ओलीको हास्यरस : उठिरहेका बूढानीलकण्ठको पाउमा पर्नुभयो साथीहरू ! (भिडियो) – Nepal Press

ओलीको हास्यरस : उठिरहेका बूढानीलकण्ठको पाउमा पर्नुभयो साथीहरू ! (भिडियो)

‘म मुद्दा हार्दा-हार्दा गरेको मान्छे, गल्ती नगर्ने मुद्दा हार्दै जाने’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला झापाको आफ्नै निर्वाचन क्षेत्रमा पुगेर हास्यव्यंग्यको बिस्कुन लगाएका छन् । इतर समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग सहकार्यका लागि गरेको प्रस्तावमा ओलीले रमाइलो मजाक गरे ।

झापाको ‘नेपाल-चीन मैत्री औद्योगिक पार्क’ को शिलान्यासका क्रममा ओलीले प्रचण्ड र नेपालको नाम नलिइकन यसरी मजाक गरेः-

‘प्रतिनिधिसभा पुन:स्थापना भो । के भो त राम्रै भो । अनि के देखियो भने, चितवनको सभा छोडेर प्लेन चढेर काठमाडौं आए । एयरपोर्टबाट यिनीहरूको घर दक्षिणपट्टि, तर लागे उत्तर । सेक्युरिटीले कहाँ जाने सा’ब भनेर सोध्दा बूढानीलकण्ठ भन्छन् । सुतिरहेका बूढानीलकण्ठको पाउमा पूजा गर्न जान्छन् कि भनेको त होइन रहेछ । उनीहरू त उठिरहेका बूढानीलकण्ठ पो खोज्दै गए । गएर निवेदन गरे, ‘प्रभू, संसद पुन:स्थापना भइसक्यो । केही गरे पनि केपी ओलीलाई हटाउन सकिएन । प्रभूले अब प्रधानमन्त्री स्वीकारिदिनुपर्याे । हामी सभामा हाजिर छौं ।’

विभिन्नथरी रंगीविरंगी, नन्दीभृंगी जम्मा भएर सरकार बनाउँ । केपी ओलीलाई त हटाउनै पर्याे, नत्र देशको विकास गर्छ त्यसले, विकास रोक्नका लागि हटाउनैपर्याे भनेपछि प्रभूले यसो विचार गरे, यी मान्छे त भरपर्दा छैनन् । अनि विचार गर्छु, साथीभाइसँग छलफल गर्छु भनेर पठाइदिए । अँध्यारो मुख लाएर फर्किए ।’

त्यसपछि ओलीले प्रचण्ड-माधवले जनता समाजवादी पार्टीका नेताहरुसँग गरेको भेटलाई यसरी बयान गरेः-

‘फेरि अर्को ठाउँमा गएछन् । हामी मिलेर सँगै काम गर्नुपर्याे । मिलेर जाउँ । उनीहरुले सोधे, कुन पार्टीबाट आउनुभएको तपाईंहरु ? नाम के हो ? भन्न सकेनन् । झस्याङ्ग भए साथीहरू । कुन पार्टी भन्ने भन्ने । संसद पुन:स्थापना भयो, दलको नेता केपी ओली । पार्टी अध्यक्ष केपी ओली । प्रधानमन्त्री केपी ओली नै छ । अनि, अहिले उहाँहरू मसँग हात थाप्न थाल्नुभएको छ, राजीनामा गर्दिनुस् न ।’

ओलीले त्यसपछि चुनौतीको भाषामा भनेः-

‘तपाईंहरुले जब संसद पुन:स्थापना गरेर ल्याउनुभएको छ भने केपी ओलीलाई हटाएर देखाउनुस् न । अविश्वास राख्नुस्, हटाउनुस् । पहिले पनि मलाई अविश्वास प्रस्ताव ल्याएर हटाएकै हो । फेरि जनताबाट निर्वाचित भएर आएँ । फेरि हटाउनुभयो भने तीन करोड नेपाली जनताबाट दुईतिहाइ लिएर फेरि आइन्छ । कुनै चिन्ताको विषय छैन ।’

ओलीले आफूले जिन्दगीमा कैयौं मुद्दा लडेको र हारेको बताए ।

‘म त जिन्दगीमा मुद्दा हार्दा-हार्दा गरेको मान्छे । उहिले पनि धेरै मुद्दा हारेँ । गल्ती नगर्ने, मुद्दा हार्दै जाने । मलाई मुद्दा जिताइदिएर कसैले प्रधानमन्त्री बनाइदिएको होइन । तपाईंहरुले प्रधानमन्त्री बनाएको हो । जबसम्म तपाईंहरु मेरो साथमा हुनुहुन्छ, जबसम्म मेरो साथमा जनता छ, जबसम्म मेरो टाउकामाथि तपाईंहरूको आशीर्वाद छ, तबसम्म मुद्दा त के भो र ?’

ओलीले आफू ५० वर्षअघि आजकै दिन आफू पक्राउ परेको सम्झिए ।

उनले भने, ‘संघर्ष हामीले आज थालेका होइनौं । आज मैले सम्झेँ । ५० वर्ष अगाडि… विष्णु प्रसाई र म सँगै पक्राउ परेका थियौं । विष्णु प्रसाईजी यस्सो अगाडि देखिदिनुस् त… हामी २०२७ साल, फागुन १६ गते आइतबार सँगै गिरफ्तार भएका थियौं । आज ५० वर्ष पूरा भो । मैले दुब्लो-पातलो भएर अलि कम कुटाइ खाएँ । उहाँलाई धेरै चर्को कुटाइ भयो ।

ओलीले थपे, ‘यसरी जेलनेल गरेर, भूमिगत बसेर, मुद्दा झेलेर, दुखकष्ट सहेर हामीले आज यहाँसम्म ल्याएको हो देश । म भन्न चाहन्छु, अहिले पनि हामी सही बाटोमा छौं । देश बनाउने संकल्पमा छौं । त्यसकारण बच्छिउँ खायौं के भन्छन् नि… झुसे बारुलाहरुले फुर्ति नलगाए हुन्छ ।

ओलीले आज भने उखान राम्ररी भन्न सकेनन् ।

दुईदिन अघि प्रचण्डले दिएको एक अन्तर्वार्ताले निकै विवाद निम्तियो । त्यसमा उनले भारतका लागि आफूहरुको सरकार सबैभन्दा ‘कम्फर्टेबल’ हुने बताएका थिए । त्यसलाई पनि ओलीले छुटाएनन् ।

‘टिभीमा एकजनाले अन्तर्वार्ता दिंदै हुन्छन् हौसिएर । अविर जात्रा गर्दै गर्दा, लड्डु ख्वाईख्वाई गर्दागर्दै एउटा फोन गर्छन् । आवाज सुनिन्छ, त्यो अन्तर्वार्तामा- हेलो.. कैसे हे आप । आपके सहयोगके लिए बहुत-बहुत धन्यवाद । कसलाई भनेको मलाई थाहा छैन । तर, सुनियो त्यस्तो । त्यो हामीले बनाएको होइन । एउटा त्यस्तो अर्को कम्फर्टेबल । एउटा मिस्टर हेल्लो, अर्को मिस्टर कम्फर्टेबल । यी दुई मिस्टरहरूले नेपाललाई बर्बाद पार्न चाहेका छन् ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर