कसको हिम्मत छ ? अविश्वास प्रस्ताव ल्याए हुन्छ : उपप्रधानमन्त्री पोखरेल – Nepal Press

कसको हिम्मत छ ? अविश्वास प्रस्ताव ल्याए हुन्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री तथा नेकपाको ओली पक्षका नेता ईश्वर पोखरेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन विपक्षीलाई चुनौती दिएका छन् । उनले प्रधानमन्त्रीले अविश्वास प्रस्तावको डटेर सामना गर्ने बताए ।

शुक्रबार ओलीपक्षीय अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् । अविश्वासको प्रस्तावको सामना गर्दा आउने परिणामलाई स्वीकार गर्ने उनको भनाइ छ ।

‘केपी ओली संसदको सर्वोच्चतालाई मान्छन् । त्यहाँ सामना गर्छन् । तिम्रो हिम्मत छ भने अविश्वासको प्रस्ताव ल्याउ, त्यो अविश्वासको प्रस्तावको सामना गर्छन् केपी ओलीले । केपी ओलीको नेतृत्वमा रहेको नेकपाले ती सबै लोकतान्त्रिक विधिबाट आउने कुराहरुको सामना गर्छन्, तिमी सबैले बुझ’ उनले भने ।

पोखरेलले थपे, ‘संसद बोलाउने कुराको हामी प्रक्रियामा अगाडी बढ्छौ, संसदको सामना गर्छौं । कसको हिम्मत छ ? अविश्वासको प्रस्ताव ल्याउ, त्यसको डटेर हामी सामना गर्छौ । त्यो अविश्वासको प्रस्तावको सामना गर्दा जे परिणाम हुन्छ, त्यसलाई स्वीकार गर्छौ । यो सबैले बुझे हुन्छ ।’

उपप्रधानमन्त्री पोखरेलले केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने बताए । संसदमा अविश्वासको प्रस्तावको सामना गरेर लोकतन्त्र प्रतिको प्रतिबद्धतालाई ओलीले पुनः एकपटक प्रमाणित गर्ने उनको भनाइ छ ।

उनले भने, ‘केपी ओलीले बिचमै छोड्छन् कि भन्ने खालका कुराहरु तपाईंहरुलाई लागेको हुनसक्छ । म केपी ओलीको सरकारको टिमको एउटा जिम्मेवार मन्त्री भएको नाताले तपाईंहरुलाई पूर्ण जवाफदेहिताका साथ भन्न चाहन्छु । केपी ओली लोकतन्त्रमा विश्वास गर्ने, संस्थागत ढंगले, लोकतान्त्रिक ढंगले गरिएका अभ्यासहरुमा विश्वास गर्ने व्यक्ति भएको हुनाले संसदको सामना गर्नुहुन्छ । तर, सडकमा भुस्याहा कुकुर जस्तो कराउनेहरुले नारा लगाउदैमा आफ्नो जिम्मेवारीबाट कहिल्यै पनि पन्छिनुहुने छैन ।’

उपप्रधानमन्त्री पोखरेलले सबैभन्दा ठुलो फैसला दिने न्यायाधीसहरु जनता भएकाले आफुहरु जनताले गर्ने फैसलाको प्रतिक्षामा रहेको बताए । सर्वोच्च अदालतको फैसलाले मुलुकलाई दुर्भाग्यतिर जान प्रेरित गरेको उनको गुनासो छ ।

कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले आफ्नो पार्टी निर्वाचन अथवा सदनमा भिड्न तयार रहेको बताए ।

उनले भने, ‘संसद पुर्नस्थापना होस् या निर्वाचन होस्, हाम्रो टिम केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी र संस्था निर्वाचनमा भिड्न होस् या सदनमा भिड्न होस् हर क्षेत्रमा तयार छ । हर मोर्चामा लड्न तयार छ । हामी थाकेका छैनौँ । हामी आत्तिएका छैनौँ । हामी मात्तिएका छैनौँ ।’

मन्त्री रायमाझीले पुनः मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको पनि दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर