त्रासदीपूर्ण दुर्घटनापछि टाइगर उड्ससामु अनिश्चित भविष्य – Nepal Press

त्रासदीपूर्ण दुर्घटनापछि टाइगर उड्ससामु अनिश्चित भविष्य

लस एन्जलस । गत मंगलबार बिहान ७ बजे गल्फर टाइगर उड्स लस एन्जलस रान्चो पालोस भर्डेसनजिक आफ्नै सुरमा कार हाँकिरहेका थिए । सामान्यभन्दा केही बढी गतिमा रहेको कार एकाएक अनियन्त्रित भई दुर्घटनाग्रस्त हुनपुग्यो । यो दुर्घटना सामान्य थिएन ।

उड्सको कारले एसयूभी सडकको डिभाइडरलाई हिर्काउँदै, एउटा काठको साइनबोर्डलाई भत्काउँदै कैयौंपटक गुल्टिङ खाएको थियो । प्रहरीले बताएअनुसार दुर्घटना भएको ठाउँ थोरै उकालो छ, जहाँ धेरै दुर्घटना हुने गर्छन् । एउटा रूखलाई हान्दै सडकबाट सयौं फिट तल पुगेर मात्रै कार स्थिर भयो । कारभित्र उड्स एक्लै थिए । दुर्घटनाको प्रकृति हेर्दा उनी जीवित रहनु नै सुखद आश्चर्य हो ।

दुर्घटनास्थलबाट जटिल अवस्थामा उड्सलाई उद्धार गरिएको थियो । दुर्घटनाको खबर सुन्ने वित्तिकै उद्धारमा खटिएका कार्लोस गोन्जालेजले उड सिट बेल्ट लगाइरहेकै अवस्थामा भेटिएको बताएका छन् । सिट बेल्टकै कारण ड्राइभरको सिटपट्टि नै कार पल्टिंदा पनि उनलाई घातक चोट नलागेको बताए । कारमा राखिएका सुरक्षा सामग्री र सिट बेल्टले उड्सको जीवन बचाएको गोन्जालेजको भनाइ छ ।

अहिले उनको उपचार जारी छ । दुर्घटनामा ज्यान जोगिए तापनि उड्स रिकभर हुन लामो समय लाग्ने डाक्टरहरुले बताएका छन् । यसले विश्वकै महान् गल्फरको खेल करिअरलाई बर्बाद बनाइदिने चिन्ता छ ।

०००

अस्पताल पुर्‍याइएलगत्तै उड्सको आकस्मिक शल्यक्रिया गरिएको थियो । उनी अझै पनि जटिल अवस्थामा छन् । अझै केही महत्वपूर्ण कार्यहरू हुँदैछन् र आगामी दिनहरूमा पनि गर्नुपर्ने देखिन्छ । उनको शल्यक्रियामा खटिएका चिकित्सक जेरेमी फौस्टले भने, ‘उनलाई फेरि पनि अप्रेसन थिएटरमा लैजानुपर्छ कि पर्दैन भन्नेमा म यकिन हुनसकेको छैन ।’

दुर्घटनामा परेपछि उड्सलाई टोरान्सस्थित हाबोर यूसीएलए मेडिकल सेन्टरमा उपचारका लागि लगिएको थियो । तर, बिहीबार उनलाई थप उपचारका लागि लस एन्जलसको सेडार्स सिनाई अस्पतालमा सारिएको छ ।
उड्सलाई अर्थोपेडिक केयर र रिकभरीका लागि यहाँ ल्याइएको हाबोर–यूसीएलए मेडिकल सेन्टरका सीईओ अनिश महाजनले बताएका छन् ।

‘यो पुस्ताका महान्मध्ये एक एथलिटको उपचार तथा हेरचाह गर्न पाउनु हाम्रा कर्मचारीका लागि खुशीको कुरा हो’, सीईओ महाजनले एक वक्तव्यमा भनेका छन् ।उपचारका क्रममा उनको खुट्टामा रड, स्क्रु, पिन र सर्जिकल रिलिजको प्रयोग भएको छ । शल्यक्रिया सफल भएन भने उनको खुट्टा काट्नुपर्ने हुनसक्छ ।

अधिकारीहरूले यो दुर्घटनालाई शंकास्पद रूपमा लिएका छैनन् । तर, उड्सको एसयूभीमा भएको ब्ल्याक बक्स इभेन्ट रेकर्डर निकालेर मात्रै यसमा यकिन हुन सकिने लस एन्जलस काउन्टी शर्रिफ एलेक्स भुलानुएवाको भनाइ छ ।

१५ पटकका मेजर च्याम्पियन उड्सले मंगलबार अस्पताल पुगेका अनुसन्धानकर्तालाई दुर्घटनाबारे आफूलाई केही याद नभएको बताएका थिए ।
०००

ब्याक सर्जरीको एक महिनापछि कार दुर्घटनामा परेका उड्स पुन: गल्फको विजयी लयमा फर्किनेमा आशंका उत्पन्न भएको छ । उड्सको प्रतिकूल स्वास्थ्य अवस्थाका बाबजूद पनि अन्य गल्फरहरूले उनको परिवार र स्वास्थ्य सबैभन्दा महत्वपूर्ण कुरा भएको बताएका छन् । र, उड्स पुन: पुरानै अवस्थामा फर्किने विश्वाससमेत व्यक्त गरेका छन् ।

‘उनले पहिले पनि पार लगाएका छन्’ रोरी म्याकलरोयले भनेका छन् । सानै उमेरदेखि चर्चित उड्स १९९६ मा २१ वर्षको हुँदा व्यावसायिक गल्फर बनेका थिए । आफ्नो क्षमता र दक्षताले ग्लोबल आइकन बनेका उनले १९९७ देखि २००८ सम्ममा गल्फका १४ वटा मुख्य–मुख्य प्रतियोगिता जितेका थिए । सोही क्रममा सर्वकालीन १८ सेटको कीर्तिमान राख्न अघि बढेका उड्स चोटको शृंखलाका कारण २००९ मा रोकिए ।

फ्लोरिडामा रहेको घर अगाडि २००९ मा पनि उड्सको कार दुर्घटनामा परेको थियो । त्यो दुर्घटनाले उनको विवाह तोडिएको चिन्ताजनक खुलासा गरेको थियो । त्यसपछि उनले खेल जीवनबाट केही समय विश्राम लिएका थिए । विश्रामपछि गल्फमा फर्किएका उड्सले पुरानो विरासत कायम राख्न सकेनन् ।

त्यो समयमा बढ्दो स्वास्थ्य समस्याले पनि उनी ग्रसित थिए । सोही क्रममा एकपटक स्पाइनल फ्युजन सर्जरीसहित चारपटक ब्याक सर्जरी भएको थियो । खराब पीडाले पिरोलिएका उड्स त्यो समयमा आफ्ना बालबच्चासँग पनि खेल्न नसक्ने अवस्थामा थिए ।

शल्यक्रिया र पीडाले दुखाइ कम गर्ने औषधिको लत बसेका उनी २०१७ मा फ्लोरिडामा ड्राइभिङ अन्डर दी इन्फ्लुएन्स डीयूआईका कारण पक्राउ पनि परेका थिए । आफैंले गल्ती स्वीकारेका कारण जेल जानबाट बचेका थिए ।

दुर्घटनापछि लामो समय अन्धकारमय जीवन बिताएका उड्स २०१९ मा पुन: आफ्नो पुरानै विरासतमा फर्किएका थिए । २००८ को युएस ओपनपछि पहिलो २०१९ मा पाँचौं मेजर टाइटल जितेका उड्सले खेलजगतकै उत्कृष्ट कम ब्याक गरेका थिए ।

विश्व वरियताको दोस्रो स्थानका जोन रह्मले उड्स पुन: गल्फमा फर्किने विश्वास व्यक्त गरेका छन् । र, त्यो उड्सले खेल जीवनबाट संन्यास लिने उपयुक्त समय हुने धारणा बताएका छन् । ‘उड्स फेरि गल्फ खेल्न सक्षम हुनेछन् । र, त्यो उनका लागि संन्यास लिने उपयुक्त समय हुनेछ । उनी क्लन ब्रिजको सेन्ट एन्ड्रिउज गल्फ कोर्समा उभिएर गल्फलाई राम्रोसँग ‘बाई’ भन्न सक्नेछन्’ जोनले भनेका छन् ।

एक हप्ताअगाडि उड्सले यो वर्षको मास्टर्समा प्रतिस्पर्धा गर्ने सोचिरहेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर