ्यो भन्नु भएन । संविधानको धारमा राजनीति आएको छ।

अब संसदीय अभ्यासबाटै राजनीतिक विषयहरु टुंगो लाग्छ। सर्वोच्चको आदेशले नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको असंवैधानिक कामलाई खारेज गरेको छ। हामीले पुस ५ गतेदेखि नै प्रधानमन्त्री ओलीको कदम असंवैधानिक हो भनेका थियौं। अझ २०७७ साल वैशाखमै कांग्रेस केन्द्रीय समितिले प्रधानमन्त्री ओलीले सत्ता सञ्चालन गर्ने राजनीतिक वैधता गुमाइसकेको ठहर गरेका थियौं।

समृद्धि र सुशासनका लागि जनताले मत दिएको भए पनि नेकपाको सरकारले विभिन्न घोटाला काण्डहरु मात्रै गर्यो। जनतालाई सुख हुने कुनै काम सरकारले गर्न सकेन । हामीले बारम्बार प्रधानमन्त्रीलाई खबरदारी गर्यौं। नेकपाभित्रका साथीहरु त्यतिबेला त प्रधानमन्त्रीकै पक्षमा उभिनुभयो। खैर अहिले आएर नेकपामा पनि एउटा पक्ष ओलीको गलत कदमको विरुद्धमा उभिएको छ। त्यतिबेलै कांग्रेसको कुरा मानेको भए ओली यति निरंकुश र अलोकतान्त्रिक हुन सक्दैनथे। ओलीलाई अलोकतान्त्रिक नेकपाले बनाएको हो। त्यसैले अहिलेको राजनीतिक अस्थिरताको जड सिंगो नेकपा हो।

सर्वोच्चको आदेशले संसद ब्युँतिएको छ। अब संसदले के काम गर्छ त ?

सर्वोच्च अदालतले संसद विघटनलाई असंवैधानिक ठहर गरेको छ। सबैभन्दा पहिला असंवैधानिक कदम चाल्ने सरकारको वैधानिकता र नैतिकता सकिएको छ। राजनीतिक, संवैधानिक र संसदीय अभ्यासको आधारमा पनि प्रधानमन्त्रीको कुर्सीमा बसिरहन ओलीजीलाई अप्ठ्यारो लाग्नुपर्ने हो। कांग्रेसले पहिले पनि ओली सरकारको औचित्य सकियो भनेकै थियो। सर्वोच्चको आदेशले त्यसलाई अझ बल पुगेको छ

प्रधानमन्त्री ओलीका कारण संविधान र लोकतन्त्र अप्ठ्यारोमा परेकै हो। त्यसैले उहाँको निरन्तरताको पक्षमा हामी छैनौं। तर यो सबै संसदीय अभ्यासको कुरा हो।

त्यसो भए कांग्रेसले प्रधानमन्त्री हटाउन प्रयास गर्छ त ? अविश्वास प्रस्ताव ल्याउनुहुन्छ ?

कांग्रेस जिम्मेवार प्रमुख प्रतिपक्षी पार्टी हो। प्रधानमन्त्री ओलीका कारण संविधान र लोकतन्त्र अप्ठ्यारोमा परेकै हो। त्यसैले उहाँको निरन्तरताको पक्षमा हामी छैनौं। तर यो सबै संसदीय अभ्यासको कुरा हो। अब संसदको बैठक बस्ला। संसदमा यी विषयहरु कुन रुपमा आउँछन्, कांग्रेसले सोही अनुसार निर्णय दिन्छ।

संसदभित्रको विशिष्ट परिस्थिति हेरेर परिपक्व निर्णय गर्नुपर्ने अवस्थामा कांग्रेस छ। उपयुक्त समयमा कांग्रेसले निर्णय दिन्छ।

कांग्रेसलाई त अहिले नेकपाको दुवै पक्षबाट सत्ताको अफर आएको चर्चा छ । यसबारे पार्टीमा केही छलफल भएको छ ?

यसमा मुख्य कुरा के हो भने संसदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छ। त्यहाँ ओली समूह र प्रचण्ड–माधव समूह भन्ने छैन। बाहिर सरकारका बारेमा भइरहेको चर्चा त सबैलाई थाहा छ।

राजनीतिक रुपमा नेकपामा विवाद भएको र दुईवटा समूह रहेको पनि प्रष्ट छ। तर कांग्रेसले हेर्ने त संसदीय अभ्यास हो । संसदमा नेकपा एउटै छ नि ! संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र संसदीय शासन व्यवस्था कांग्रेसको नेतृत्वमा सुनिश्चित भएको हो। त्यसैले यो संविधान र व्यवस्था जोगाउने दायित्व कांग्रेसकै हो।

संसदमा सरकार परिवर्तनको प्रक्रिया सुरु भएछ भने कांग्रेसले प्रमुख प्रतिपक्षी दलको धर्म निर्वाह गर्छ। संसदीय व्यवस्थाको परम्परा र मान्यताभन्दा कांग्रेस बाहिर जाँदैन। सरकारको अफर राजनीतिक विषय मात्रै होइन। संसदमा आएपछि मात्रै थाहा हुन्छ नि !

राजनीतिक रुपमा नेकपामा विवाद भएको र दुईवटा समूह रहेको पनि प्रष्ट छ। तर कांग्रेसले हेर्ने त संसदीय अभ्यास हो। संसदमा नेकपा एउटै छ नि !

त्यसो भए कांग्रेस अहिले नेकपा विभाजनको प्रतीक्षामा छ ?

हेर्नुस् कांग्रेसको कुरा कांग्रेसलाई थाहा हुन्छ। कम्युनिष्टको कुरा कम्युनिष्टलाई थाहा हुन्छ। हामीले भनेर नेकपामा केही हुँदैन। नेकपाले भन्दैमा हाम्रो पार्टीमा पनि केही हुँदैन। विभाजन हुने हो कि होइन भन्ने टुंगो नेकपाले लगाउनु पर्याे।

त्यसैले हामी नेकपा फुट्छ कि भनेर कुरेर बसेका छैनौं। तर यदि उहाँहरुमा समस्या छ भने त्यसको निष्कर्ष त आउनुपर्याे नि ! प्रधानमन्त्री ओलीको कदम असंवैधानिक हो भनेर कांग्रेसले भनेको हो। नेकपामा पनि एउटा पक्षले ओलीको कदमको विरोध गरेको छ। यसरी हेर्दा नेकपाभित्रको एउटा हिस्सासँग संसद विघटनलाई विरोध गर्ने विषयमा कांग्रेसको मत मिलेको छ। अब यसलाई संसदीय प्रक्रियामा प्रवेश गराउनुपर्छ । हेरौं संसदमा कसरी विषयहरु आउँछन्।

त्यसो भए नेकपा फुट्यो भने एउटा पक्षसँग मिलेर कांग्रेसले सरकार बनाउँछ ?

सरकारको कुरा अहिले गर्नु कत्तिको उचित होला । संसदको बैठक बस्नुपर्यो। घटनाक्रम कसरी अगाडि बढ्ने हो ? म सैद्धान्तिक रुपमा चैं भन्न सक्छु। जनताले दिएको पाँच वर्षको म्याण्डेटलाई नेकपाले अवमूल्यन गरेकै हो। आफ्नो पार्टीको विवाद देखाएर जनताको म्याण्डेट लत्याउने काम त नेकपाले गरेको हो नि !

पाँच वर्ष त कांग्रेस प्रतिपक्षमै बस्न चाहेको हो नि ! जनताले हामीलाई प्रतिपक्षमै बस्न भनेको हो। तर संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्ष भनेको सधैं ‘गभर्मेन्ट इन वेटिङ’ त हो नि ! अब सत्ता चलाउने म्याण्डेट पाएको पार्टीले चलाउन सकेन भने प्रमुख प्रतिपक्षले ‘टेकओभर’ त गर्नुपर्छ नि ! त्यस्तो विषय आएछ र सरकारको विकल्प दिनुपर्ने भएछ भने कांग्रेस तयार छ।

नेकपाले म्याण्डेट पाएको हो। अब उहाँहरुको नियत ठीक नभएकोले चलाउन सक्नुभएन। नेकपाको सरकार अक्षम भइसक्यो। यदि संसदभित्रको अभ्यासले ओली सरकारको विकल्प र कांग्रेसको नेतृत्व खोज्छ भने कांग्रेस पछि त हट्दैन नि ! तर यो कांग्रेसको चाहना भन्दा पनि संविधान र संसदको कुरा हो। परिआयो भने प्रतिनिधिसभालाई पूरा कार्यकाल सक्रिय गराउन कांग्रेसले अग्रसरता लिन्छ।

कांग्रेसले सरकारको नेतृत्व गर्ने अवस्था बन्यो भने सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्नुहुन्छ कि विकल्पबारे पनि छलफल हुन्छ ?

हेर्नुस् यो ‘पोलिटिक्स’ हो। पोलिटिक्समा यो वा त्यो के हुन्छ झट्टै भन्न सकिंदैन। देउवाजी हाम्रो सभापति पनि हो दलको नेता पनि हो। उहाँले पार्टीको विधान अनुसार काम गर्न नसकेको हो नि ! आफूले गर्नुपर्ने काम कार्यकालमा गर्न नसकेर महाधिवेशन पनि नगरेर एक वर्ष म्याद थप्नुभयो।

थपेको म्यादमा नि उहाँको नेतृत्वमा महाधिवेशन हुन सकेन। अब संविधानको सहारा लिएर ६ महिना म्याद थपिएको छ। त्यसैले सभापतिको रुपमा भदौमा महाधिवेशन गराएर पार्टीको वैधानिकता जोगाउने दायित्व उहाँसामु छ। हाम्रा लागि महाधिवेशन पनि उत्तिकै महत्वपूर्ण हो। त्यसमा देउवाजी असफल हुनुभयो। मेरो विचारमा सरकारको लागि हतार गर्नुभन्दा पार्टीको महाधिवेशन गर्ने जिम्मा पूरा गर्न उहाँ लाग्नुपर्छ।

प्रधानमन्त्री बन्न डराउने भए राजनीति किन गर्नु ? प्रधानमन्त्री बनेर मुलुकलाई नेतृत्व दिन म सक्षम पनि छु , तयार पनि छु। त्यसैले कांग्रेसले नै लिड गर्ने परिस्थिति रह्यो भने मेरो दाबी हुन्छ।

तपाईं पनि कांग्रेस संसदीय दलको त ‘लिडर इन वेटिङ’ हो नि ! कांग्रेसले सरकारको नेतृत्व लिने भयो भने प्रधानमन्त्रीमा तपाईंको दाबी हुन्छ कि हुन्न ?

समय परिस्थितिले के गर्छ। पार्टीभित्र पनि यसबारे छलफल होला। तर आउने परिस्थितिसँग डराउने मान्छे होइन। प्रधानमन्त्री बन्न डराउने भए राजनीति किन गर्नु ? प्रधानमन्त्री बनेर मुलुकलाई नेतृत्व दिन म सक्षम पनि छु, तयार पनि छु। त्यसैले कांग्रेसले नै लिड गर्ने परिस्थिति रह्यो भने मेरो दाबी हुन्छ। मेरो विषयमा पार्टीभित्र सौहार्दपूर्ण ढंगले छलफल पनि त होला नि ! अहिले नै धेरै कुरा किन भन्नु ? पहिला वातावरण बनोस्। म तयार छु।

-फोटो/भिडियो : प्रसन्न मुलिक

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर