‘यसरी विदेशी कामदारले नेपालबाट लैजाने ४ खर्ब रोक्न सकिन्छ’ – Nepal Press
नेपाल टक

‘यसरी विदेशी कामदारले नेपालबाट लैजाने ४ खर्ब रोक्न सकिन्छ’

कोभिडले अलपत्र भएका १५ हजार नेपालीलाई एनआरएनको उद्धार र राहत

काठमाडौं । संयोग नै मान्नुपर्छ गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतो, त्यसपछिका अध्यक्ष जीवा लामिछाने र हालका वरिष्ठ उपाध्यक्ष बद्री केसी तीनैजनाको कर्मथलो रुस हो । एनआरएन अभियानमा शुरुदेखि नै जोडिएका बद्री केसी अब महतो र लामिछानेको पदचाप पछ्याउँदै एनआरएनएको भावी अध्यक्षका रुपमा चर्चामा आउन थालेका छन् ।

पछिल्लो पटक विश्व कोभिड महामारीको चपेटामा परेका बेला विशेषगरी खाडी र मलेसियालगायत देशमा समस्यामा परेका नेपाली कामदारहरुको राहत तथा उद्धारका लागि एनआरएनले गठन गरेको उद्धार तथा राहत कोषको संयोजकका रुपमा उनले खेलेको नेतृत्वदायी भूमिकाले केसीलाई सबैले सबल नेतृत्वको रुपमा स्वीकार गर्ने अवस्था बन्यो ।

यसै वर्ष अक्टोबरमा एनआरएनको नयाँ नेतृत्वको लागि चुनाव समेत हुने भएकाले संसारभर छरिएका गैरआवासीय नेपालीहरुबीच चासो र चर्चा बढ्नु स्वाभाविकै हो । हालै मात्र एनआरएनको भर्चुअल रुपमा साधारणसभा समेत सम्पन्न भइसकेको अवस्थामा संघका पछिल्ला योजना, हालसम्म गरिएका काम, कोभिड १९ बाट नेपाली डायस्पोरामा पारेका असरलगायत विषयमा केन्द्रित रहेर वरिष्ठ उपाध्यक्ष केसीसँग गरिएको कुराकानी प्रस्तुत छ, नेपाल टकमा ।

रुसमा रहेर व्यक्तिगत र व्यावसायिक जीवनलाई कसरी अगाडि बढाउनुभएको छ ?

२०४६ सालपछि म अध्ययनको सिलसिलामा रसियामा गएको हुँ । सन् १९९६ मा मैले स्नातकोत्तर सकेँ । सन् २००१ मा बायोटेक्नोलोजीमा पीएचडी सकेँ । बिहे पनि रसियातिरै भएपछि उतै घरजम गरेर बसेको छु । मेरो एकजना छोरी र एकजना छोरा छन् । सानोतिनो व्यवसाय गरेर रसियामा बसेको छु । बसाइ रसियामा भए पनि तनमन नेपालमै छ । सन् २००१ देखि नै म एनआरएन अभियानमा संलग्न छु । सन् २००३ मा रसियाबाटै एनआरएनको अभियान सुरु भयो । त्यो अभियानले मातृभूमिप्रतिको दायित्व पूरा गर्नको लागि एनआरएन पुल पनि बनेको छ । सुरुदेखि अहिलेसम्म अनवरत लागिरहेको छु ।

भर्खरै भर्चुअल रुपमा एनआरएनएको साधारण सभा सकिएको छ । सो क्रममा केही विवाद पनि उठेको थियो भनिन्छ । त्यो विवाद सल्टियो कि बाँकी नै छ ?

फेस टु फेस साधारण सभा गर्न सक्ने अवस्था थिएन । गैरआवासीय नेपाली संघको विधानका लागि विभिन्न कुरा परिवर्तन गर्नुपर्ने थियो । सन् २०१९ मा भएको अधिवेशनमा आर्थिक प्रतिवेदन पनि पास हुनसकेको थिएन । यो सभाले आर्थिक प्रतिवेदन पनि पास गर्ने र संख्या विधानका कुरा पनि पास गर्ने भनेर निधो गरिएको थियो । तर, कोभिडको कारणले गर्दा लम्बियो । कोभिडकै कारण गर्न नसकेपछि परराष्ट्र मन्त्रालयसँग जुमबाट गर्न अनुमति लियौं । मापदण्ड तोकेर परराष्ट्र मन्त्रालयले स्वीकृति दिएको थियो ।

एकखालका साथीहरुबाट यसरी भर्चुअल रुपमा गरिएका निर्णयहरु अपरिपक्व हुन्छन् र पर्याप्तरुपमा निर्णय गर्न सक्दैनन् भन्ने खालका आवाज पनि आएका हुन् । यो भर्चुअल कन्फ्रेन्स नगरियोस् भनेर परराष्ट्र मन्त्रालयमा निवेदन परेको साँच्चिकै हो ।

नेपालीहरुको इमानदारी राम्रो छ । एउटा कम्पनीमा जागिर गुमाएकालाई अर्को कम्पनीमा जागिर लगाउन पनि सहयोग गरेका छौं । हाम्रो अनुमानमा पाँच महिनामा थप २/३ लाख नेपाली जागिर गुमाएर नेपाल फर्कने सम्भावना छ ।

असन्तुष्ट साथीसँग छलफल गरेर जानुपर्छ भनेर छलफल गर्‍यौं । ती साथीहरुले सर्वसम्मतिका कुरा मात्र भर्चुअल कन्फ्रेन्समा ल्याउने र जुन कुरा सर्वसम्मतिमा आउँदैनन्, ती कुराहरुलाई पुनः फेस टु फेस मिटिङमा लाने भनेर अहिले सहमतिका विषयवस्तु मात्र ल्यायौं । अनि ती विषय सर्वसहमतिबाट पास भए र असन्तुष्ट साथीहरुलाई पनि सँगै ल्याएर उहाँहरुको आवाजलाई पनि सम्बोधन गरेका छौं ।

यसलाई चुनाव केन्द्रित विवाद भन्न मिल्छ कि मिल्दैन ?

यो संस्था असाध्यै ठूलो छ । हामी ८० लाख नेपालीहरु छौं । फरक-फरक सोसाइटीको फरक–फरक विचारधारा हुनु स्वाभाविकै हो । सन् २०१३ देखि संस्थामा विधानको विषयमा छलफल हुनसकेको थिएन । संस्थालाई परिष्कृत बनाउन सकिएको थिएन । २०१३ मा हामी ३०–४० वटा देशमा मात्र थियौं । सदस्य संख्या पनि धेरै बढेका थिएनन् । अहिले बढेर ८२ देशमा भैसकेका छौं । सदस्य संख्या झन्डै १ लाख पुगिसकेको छ । संस्थालाई बलियो बनाउन विधान, डेलिगेट, चुनावका अन्य कुरा विधानमा परिवर्तन गर्न सकेका थिएनौं । यसमा फरक मत हुनु स्वाभाविक हो । तर, अन्तमा हामी एक ठाउँमा आइसकेका छौं ।

अहिले वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ, आगामी चुनावको अध्यक्षको दाबेदार हो कि होइन तपाईं ?

एनआरएनएको केन्द्रीय कार्यसमितिमा बसेर काम गरेको १२ वर्ष भयो । २००९ देखि चारवर्ष केन्द्रीय कार्यसमितिमा काम गरेँ । एक कार्यकाल कोषाध्यक्ष, दुई कार्यकाल महासचिव, एक कार्यकाल उपाध्यक्ष छु । मैले सम्हालेको पद भनेको अध्यक्ष मात्रै बाँकी रह्यो । अहिले नै चुनावको घोषणा गर्ने समय त होइन तर, म आफूलाई अध्यक्षको स्वाभाविक दाबेदारको रुपमा लिन्छु ।

अब एनआरएन नेतृत्वले गर्नुपर्ने एजेण्डाहरु के के छन् ? जुन कुरा तपाईले अघि बढाउन चाहनुहुन्छ ?

वास्तवमा एनआरएन भनेको मेरा लागि नयाँ विषय होइन । धेरै कुरा संस्थामा गरिरहेको छु । हामी विदेशमा बसेको नेपालीले जानेको ज्ञान, पूँजी र सीपलाई नेपालमा ल्याउने काममा हामी लागिरहेका छौं । त्यसलाई अझ बढी सक्रियरुपमा हामीले ल्याउनुपर्छ । पूँजी ल्याउने कुरामा हामी एक हिसाबले सफल भैसकेका छौं । गैरआवसीय नेपालीहरुले अहिलेसम्म निजी रुपमा ५० अर्बभन्दा बढी नेपालमा लगानी गरिसकेका छन् । अहिले भर्खरै मात्र संयुक्त लगानीको रुपमा अहिले १० अर्बको कोष पनि ल्याएका छौं । सन् २०१२ मै हामीले संयुक्त लगानी सुरु गरिसकेका छौं ।

पूँजी पर्याप्त मात्रामा आउन थालेको छ । हाम्रा केही मान्छेहरु जो विदेशमा विश्वविद्यालयमा पढाउनुहुन्छ, उच्चस्तरमा काम गर्ने डाक्टर, इन्जिनियर हुनुहुन्छ, उहाँहरुलाई राम्रोसँग नेपालसँग जोड्न सकेका थिएनौं । यसकै लागि हामीले दुईपटक स्किल नलेज कन्फ्रेन्स गरिसक्यौं । हामीले यसमा ठूलो सम्भावना देख्या छौं । विदेशमा सिकेको ज्ञान र सीपलाई नेपालमा ल्याउनुपर्छ भन्ने सक्रिय अभियान रहन्छ ।

६० प्रतिशतभन्दा बढी एनआरएन वैदेशिक रोजगारमा गएका छन् । उनीहरुको समस्या एकदमै विकराल थियो । संस्थाले उहाँहरुको समस्यालाई हल गर्न लबिइङ गरिरहेका छ । धेरै कुरा समाधान भैसकेका छन् । नेपालमा अहिले वार्षिक १० खर्ब रुपैयाँ भित्रिन्छ । १० खर्ब भित्रिने भनेको तिनै गैरआवासीय नेपाली, विशेषगरी वैदेशिक रोजगारीमा गएका मान्छेहरुले पठाउने पैसा हो । उहाँहरुले पठाउनुभएको पैसा अझसम्म उत्पादनमूलक क्षेत्रमा लागेको छैन । त्यसलाई प्रडक्टिभ सेक्टरमा लगाउनुपर्छ र वैदेशिक रोजगारमा गएकाहरुको एउटा श्रमिक बैंक (लेवर बैंक) बनाउनुपर्छ भन्ने मेरो अर्को एजेन्डा हुन्छ ।

अब हामीले धेरै मान्छे विदेश पठाउने हैन । विदेशबाट बरु मान्छे फर्काउने हो । पाखुरामा बल हुञ्जेल विदेशलाई हराभरा बनाउने हो भने नेपाल कसैले पनि बनाउँदैन । हाम्रो देश हामी आफैंले बनाउनुपर्छ । १०/१५ वर्ष विदेशमा जे सिकेका छौं । त्यो अनुभवलाई नेपाल फर्किएर आएर देश बनाउनुपर्छ भन्ने अभियानमा लाग्नुपर्छ ।

सबैभन्दा ठूलो सुरुवात चाहिं हामीले आधुनिक कृषिको अभियानबाट गर्नुपर्छ । यो अभियानमा गैरआवासीय नेपालीको जोड हुन्छ । दोस्रो पुस्ताका बच्चाहरु जो विदेशमै जन्मिएका छन् र विदेशमै हुर्किएका छन् उनीहरुलाई नेपालसँग जोडिरहने कार्यक्रम ल्याउन हामीले विशेष पहल गर्छौं ।

अर्को भनेको विदेशमा नेपालीहरु जुन क्षेत्रमा लागेका छन्, त्यो देशमा पनि सहभागी हामीले गराउनुपर्छ । हामीले हेर्ने हो भने पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा केन्याबाट अमेरिका गएका मान्छे हुन् । अबको १०/२० वर्षपछि विदेशमा त्यस्तै किसिमको सफलता पाउन सक्ने नेपाली छन् ।

२०० देशभन्दा गैरआवासीय नेपाली संघ त्यस्तै एउटा युनिट हो, जसलाई नेपालले बनाउन सक्षम भएको छ । एनआरएन जस्तो संस्था अन्य कुनै देशको संस्था छैन । दोस्रो पुस्ताका नेपाली छोराछोरीले विदेशमा जे जस्तो सफलता पाए पनि नेपालसँग जोडिइरहने माध्यम हामीले खोज्छौं र बनाउँछौं जुन चाहिं अर्को मेराे कार्यक्रम हुनेछ ।

३० लाख नेपालीले बाहिरबाट कमाएर पठाएको पैसा भनेको जम्मा १० खर्ब हो । नेपालमा ८ लाख विदेशी काम गर्दा रहेछन् । त्यो भनेको भारतीय, बंगलादेशी र चिनियाँहरु हुन् । तिनीहरुले वर्षमा ४ खर्ब पैसा फिर्ता लिएर जान्छन् । उनीहरुले नेपालमा गर्ने काम हामीले विदेशमा गर्ने कामभन्दा केही पनि फरक छैन ।

कोभिड महामारीले सबै कुरामा सामाजिक दूरी भन्ने कुरा छ । अबको चुनाव अनलाइन मतदान वा भौतिक उपस्थितिमै हुन्छ ?

चुनाव चाहिं अनलाइन भोटिङ नै हुन्छ । २०१९ मा प्रत्यक्ष चुनाव गराउँदा धेरै किसिमका समस्या भोग्नुपर्‍यो । एक त योगदान दिएका मान्छेहरु भोट हाल्नकै लागि काठमाडौं आउन नपाउने स्थिति थियो । अनलाइन भोटिङ गर्दा आ–आफ्नो ठाउँबाट भोट हाल्न सक्नुहुन्छ । सबै डेलिगेटले आफ्नो मताधिकार प्रयोग गर्न पाउनुहुन्छ । भोटिङ अनलाइन गरेपछि अधिवेशन चाहिं प्रत्यक्ष उपस्थितिमै गर्छौं । हामी नआइकन जुन कार्यक्रम गर्छौं, त्यो चाहिं त्यति प्रभावशाली हुँदैन । चुनावमा भएका अनियमितता कम गर्न हामी अनलाइन भोटिङ गर्छौं । तर, अधिवेशन चाहिं प्रत्यक्ष गर्छौं ।

एनआरएन चुनावमा निकै राजनीति हुन्छ भनिन्छ । अबको चुनाव गैर-राजनीतिक हुने सम्भावना कस्तो छ ?

हरेक राजनीतिक दलले आफूप्रति आस्था राख्ने मान्छेहरु प्रवेश गरुन् भन्ने जुन चाहना छ, एक किसिमले त्यो स्वाभाविक चाहना हो जस्तो मलाई लाग्छ । सन् २०१९ मा भएको चुनावमा नेपालमा हुनेजस्तो चुनाव जुन छ, त्यो भन्दा केही पनि फरक देखिएन । यसले हामी विदेशमा बस्ने एनआरएन पनि विभाजित भयौं ।

यस्तो हुँदा हामीले उन्नति प्रगति गर्न सक्दैनौं । यसकारण पनि त्यो गल्तीलाई हामीले महसूस गरेका छौं । संस्थामा हुने व्यक्तिहरुको कुनै राजनीतिक आस्था हुनसक्छ, तर संस्थामा पदधारण गरेर गैसकेपछि राजनीतिको टोपी र जुत्ता फुकाल्नुपर्छ भन्ने हाम्रो मान्यता छ र त्यहीअनुसार अगाडि बढ्छ । नेपालका राजनीतिक पार्टीहरुले पनि एनआरएनलाई मुक्त गराउनुपर्छ । यसो गर्दा बाहिर बस्ने नेपालीहरुले नेपालमा बढी योगदान गर्न सक्छन् । अबको दिशा चाहिं गैरराजनीतिकतिर नै अगाडि बढ्छ ।

कोभिड-१९ ले नेपाली डायस्पोरामा पारेको प्रभावको वस्तुस्थितिबारे जानकारी दिनुस् न ?

नेपालमा कोभिडको प्रभाव सुरु हुनुभन्दा अगाडि नै विदेशमा हामी प्रभावित भयौं । आजको दिनसम्म विदेशमा ३३४ जना नेपालीले कोभिडकै कारणले ज्यान गुमाएका छन् । ५० भन्दा बढी देशमा ५१ हजार नेपाली संक्रमित भएका छन् । खुशीको कुरा, ३९ हजार नेपाली कोभिड संक्रमण मुक्त भैसकेका छन् । सुरुको दिनमा कोभिडको आक्रमण कस्तो हुन्छ भन्ने कसैलाई पनि थाहा थिएन ।

सबैभन्दा बढी मर्का चाहिं वैदेशिक रोजगारमा गएका नेपालीलाई नै पर्‍यो । कोभिडको असर पर्नासाथ हामीले कार्यक्रम सुरु गर्‍यौं । दुःखमा परेका साथीहरुले एनआरएनबाहेक अन्य संस्थामा जाने ठाउँ कहीं पनि भएन भन्नुभयो । धेरै नेपालीले जागिर गुमाए । हजारौं नेपाली क्याम्पभित्र मात्र सीमित भए ।

विशेषगरी घरेलु कामदारको रुपमा गएका महिला थिए, उनलाई रोग भित्र ल्याउँछिन् भन्ने डरले गर्दा जागिर र घरबाट निकालियो । उहाँहरु बस्ने ठाउँ भएन । धेरै महिला गर्भवती र दूधे बालक बोकेका पनि थिए । कुवेतबाट मात्रै ५ हजार महिलालाई उद्धार गर्नुपर्‍यो ।

युएईबाट एउटै उडानबाट ८० जना गर्भवती महिलालाई उद्धार गर्‍यौं । आजको दिनमा हामीले ५० देशमा २५ सय भन्दा बढी स्वयंसेवक खटाएर प्रत्यक्ष सहयोगको कार्यक्रम ल्याएका छौं । अहिले एनआरएनले नेपालमा भन्दा विदेशमा बढी उपस्थिति देखाएको छ । यसमा सफल पनि भएको छ ।

रोजगारी गुमाउनेहरुको अवस्था कस्तो छ ? कसरी सर्भाइभ गरिरहेका छन् ? तपाईंहरुको तथ्यांक कस्तो छ ?

आजको दिनमा दुई लाख नेपालीहरु मलेसिया र मध्यपूर्वबाट रोजगारी गुमाएर फर्किएका छन् । यो वास्तवमा सुरुवात मात्र हो । किनभने विदेशको अर्थतन्त्रमा ठूलो असर परेको छ । इकोनोमी थला पर्नु भनेको धेरै कम्पनी बन्द हुन्छन् भन्ने हो । धेरै नेपालीहरुले रोजगार गुमाउँछन् ।

कोभिड आउने वित्तिकै एनआरएनले रिलिफ, रिपार्टेसन र रिह्याबिलेसनको एउटा ठूलो कार्यपत्र बनायो । जसअनुसार तुरुन्तै राहत दिनुपर्ने मान्छेहरुलाई खान बस्नको लागि सेल्टरको व्यवस्था गर्‍यौं । जोसँग टिकट काट्ने पैसा छैन, पीसीआर परीक्षण गर्ने पैसा छैन, जसलाई साहुले उपचार गर्न नसकेर निकालेको छ उनीहरुलाई हामीले सहयोग गरेका छौं । हाम्रो स्रोतले मात्र पुग्दैन भनेर हामीले अन्तर्राष्ट्रिय संस्थासँग पनि सहकार्य गर्न थाल्यौं ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले हामीलाई सुरुमा पाँच करोड रुपैयाँ दिएको थियो । हामीले गरेको कामको प्रशंसा गरेर उहाँहरुले अर्को पाँच करोड थप्नुभएको छ । हाम्रो स्रोत परिचालन गरेर अर्को १२ करोड जम्मा गरेका छौं ।

समन्वय परिषद्ले पनि त्यहाँ भएका अन्य स्रोतलाई पनि परिचालन गरेका छन् । कुलरुपमा २५ करोडको स्रोत मोबिलाइज गरेका छौं । यो रिलिफ र रिह्याबिलेसन कार्यक्रमबाट मात्रै पछिल्लो समय १५ हजार नेपालीहरुलाई उद्धार र राहत प्रदान गरेका छौं ।

म दुईचार वटा केस भन्न चाहन्छु । एउटी महिला थिइन् जसलाई ह्युमन ट्राफिकिङले गर्दा विदेश पुगेकी रैछिन् । उनलाई शारीरिक शोषण गरेर सडकमा फालिएको थियो । उनी गर्भवती भएर अस्पतालमा पुगेपछि मात्र हामीले थाहा पायौं । उनका ब्याइफ्रेन्ड भनौं वा ह्युमन ट्राफिकिङ गर्ने व्यक्ति कहाँ गए थाहा छैन ।

ती महिलाले अस्पतालमा बच्चा जन्माइन् । हामीले ती महिलालाई उद्धार गर्‍यौं । उनको पासपोर्ट बनायौं र भिसा नवीकरण गरेर काठमाडौं ल्यायौं । मलेसियामा वर्षौदेखि जेलमा परेका मान्छेहरु थिए । ठूलो कसुरले जेल परेका थिएनन् । भिसा सकिएको कसुरमा उनीहरु जेलमा परेका थिए । मलेसियाबाट २० जनालाई जेलबाट निकाल्यौं ।

साउदीबाट ३७ जना डिटेन्सन सेन्टरमा परेकालाई ल्यायौं । अहिले १४/१५ हजारलाई जुन उद्धार गरेका छौं, त्यो सानो संख्या हो । मध्यपूर्वमा मात्र १८ लाख छौं । मलेसियामा मात्र ४/५ लाख मान्छे छन् । हजारौंको संख्यामा अहिले पनि जागिर गुमाउनेको संख्या चलिरहेको छ । जागिर गुमाउनेलाई सकेसम्म अहिले नेपाल नजानूस् भनेका छौं ।

नेपालमा आएपनि अहिले रोजगारीको समस्या छ । राम्रो कुरा के भने, जागिरबाट निकालिनेमा नेपालीहरु अन्तिममा छन् । नेपालीहरुको इमान्दारिता राम्रो छ । एउटा कम्पनीमा जागिर गुमाएकालाई अर्को कम्पनीमा जागिर लगाउन पनि सहयोग गरेका छौं । हाम्रो अनुमानमा पाँच महिनामा थप २/३ लाख नेपालीहरु जागिर गुमाएर नेपाल फर्कने सम्भावना छ ।

कोभिडको इफेक्ट विदेशमा कहिलेसम्म पर्ने सम्भावना छ र यसको सम्भावित असर कस्तो पर्ला ?

संसारका अर्थशास्त्रीले भनेका छन् यो आर्थिक मन्दी ४/५ वर्ष नै लम्बिन्छ । नेपालको केस हेर्ने हो भने यहाँको केस अलि फरक छ । ३० लाख नेपालीले बाहिरबाट कमाएर पठाएको पैसा भनेको जम्मा १० खर्ब हो ।

नेपालमा ८ लाख विदेशी काम गर्दा रहेछन् । त्यो भनेको भारतीय, बंगलादेशी र चिनियाँहरु हुन् । तिनीहरुले वर्षमा ४ खर्ब पैसा फिर्ता लिएर जान्छन् । उनीहरुले नेपालमा गर्ने काम हामीले विदेशमा गर्ने कामभन्दा केही पनि फरक छैन ।

श्रम, परराष्ट्र, कृषि मन्त्रालय र युवा परिषद् एवं सम्बन्धित दलसँग मिलेर रोजगार कन्फ्रेन्स छिट्टै नै गर्दैछौं । ताकि यो भ्याकुम परिपूर्ति होस् । नेपालमा पनि जनशक्ति कम नहोस् ।

प्लम्बिङ, कन्स्ट्रक्सनमा काम गर्ने अथवा इँट्टा भट्टामा काम गरेर पुनः ४ खर्ब रुपैयाँ नेपालबाट फिर्ता लिएर जान्छन् । अहिले यस्तो अवसर छ जो नेपालमा काम गर्ने विदेशी थिए, ती घर फर्किएको अवस्था छ । हाम्रा नेपालीहरु रोजगारबाट नेपाल आएको अवस्था छ ।

यो बेलामा नेपालभित्रका रोजगारदाताहरु, अन्य संघसंस्थाहरु र फर्किएर आएका नेपालीलाई जोड्ने प्लेटफर्म बनाउन सकियो भने फर्किएर आएका नेपालीलाई स्थापित पनि गर्न सक्थ्यौं । ४ खर्ब रुपैयाँ जुन फिर्ता भएर गएको छ, त्यो नेपालमा पनि राख्न सक्थ्यौं ।

त्यो ठूलो भ्याकुमलाई पूर्ति गर्नको लागि गैरआवासीय नेपाली संघले तुरुन्तै रोजगार कन्फ्रेन्स गर्नको लागि पहल गरेका छौं । श्रम, परराष्ट्र, कृषि मन्त्रालय र युवा परिषद् एवं सम्बन्धित दलसँग मिलेर रोजगार कन्फ्रेन्स छिट्टै नै गर्दैछौं । ताकि यो भ्याकुम परिपूर्ति होस् । नेपालमा पनि जनशक्ति कम नहोस् ।

विदेशबाट आएकाले काम पाऊन् र नेपालमा काम गरिरहेका विदेशी जो फर्किएर गएका छन्, अब उनीहरु फर्किएर आउने वातावरण नरहोस् भन्ने बनाउनका लागि कार्यक्रम गर्दर्छौं ।

डायस्पोरामा रहेका नेपालीमा भ्याक्सिनको पहुँच कस्तो छ ?

यदि त्यो देशमा खोप लगाउने कार्यक्रम सुरु भएको छ भने उक्त देशका नागरिकजस्तै समानरुपले खोप पाएका छन् । रसियामा बस्ने धेरै नेपालीले खोप लगाइसक्नुभएको छ । अन्य देशले पनि समानरुपमा त्यो व्यवहार गरेका छन् ।

विश्वकप नजिकिंदै गर्दा कतारको रंगशाला बनाउनको लागि खटेका नेपालीहरुको मृत्यु हुने क्रम बढेको समाचार द गार्जियनमा आएको छ । करिब १५ सयभन्दा बढी नेपालीको मृत्यु भएको ठानिएको छ । यसबारे एनआरएनको धारणा के छ ?

तुलनात्मकरुपमा अन्य देशले भन्दा कतारले अहिले मानव अधिकारको मुद्दालाई सम्बोधन गरेको छ । कतारको रेडक्रस र सरकारले जागिर गुमाएकालाई तुरुन्तै राहत दिएको छ । हामीले कतारसँग मिलेर राहत पनि चलायौं । अन्य देशको तुलनामा कतारमा नेपालीले त्यति दुःख पाएका छैनन् तर युएई र साउदीमा जागिर गुमाउने क्रम छ । हामीले भ्याएसम्म उनीहरुको अधिकार र उद्धारको लागि काम गरिरहेका छौं । परम्परागतरुपमा यी देशमा मानवअधिकारलाई उति पश्रय दिएको हुँदैन र छैन पनि । त्यो स्थिति पहिलेभन्दा अहिले सुध्रिएको हामीले देखेका छौं ।

श्रीलंकालाई ट्रान्जिट बनाएर तेस्रो देशमा जाने क्रममा पक्राउ गरेका २६ नेपाली महिलालाई श्रीलंकाली जेलमा राखिएको खबर आएको छ । सार्क मुलुकलाई एनआरएनको कार्यक्षेत्रमा परिभाषित नगरिए पनि तपाईंहरुले केही गर्न सक्ने अवस्था छ ?

यसलाई घटनाभन्दा त्यसको जरा हेर्नुपर्छ । नेपाल सरकारले महिलालाई विदेशमा जाँदाखेरि एउटा उमेरको सीमा तोकेको थियो । नेपालबाट वैधानिक रुपमा जाने बाटो बन्द गरिदिएपछि उहाँहरु भारत, बंगलादेश, श्रीलंकाबाट अवैधानिकरुपमा जान बाध्य हुनुहुन्छ । नेपाल सरकारले समस्यालाई सम्बोधन नगरिकन बाटो थुनिदिएको कारणले यी समस्या आएका हुन् । नेपालबाट वैधानिकरुपमा जान पाउने नियम भयो भने श्रीलंका जान पनि पर्दैन र उद्धार पनि जरुरी पर्दैन । यसमा वैदेशिक रोजगार प्रवर्धन बोर्ड, वैदेशिक रोजगार विभाग, एनआरएन, म्यानपावर कम्पनीहरु बसेर समस्याको जड के हो त्यो पत्ता लगाउनुपर्छ भन्ने मलाई लागेको छ ।

अहिले ५० अर्ब जति जुन एनआरएनले लगानी गरेको छ, यो विशुद्ध नेपालीको लगानी हो । जसले ठूलो बिजनेसमा लगानी गर्न सक्छ, उनीहरु आफूले लगानी गरेका छन् । स-साना लगानीलाई जोडेर लगानी गर्दा त्यसको प्रतिफल पनि आउँछ ।

१८ वर्षे एनआरएनए करियरमा के-कस्ता विदेशी लगानी भित्रिए र भविष्यमा कस्तोे आशा गर्ने ?

नेपालले अहिलेसम्म अन्तर्राष्ट्रियरुपमा कन्ट्री रेटिङ पाउन सकेको छैन । हामीले सधैं भन्दै आएको कुरा के हो भने –विदेशीले नेपालमा लगानी गरेपछि त्यहाँबाट आउने मुनाफा, सजिलै बाहिर लैजान सक्छु भन्ने विश्वास गरेर मात्रै विदेशीहरु आउँछ । आजको दिनमा एनआरएनले नेपालमा लगानी गर्दा हामी त नेपालमा लगानी गर्दा डुब्दैनौं भन्नेमा निश्चित छौं ।

अहिले ५० अर्ब जति जुन एनआरएनले लगानी गरेको छ, यो विशुद्ध नेपालीको लगानी हो । जसले ठूलो बिजनेसमा लगानी गर्न सक्छ, उनीहरु आफूले लगानी गरेका छन् । स-साना लगानीलाई जोडेर लगानी गर्दा त्यसको प्रतिफल पनि आउँछ ।

बाहिरबाट पठाएको पैसा बच्छ पनि । उहाँहरुको बचत गर्ने बानी पनि हुन्छ भनेर हामीले सानो लगानी गर्न सक्ने मान्छेहरुलाई नै लक्षित गरेर १० अर्ब लगानीको कार्यक्रम हामीले ल्याएका छौं । यसमा ५ प्रतिशत (५० करोड) नेपाल सरकारको लगानी हुन्छ ।

१ अर्ब गैरआवासीय नेपालीहरुको इक्विटी लगानी हुन्छ । बाँकी वार्षिक साढे आठ अर्ब रुपैयाँ सानो लगानी, एक हजार भन्दा बढी लगानी गर्न सक्ने एनआरएनलाई मात्रै लक्षित गरेर, आईपीओ खोलेर उक्त कार्यक्रम ल्याउने तयारी गर्दैछौं । यो कम्पनी १० अर्ब सुरुवातको कम्पनी हो । यसलाई छिट्टै बढाएर ४०/५० अर्बको कम्पनी बनाउँछौं । जुन नेपालको सबैभन्दा ठूलो कम्पनी हुन्छ र यसलाई नेपालमै मात्रै सूचीकृत नगरेर इङ्ल्यान्ड र अमेरिकामा पनि लिस्टिङ गर्न सक्ने कम्पनी बनाउनको लागि गैरआवासीय नेपाली संघ लागिरहेको छ ।

यो कम्पनीको लगानी कुन-कुन क्षेत्रमा गर्ने योजना छ ?

लगानीमा व्यापक विविधीकरण हुन्छ । ठूलो फन्ड भएकाले पूर्वाधारमा स्वाभाविकरुपमा लगानी गर्छौं । हस्पिटालिटीमा लगानी गर्छाैं । आधुनिक कृषिमा हामी लगानी गर्छौं । त्यो बाहेक विदेशबाट फर्किएर आएका मान्छेहरुलाई उद्यमी बनाउनको लागि १०–२० लाख रुपैयाँसम्मको लगानी गर्न चाहिं हामी तयार छौं ।

दोहोरो नागरिकताको विवाद कहाँसम्म पुग्यो ?

हामीले गैरआवासीय नेपाली नागरिकताको निरन्तरता भन्छौं हामी । जसले पहिला नेपाली नागरिकता राखेको थियो र विदेशमा गएर विदेशी नागरिकता लिइसकेपछि पनि नेपाली नागरिकता निरन्तर रहोस् भन्ने हाम्रो अभियान हो ।

यो अभियान सन् २००५ बाट अगाडि चलाएर ल्याएका थियौं । विद्यमान संविधानमा गैरआवासीय नेपालीको नागरिकतालाई संविधानले सम्बोधन गरिदिएको छ । यद्यपि अहिले नागरिकता ऐन बनिसकेको छैन । गृह मन्त्रालयले नागरिकता ऐन बनाउनुपर्ने हो र ऐन तयार भएर हिउँदे सदनमा पेश गर्नको लागि तयार थियो । यसमा एनआरएनले गैरआवासीय नागरिकता पाउने प्रावधान आउँदैछ । आशा गरौं, संसद पुनःस्थापना भएको छ र संसदले त्यो छिट्टै पास गर्छ भन्नेमा हामी आशावादी छौं ।

मस्कोबाट नेपाल कस्तो देखिंदो रैछ ?

वास्तवमा म नेपालमा जन्मिएको र हुर्किएको कारणले गर्दाखेरी मेरो फर्पिङ, मेरो काठमाडौं र मेरो नेपालजस्तो प्यारो मस्को लाग्दैन । म महिना वा दुईमहिनामा अनिवार्य काठमाडौं आउँछु । मेरा धेरै ब्यापार यहाँ जोडिएका छन् । गैरआवासीय नेपालीहरुको योगदान के रहन्छ भने, विदेशी भूमिमा कमाउने र लगानी नेपालमा गर्ने । नेपाललाई नै समृद्ध बनायौं भने नेपाल साँच्चिकै स्वर्ग छ ।

हामी वास्तवमा अवसर नपाएर विदेश गएका हौं । १९९६ मा मास्टर गरेर नेपाल आएको थिएँ । यहाँ जागिर नपाएर फेरि मस्को फिर्ता गएको हुँ । २००१ मा पीएचडी गरे पनि जानेको सीपलाई यहाँ कार्यान्वयन गर्ने ठाउँ नभएकाले त्यहाँ अल्झिएको हुँ । अबका दिनमा विदेशमा यसरी नेपालीहरु अल्झिएर बस्नु नपरोस् भन्ने अभियान हाम्रो रहन्छ ।

स्वदेशमा भविष्य नदेखेका तन्नेरीहरुलाई तपाईको सुझाव कस्तो छ ?

विदेश जान हुन्न भन्ने हैन । अहिले विदेश खुल्ला छ । हामी विदेश बुझ्न, सिक्न र हेर्न विदेश जानुपर्छ । वर्षमा दुईचारपटक विदेश भ्रमण गर्न सक्ने युवाहरु भैसके । हामी पहिले विदेश जानुअगाडि पासपोर्ट नै बनाउन पाउने थिएनौं । अहिले पासपोर्ट स्वतन्त्ररुपमा बनाउन सकिन्छ । विदेश जानूस, विदेश हेर्नूस, घुम्नूस, त्यहाँ पढ्नूस र सिक्नूस, आउनू तर कर्मभूमि चाहिं नेपाललाई बनाउनुपर्छ ।

जति मिहिनेत तपाईले विदेशमा गर्नुहुन्छ, त्यति मिहिनेत नेपालमा गर्नुभयो भने विदेशमा पाउने सफलता भन्दा धेरै ठूलो सफलता नेपालमा पाउन सकिन्छ । वास्तवमा हामी नेपालमा बस्दाखेरी आरामदायी जीवन बिताइरहेका हुन्छौं । विदेशमा कति दुःख गरेका छौं भन्ने कुरा महसूस नै हुँदैन । ती व्यक्तिहरु विदेश जाँदा हामी दिनको १८ घन्टा काम गर्न बाध्य हुन्छौं । त्यो टाइम नेपालमा काम गर्न सके, जति विदेशमा कमाएका छौं, त्योभन्दा चार गुणा नेपालमै कमाइन्छ । नेपालमा परिवारको बीचमा बस्न सक्नुहुन्छ । आफ्नो दुःख पीडा आफन्तसँग साट्न सक्नुहुन्छ । तनाव पनि कम हुन्छ । दिनमा ४/५ बाकस त एयरपोर्टमा आउँछन् । त्यो मर्नुमा सबैभन्दा ठूलो कारण तनाव हो । त्यो तनाव त नेपालमा बस्दा हामीले महसूस गर्नुपर्दैन नि । यसकारण सबै नेपालीहरुले कर्मथलो नेपाललाई बनाउनुपर्छ ।

अन्त्यमा हाम्रा पाठकलाई के भन्नुहुन्छ ?

जबसम्म तपाई आफ्नो देशलाई बलियो बनाउनुहुन्न, तपाई सधैं विदेशी नै रहिरहनुहुन्छ । यसकारण कहाँको भनेर तपाईलाई सोधे भने, हामी गर्वको साथ नेपालको हौं भनेर भन्नको लागि पनि, हामीले समृद्ध र विकसित नेपाल बनाउनुपर्छ । यसको लागि विदेशमा बसे पनि, नेपालमा बसे पनि समृद्ध नेपालको कामना गरौं । यसका लागि पहल गरौं । अहिले संसार सानो भैसकेको छ । आज काठमाडौंबाट हुम्ला जुम्ला जानको लागि पनि दुई दिन लाग्छ भने मलाई काठमाडौंबाट मस्को जान जम्मा ९ घन्टा लाग्छ । यसकारण संसारको जुनसुकै ठाउँमा रहेर पनि नेपाललाई केही गर्न सकिन्छ । नेपाली भएपछि हामी नेपाल केन्द्रित होऔं भन्न म चाहन्छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर