कतार विश्वकपका लागि १६०० भन्दा बढी नेपाली बलिदान ! – Nepal Press

कतार विश्वकपका लागि १६०० भन्दा बढी नेपाली बलिदान !

काठमाडौं । एक अध्ययनका अनुसार दश वर्षअघि कतारले विश्वकप फुटबल आयोजना गर्ने तय भएपछि सयौं नेपाली कामदारले ज्यान गुमाएका छन् ।

बेलायती अखबार द गार्जियनले गतसाता प्रकाशित गरेको एक प्रतिवेदन अनुसार १,६४१ जना नेपाली कामदारको रंगशाला निर्माणको क्रममा मृत्यु भएको छ । दक्षिण एसियाली मुलुकबाट मात्र ६,५०० कामदारले ज्यान गुमाएका छन् ।

सन् २०१० को डिसेम्बर यता नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका १२ कामदारले प्रत्येक साता ज्यान गुमाउने गरेको उल्लेख छ । कतारले सन् २०२२ मा विश्वकप आयोजना गर्ने तयारी गरेको छ ।

मृत्युको यो तथ्यांकले विश्व खेलकुदको महाकुम्भ आयोजना गर्ने मध्यपूर्वको श्रमिक हकअधिकारबारे डरलाग्दो चित्र प्रस्तुत गरेको छ । लाखौं नेपाली कामदारले ज्यान गुमाउने र घाइते हुने गार्जियनको यो विवरण चाहिँ पहिलोपटक भने होइन ।

सन् २०१३ मा पनि गार्जियनले आप्रवासी कामदारको अवस्थाबारे ‘विश्वकपका दास’ भन्दै एउटा लेख प्रकाशित गरेको थियो । अहिलेकै मृत्युदर कायम रहेमा रंगशाला निर्माण सम्पन्न भैञ्जेलसम्म ४,००० ले ज्यान गुमाउने गार्जिनको अनुमान छ ।

कतार र त्यहाँका अन्य शहरमा विश्वकप फुटबलका परियोजनामा काम गर्ने नेपाली श्रमिक धेरै प्रकारका शोषणमा परेको समेत उल्लेख छ। वैदेशिक रोजगार विभागका अनुसार सन् २००८ देखि २०१९ सम्म ७,४६७ नेपाली कामदारले विदेशमा ज्यान गुमाएका छन् ।

सोही समयमा विभिन्न मुलुकमा भएका मृत्युमध्ये नेपाली कामदारको मृत्यु हुने तथ्यांकमा कतार दोस्रो थियो । गार्जियनका अनुसार कतारमा प्राकृतिक मृत्यु भनिएका नेपाली कामदारमा मुटु र श्वासप्रश्वास सम्बन्धी समस्या पाइएको छ । उक्त अनुसन्धानमा ४८ प्रतिशत मात्र नेपालीको स्वाभाविक मृत्यु भएको छ ।

पछिल्ला वर्षमा आफ्नो देशमा कार्यरत विदेशी कामदारको कमजोर व्यवस्थापन र सुविधाको कारण कतारले अन्तर्राष्ट्रिय समुदायबाट आलोचना खेपिरहेको छ । साथै, कतारी कम्पनीबाट नेपाली कामदारले सम्झौता बमोजिमको तलब र सुविधा पाउन नसकेको पनि उल्लेख छ ।

कोभिड–१९ कहरले कतारस्थित कामदारको अवस्था झनै दयनीय भनेको भन्दै यसअघि अरब न्यूजले कतारलाई कोभिड जेलको रुपमा चित्रण गरेको थियो । पछिल्लो समय नेपालसहित केही विदेशी मुलुकका कामदारले विश्वकप परियोजनाबाट पारिश्रमिक नपाएको समेत खुलेको थियो ।

गत अगस्टमा प्रकाशित ह्युमन राइट्स वाचको एक प्रतिवेदनमा कतारले प्रतिवद्धता गरेअनुसार मानवअधिकार अवस्थामा सुधार गर्न नसकेको उल्लेख थियो । सन् २०२२ को नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा विश्वकप आयोजना हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *