शान्ता चौधरीको टिप्पणी- ओलीविरोधी हर्कत भारतको सहजताका लागि थिए भन्ने प्रचण्डले नै पुष्टि गरे – Nepal Press

शान्ता चौधरीको टिप्पणी- ओलीविरोधी हर्कत भारतको सहजताका लागि थिए भन्ने प्रचण्डले नै पुष्टि गरे

काठमाडौं । नेकपा संसदीय दलको सचेतक तथा ओली पक्षीय नेकपा केन्द्रीय सदस्य शान्ता चौधरीले विगत एक वर्षदेखि केपी ओली नेतृत्वको सरकारविरुद्ध पार्टीभित्रबाटै भएका ‘हर्कत’हरु विदेशीको इसारामा थिए भन्ने प्रचण्डले पुष्टि गरेको आरोप लगाएकी छन् ।

प्रचण्डले प्राइमटाइम टेलिभिजनमा ऋषि धमलासँग दिएको अन्तर्वार्तामा आफूहरु,कांग्रेस र जसपाको सरकार बन्दा भारतलाई सहज हुने र चीनलाई पनि सहज नै हुने भनी दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै चौधरीले एक वर्षदेखि केहीमा रहेको भ्रम प्रचण्डले चिरिदिएको बताएकी हुन् ।

सचेतक चौधरीले आफ्नो प्रतिक्रियामा भनेकी छन्- सत्य आफ्नै मुख बाट उजागर हुन्छ भन्थे हो रहेछ। भारतीय सुगमताको लागि कांग्रेस, प्रचण्ड गुट र जसपा मिलेर गठबन्धन गरि सरकार बनाउनु पर्छ भन्ने अध्यक्ष कमरेड प्रचण्डको भनाइ सुनेर मर्माहत भैयो। बिदेशी इसारामा नेपाली जनताको यो भाबनाको अपमान हुने गरि बिगत एक बर्ष देखिका अनेक हर्कत भएका रहेछन भन्ने अब प्रस्ट भयो। देशको सार्बभौमिकता र जनताको स्वाभिमान माथि खेल खेल्नेहरु लाइ बेलैमा चिन्न, अध्यक्ष प्रचण्डले हामी केहिमा रहेको भ्रम चिरिदिनु भयो।

चौधरीले केही दिनअघि आन्दोलनको बेला भारतीय हस्तक्षेपको आह्वान प्रचण्डले गरेको गरेको भन्दै अहिले भारत सुहाउँदो सरकार बनाउनुपर्छ भन्नु खेदजनक रहेको बताएकी छन् । उनले ओली नेतृत्वको सरकार कुन उद्देश्यले ढाल्न खोजिएको हो भन्ने अब प्रष्ट भइसकेको टिप्पणी गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर