कमेडी च्याम्पियन हिमेश भन्छन्- हराएको छैन, छिटै फिल्ममा देखिन्छु – Nepal Press

कमेडी च्याम्पियन हिमेश भन्छन्- हराएको छैन, छिटै फिल्ममा देखिन्छु

कैलाली । कमेडी च्याम्पियन हिमेश पन्त बुधबार धनगढीमा देखिए । उनलाई देख्नेवित्तिकै सेल्फी खिच्ने, अटोग्राफ लिने र टिकटक बनाउनेको भीड लाग्यो । हिमेश केहीबेर व्यस्त भए ।

कमेडी च्याम्पियन बनेपछि चर्चामा आएका हिमेश अचेल गुमनाम जस्तै छन् । तर, उनी भन्छन्– म हराएको छैन ।

हिमेशको जीवन संघर्ष उत्प्रेरक छ । २०५३ साल पुस ३ गते धादिङको थाक्रेमा जन्मिएका उनी बाल्यकाल देखिनै प्रतिभाशाली थिए । उनी सानैदेखि अरुलाई हँसाउन रुचाउँथे ।

गाउँमै पनि उनी अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको क्यारिकेचर गर्थे । जुन धेरैले मन पराएका थिए ।

उनले १० कक्षासम्म गाउँकै सेती देवी उच्च माध्यमिक बिद्यालययमा अध्ययन गरे । ७ कक्षा पढ्दासम्म उनी कहिल्यै कक्षामा अघिल्लो भागमा बसेनन् । ‘त्यो बेला मैले एक विषयमा कक्षा टप गरेपछि धेरै सम्मान पाएँ, पढ्दा पनि सम्मान पाइने रहेछ भन्ने लाग्यो । त्यसपछि कहिल्यै पछि बसिनँ’ उनले सुनाए ।

८ कक्षामा उनी दोस्रो र ९ कक्षा प्रथम । एसएलसीमा त्यो क्षेत्रमा सहरकारी विद्यालयबाट डिस्टिक्सन ल्याउने उनी मात्रै थिए ।

१० पछि अध्ययनकै लागि काठमाडौँ हानिए । इन्जिनियरिङ पढ्ने रुचि लिएर गएका उनले पुल्चोक इन्जिनियरिङ कलेजमा आवेदन दिए । त्यो बेला करिब १५ हजारको आवेदन थियो । उनको नाम ४ हजारमा आयो ।

‘जम्मा छनोट हुने ४ सय थियो । मेरो नाम ४ हजारमा आयो’ उनले भने ‘स्कलरसिप बिना के इन्जिनियरिङ पढ्नु भन्ने लाग्यो र त्यो बाटो बन्द भयो ।’

इन्जिनियरिङको बाटो बन्द भएपछि हिमेशको लागि कमेडीको बाटो फराकिलो भयो । उनले त्यसपछि कमेडीमा थप समय दिन पाए ।

विद्यालय स्तरबाटै कमेडी गर्न रुचाउने हिमेशलाई काठमाडौँ प्रवेशपछि थप बल मिलेको थियो । बाल्यकालमा अरूको आवाज निकालेर हँसाउने मात्रै कमेडी हो भन्ने बुझेका उनले काठमाडौं छिरेपछि कमेडीमा कन्टेन पनि चाहिने रहेछ भन्ने बुझे ।

कसरी बने च्याम्पियन ?

कमेडीसँगै उनले पढाउन थाले । कलंकीको इन्सिच्युटहरुमा उनले ३ वर्ष पढाए । त्यही बेलादेखि स्ट्यान्डअप कमेडी सुरु भयो । त्योमध्ये एउटा थियो ‘कमेडी सर्कल’ । जसमा हिमेश पनि थिए ।

‘सुरु देखिनै निकै चर्चा भयो’ उनी भन्छन् ‘ती भिडियोहरू ट्रेन्डिङमा आउन थाले । त्यसको १ वर्षपछि कमेडी च्याम्पियन आयो ।’

कमेडी च्याम्पियनमा जाने कि नजाने भन्ने विषयमा उनले निर्णय लिन सकेनन् । दोधारमा परे ।

‘युथहरूमा म परिचित हुँदै थिएँ । फोटोहरू पनि खिचाउन आउँने गरेका थिए’ ती पल सम्झँदै उनले भने ‘कमेडी च्याम्पियनमा गएर म फालिएँ भने मेरो भएको चर्चा पनि सेलाउँछ भन्ने डर थियो ।’

युट्युव भन्दा टेलिभिजनबाट बढी चर्चित हुने आशमा उनलाई कमेडी च्याम्पियनमा गए । उनले लहैलहैमा भिडियो पठाए र छानिए ।

कमेडी च्याम्पियनमा छानिएपछि हिमेशले थप मेहनत गर्न थाले । उत्कृष्ट १० भित्र परे पनि चित्त बुझाउने सोचसहित कमेडी च्याम्पियनमा प्रवेश गरेका हिमेशले हजारौँ डिजिटल प्रतिस्पर्धीलाई पछि पार्दै च्याम्पियन बने ।

जब विवादमा परे

योबीचमा उनी विवाद पनि परे । ‘धर्ममा व्यङ्ग्य गरेको भन्दै धेरै आलोचना भयो’ उनी भन्छन् ‘त्यो विषय सबैलाई देखाएर गरेको थिएँ । प्रसारणपछि त्यस्तो विरोध होला भन्ने कल्पना पनि गरेको थिइनँ ।’

उनलाई त्यसपछिको प्रस्तुति बिग्रिएको लाग्छ । ‘त्यो बेला मलाई रवि लामिछाने दाइले पनि फोन गर्नु भएको थियो । गाली मलाई पनि आउँछ तपार्इं मेरो फेब्रेट प्रतिस्पर्धी हो भने पछि मलाई छुट्टै ऊर्जा मिल्यो’ उनले सुनाए ।

त्यसपछिको प्रस्तुति भने निकै राम्रो भएको उनलाई लाग्छ । उत्कृष्ट ४ को प्रस्तुतिका क्रममा पर्फमर अफ द राउन्ड घोषित हुँदै उनी उत्कृष्ट ३ अर्थात् फाइनलमा प्रवेश गरे ।

कमेडी च्याम्पियनमा आदर्श मिश्र, सजन श्रेष्ठ उनलाई आफ्नो सबै भन्दा ठूलो प्रतिस्पर्धी हो जस्तो लाग्थ्यो । सुमन कार्कीले चलचित्रको विषयमा दिएको प्रस्तुतिले उनी पनि प्रतिस्पर्धी बनेका थिए ।

तर, सबैलाई हराएर हिमेशले उपाधि हात पारेका थिए ।

अबको यात्रा

हिमेशले कमेडी च्याम्पियनको उपाधि हात पारेको एक वर्ष पूरा भएको छ । तर, उनी जुन रूपमा चर्चामा हुनुपर्ने हो त्यो रूपमा नभएको स्वीकार्छन् ।

अहिले आफू हराएको जस्तै आभास हुन्छ उनलाई । ‘म हराएको जस्तै भएको छु तर, हराएको छैन’ उनी भन्छन् ‘अब केही महिना भित्र फेररि चर्चामा हुनेछु ।’

अब आफू चलचित्र क्षेत्रमा देखा पर्ने उनी बताएका छन् ।

‘अब चलचित्रतिर हुन्छु’ उनले भने, ‘हुतुतु चलचित्रमा मेरो भूमिका छ । के भूमिका छ त्यो पछि नै थाहा होला ।’

उक्त चलचित्रको संवाद लेखनीमा पनि संलग्न रहेको बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर