साग टिप्दा वडाध्यक्षले गराए पाँच हजार जरिवाना ! महिलाले गरिन् आत्महत्या – Nepal Press

साग टिप्दा वडाध्यक्षले गराए पाँच हजार जरिवाना ! महिलाले गरिन् आत्महत्या

जनकपुरधाम । खेतमा साग टिपेर गल्ती गरेको निष्कर्ष निकाल्दै समाजको भेलाले जरिवाना तिर्न लगाएपछि धनुषामा एक महिलाले आत्महत्या गरेकी छन् ।

औरही गाउँपालिका-२ देउरीका रामजीवन यादवकी पत्नी अन्दाजी ३६ वर्षीया विनितादेवीले आत्महत्या गरेकी हुन् । घटना शुक्रवार दिउँसो ३ बजेको हो । प्रहरीले कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमाेर्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याएर राखेको छ ।

उनका श्रीमान् रामजीवन भने वैदेशिक रोजगारका क्रममा खाडी मुलुकमा छन् । श्रीमान् घरमा नभएको बेला समाजले गरेको अपमान सहन नसकेर ती महिलाले आत्महत्या गरेको स्थानीय एक युवकले बताए ।

उनका अनुसार विनिता र अन्य दुई महिला घाँस काट्न खेत गएका थिए । सोही क्रममा खेतधनी महिलाले साग टिपेको भन्दै उनीहरुलाई कुटपिट गरिन् । कुटिएका उनीसहित तीनैजनाले स्थानीय भद्र-भलाद्मीलाई सुनाए ।

विवाद समाधान गर्न समाजका अगुवाहरु भेला भए । छलफल भयो । तर न्यायका लागि गुहार मागेका तीनैजना महिलालाई नै अगुवाहरुले दोषी ठहर गरे । विनितालाई ५ हजार र अन्य २ जनालाई २५/२५ सय जरिवाना सुनाइयाे । 

गल्ती नगर्दा पनि जरिवाना तिर्न लगाएर अपमान गरेको भन्दै विनिताले आत्महत्या गरेको स्थानीय बताउँछन् । भेलामा वडाध्यक्ष अमित यादव पनि थिए । उनले नै जरिवाना तिर्नुपर्ने निर्णय गरको स्रोतको दाबी छ ।

यद्यपि यसबारे पुष्टि भने हुनसकेकाे छैन । वडाध्यक्ष यादवसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ छ । घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न विनिताका ससुराले जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् । प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र मिश्र भन्छन्, ‘घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न उजुरी आएको छ । हामी अनुसन्धान गरिरहेका छौं ।’

डीएसपी मिश्रका अनुसार ती महिला आफ्नै स्टोर कोठाको पंखामा सलले पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

वडाध्यक्ष यादवलाई बचाउने प्रयासमा प्रहरी लागेको स्थानीयको आरोप छ । स्थानीय एक नेताले भने, ‘गाउँमा जताततै अहिले त्यही चर्चा चलिरहेको छ । तर प्रहरीले केही बताएको छैन । अनुसन्धान नै नगरेपछि कसरी थाहा हुन्छ ?’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *