किन बस्यो प्रकाशनमानको घरमा पौडेल पक्षको रणनीतिक बैठक ? – Nepal Press

किन बस्यो प्रकाशनमानको घरमा पौडेल पक्षको रणनीतिक बैठक ?

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनापछि सम्भावित सत्ता समीकरणमा निर्णायक बनेको नेपाली कांग्रेसभित्र आन्तरिक छलफलले तीव्रता पाएको छ । बिहीबार कांग्रेसका शीर्ष नेताहरूको बैठकले ‘नेकपाको विवाद नटुंगेसम्म सत्ता राजनीतिबारे धारणा बनाउन जरुरी नरहेको’ निष्कर्ष निकालेको थियो ।

बिहीबार नै भारतीय र चिनियाँ राजदूतले कांग्रेस सभापति शेरबहादुर देउवासंग भेटेका थिए । सभापति देउवाले आफूनिकट नेताहरूसंग शुक्रबार पनि परामर्श गरेका छन् । उता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पनि आन्तरिक छलफल सुरु गरेको छ ।

पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा शुक्रबार साँझ पौडेल पक्षका नेताहरूको बीचमा पार्टीको महाधिवेशन र राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको छ । मूख्यत: कांग्रेस महाधिवेशनमा छलफल केन्द्रित रहेको बताइए पनि बैठकमार्फत् पौडेल पक्षले सभापति देउवालाई खास सन्देश दिन खोजेको छ ।

क्रियाशील सदस्यताबारे छलफल

चाक्सीबारी बैठकमा पार्टीको १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता छानबिन गर्न गठित समितिको कामबारे अधिक समय छलफल भएको थियो । समितिका सदस्य कांग्रेस नेता जीवीन परियारले समितिको हालसम्मको कामबारे बैठकमा जानकारी गराएका थिए ।

‘आजको बैठक आन्तरिक विषयमा केन्द्रीत हो । क्रियाशील सदस्यता छानबिनबारे भएका काम र गर्नुपर्ने तयारीबारे छलफल गरेका हौं’, नेता परियारले नेपाल प्रेससँग भने । क्रियाशील सदस्यता वितरणमा समस्या देखिएका र काम सुरु नभएका जिल्लाको विवाद मिलाउनेबारे समितिमा प्रतिनिधित्व गर्ने समूहका नेताहरूलाई शीर्ष नेताले सुझाव दिएका थिए ।

सदस्यता छानबिन समितिमा पौडेल पक्षबाट जीवन परियार र कल्याण गुरुङ सदस्य रहेका छन् । हालसम्म विवाद देखिएका २३ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने तयारी समितिले गरेको छ । चाक्सीबारी बैठकमा पौडेल पक्षबाट खटिने नेताहरूको नामका विषयमा पनि छलफल भएको थियो ।

देउवालाई दिन खोजेको सन्देश

कांग्रेसभित्र सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच स्पष्ट शक्ति संघर्ष छ । राजनीतिक रुपमा सभापति देउवाका हरेक कदममा पौडेल पक्षले रिजर्भेसन राख्दै आएको छ । सम्भावित सत्ता समीकरणमा नेकपाको दुवै पक्षबाट देउवाले प्रधानमन्त्रीको अफर पाएका छन् ।

अनौपचारिक हिसाबले दुवैतिरबाट अफर आएको कुरा बिहीबारको शीर्ष बैठकमा देउवाले नै राखेका थिए । संसदको अधिवेशन फागुन २३ लाई आह्वान भइसकेको अवस्थामा कांग्रेसका दुवै पक्ष आफ्नो हित अनुकुल निर्णय गराउने पक्षमा छन् ।

नेकपा विभाजनको पर्खाई दुवै पक्षले गरेको भए पनि परिस्थिति मिलाएर सभापति देउवा सत्ताको नेतृत्व लिन चाहन्छन् । पौडेल पक्ष भने महाधिवेशन अगाडि देउवा सत्ताको नेतृत्वमा पुगेको हेर्न चाहँदैन । यहीकारण देउवासँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका पूर्वमहामन्त्री सिंहको निवासमा जम्मा भएर नेताहरूले राजनीतिक सन्देश दिन खोजेका हुन् । यद्यपि पौडेल पक्षका नेताहरूले सरकारको नेतृत्वबारे छलफल नभएको दावी गरेका छन् ।

‘संसदमा विषय नआएसम्म हामीले छलफल गर्ने विषय नै होइन । अहिले हामी सत्ताभन्दा महाधिवेशनमा केन्द्रीत छौं’, बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले भने । केसीका अनुसार सम्भावित राजनीतिक दृश्यबारे सामान्य छलफल भएपनि मूर्तरूपमा कुनै कुरा भएको छैन ।

परिस्थिति परिपक्व भइनसकेको भन्दै कांग्रेस नेताहरूले गोप्य कुरा नखुलाए पनि पौडेल खेमामा सकभर सरकारमा जान नहुने, जानै परे देउवाको नेतृत्वमा नजाने र वैकल्पिक नेतृत्वबारे छलफल चलाउनेबारे छलफल भइरहेको छ । गत फागुन ९ गते नै महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री सिंहबीच महाराजगञ्जको शाम्बला होटलमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवा दुवैको विकल्प खोज्नेबारे छलफल भएको थियो ।

‘सबैकुरा भनिहाल्ने गरी मिलिसकेको छैन । यत्ति बुझ्नुस् सजिलोसँग कम्युनिष्टले हामीलाई सत्ता दिँदैनन्, हामीले पनि शेरबहादुरलाई दिदैनौं,’ पौडेल पक्षका एक नेताले नेपाल प्रेससंग खुलाए । सभापति देउवाले नेकपा विभाजन हुने वा नहुने टुुंगो नलाग्दासम्म कांग्रेस कतै नढल्कले बताउँदै आएका छन् ।

वरिष्ठ नेता पौडेलले भने संसदबाटै प्रधानमन्त्री ओलीलाई बिदाई गर्ने र ओलीसँग राजनीतिक सहकार्य नहुने बताउने गरेका छन् । नेताद्वयबीचको यही धारणा प्रकारान्तरले सत्ता राजनीतिमा कांग्रेसको आन्तरिक किचलोको स्रोत बन्ने निश्चित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर